२०७२ पुष २ गते १२:५३ विकासन्युज
काठमाडौं, २ पुस । चालु आर्थिक वर्षमा नेपाल बैंकको नाफा उल्लेख्य रुपमा बढ्ने भएको छ । पुरानो ‘क्रोनिक लोन’ उठेको तथा सेयर र जग्गा विक्रीवाटै बैंकको नाफा उल्लेख्य रुपमा बढ्ने देखिएको हो ।
बैंकले जनकपूर चुरोट कारखनालाई दिएको ३५ करोड रुपैयाँ ‘क्रोनिक लोन’ उठेको बैंकका उपमहाप्रबन्धक राजुनाथ खनालले जानकारी दिए । सो रकम नउठ्ने भएपछि बैंकले प्रोभिजन गरेको थियो ।
अर्थमन्त्रालयले कारखानालाई दायित्व भुक्तानी गर्न दिएको रकमवाट कारखानाले बैंकको कर्जा भुक्तानी गरेको हो । कारखानाले ३५ करोड रुपैयाँ दिएको भएपनि बैंकले गरेको ३५ करोड रुपैयाँ प्रोभिजन फिर्ता हुदा बैंकको नाफामा ७० करोड रुपैयाँ थपिने छ ।
चालु आर्थिक बर्षमा नै बैंकले आफ्नो स्वामित्वमा रहेको करिब ३७ करोड रुपैयाँ मूल्यको मिनभवनको जग्गा नेपाल पुनर्बीमा कम्पनीलाई विक्री गरेको छ । सो जग्गा खरिद विक्री गर्ने सम्बन्धमा दुबै निकायविच सम्झौता भइसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले जानकारी दिए । कम्पनीले ४ रोपनी १० आना जग्गा ३६ करोड ६२ लाख रुपैयाँमा खरिद गर्न लागेको हो । सो रकम पनि बैंकको नाफामा थपिनेछ ।
यस्तै बैंकले विभिन्न चार कम्पनीमा रहेको करिब ८९ लाख कित्ता प्रबद्र्धक सेयर बिक्री गर्दैछ । राष्ट्रिय बीमा कम्पनी, नागरिक लगानी कोष, नेपाल इन्स्योरेन्स र तारागाउँ रिजेन्सी होटलमा रहेको ८८ लाख ७८ हजार ६ सय ३० कित्ता सेयर बिक्री गर्न लागिएको हो ।
कम्पनीहरुको सेयर बिक्री टेण्डर प्रक्रियाबाट बढाबढ मूल्यमा गरिने छ । बैंकले टेण्डर गर्ने प्रयोजनको लागि सम्बन्धित कम्पनीहरुको सेयरको न्यूनतम मूल्य तय गरेको छ । बैंकले सम्बन्धित सवै कम्पनीको सेयरको न्यूनतम बिक्री मूल्य तय गरी सकेको छ । ती कम्पनीहरुको सेयर न्यूनतम मूल्यमा विक्री हुदा पनि बैंकले ३ अर्ब १७ करोड रुपैयाँ आम्दानी गर्नेछ । सो आम्दानी बैंकको गैरसंचालन नाफामा थपिने छ ।
स्रोतका अनुसार राष्ट्रिय बीमा कम्पनीको सेयरको मूल्य सबैभन्दा बढी तय गरिएको छ । सो कम्पनीको न्यूनतम मूल्य प्रति कित्ता ४ हजार ३ सय १२ रुपैयाँ ३५ पैसा तोकिएको छ । बैंकसँग राष्ट्रिय बीमा कम्पनीको १ लाख ३६ हजार ४१० कित्ता सेयर रहेको छ । उक्त सेयर न्यूनतम मूल्यमा बिक्री भए पनि नेपाल बैंकले ५८ करोड ८२ लाख ४७ हजार रुपैयाँ आम्दानी गर्नेछ ।
नागरिक लगानी कोषको सेयर मूल्य प्रतिकित्ता २ हजार ५ सय ४१ रुपैयाँ तोकिएको छ । बैंकसँग कोषको ३ लाख ३३ हजार ९४० कित्ता सेयर छ । उक्त सेयर न्यूनतम मूल्यमा बिक्री भएमा पनि बैंकल १ अर्ब १ करोड ६२ लाख ४७ हजार आम्दानी गर्ने छ ।
नेपाल इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता न्यूनतम २ सय ७९ रुपैयाँ ८१ पैसा तोकिएको छ । बैंकसँग नेपाल इन्स्यारेन्सको १३ लाख ४२ हजार २ सय ८० कित्ता सेयर रहेको छ । उक्त सेयर न्यूनतम मूल्यमा बिक्री हुँदा पनि ३७ करोड ५५ लाख ६० हजार रुपैयाँ बैंकले आम्दानी गर्नेछ ।
बैंकसँग तारागाउँ रिजेन्सी होटल लिमिटेडको ७० लाख कित्ता सेयर छ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकत्ता १ सय ७२ रुपैयाँ २२ पैसा तोकिएको छ । यस होटलको सेयर बिक्रीबाट बैंकले कम्तिमा एक अर्ब २० करोड ५५ लाख ४० हजार आम्दानी गर्नेछ ।
बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४४ करोड रुपैयाँ खुद नाफा गरेको छ । जनकपूर चुरोटको कर्जा असुलीवाट ७० करोड, मिनभवनको जग्गा विक्रीबाट ३७ करोड र विभिन्न ४ कम्पनीको सेयर विक्रीवाट ३ अर्ब रुपैयाँभन्दा बढी आम्दानी चालु आर्थिक बर्षमा नै हुने भएकोले बैंकको नाफा करिब ५ अर्ब रुपैयाँ पुग्न सक्ने एक संचालकले बताए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.