२०७२ पुष ८ गते ११:५१ विकासन्युज
काठमाडौं, ८ पुस । नेपाल राष्ट्र बैंकको दुबै डेपुटी गभर्नरको पद विहिवारदेखि खाली हुने भएको छ । डेपुटी गभर्नरद्धय गोपाल काफ्ले र महाप्रसाद अधिकारीको कार्यकाल आगामी शुक्रवारदेखि सकिने भएपनि सो दिन सार्वजनिक विदा परेकोले विहिवारदेखि नै पद खाली हुन लागेको हो ।
पद खाली भएसँगै नयाँ डेपुटी गभर्नर को बन्ला भन्ने चर्चाले ब्यापकता पाएको छ । गभर्नरको सिफारिसमा मन्त्रिपरिषदले डेपुटी गभर्नर नियुक्त गर्ने कानुनी ब्यवस्था रहेकोले डेपुटी गभर्नर बनाउनको लागि गभर्नरको पनि उत्तिकै भूमिका रहन्छ ।
अहिले नेकपा एमालेको नेतृत्वमा सरकार छ । गभर्नर डा. चिरन्जीबी नेपाल नेपाली काँग्रेसको सरकारको पालामा नियुक्त भएका ब्यक्ति हुन् । उनी तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाका आर्थिक सल्लाहकार पनि थिए । तत्कालिन प्रधानमन्त्रीले आफ्नै आर्थिक सल्लाहकारलाई गभर्नर बनाएका थिए । काँग्रेसी गभर्नरको सिफारिसमा एमाले अध्यक्ष प्रधानमन्त्री बनेको मन्त्रिपरिषदले कुन पार्टी निकट ब्यक्तिलाई डेपुटी गभर्नर बनाउला भन्ने विषयले अहिले बजार तताएको छ ।
राष्ट्र बैंक ऐनले बैंकमा कार्यकारी निर्देशक पदमा कार्यरतमध्येवाट डेपुटी गभर्नर नियुक्त गर्ने ब्यवस्था गरेको छ । यस्तो ब्यवस्थाको कारण अहिले रहेका १६ जना मध्ये जसलाई पनि डेपुटी गभर्नर बनाउन सकिन्छ । यसैकारण कार्यकारी निर्देशकहरु राजनीतिक मेसो मिलाउन थालेका छन् भने प्रधानमन्त्री र मन्त्री समक्ष पुग्ने नाता पहिल्याउन थालेका छन् ।
राष्ट्र बैंकमा अहिले कार्यरत कार्यकारी निर्देशकहरु प्रदीपराज पाण्डे, हरिप्रसाद काफ्ले, त्रिलोचन पंगेनी, डा. मिनवहादुर श्रेष्ठ, महेश भट्टराई, शिवराज श्रेष्ठ, नारायणप्रसाद पौडेल, नरवहादुर थापा, डा. विनोद आत्रेय, जनकबहादुर अधिकारी, भिष्मराज ढुंगाना, चिन्तामणी सिवाकोटी, लक्ष्मी प्रपन्न निरौला, शिवनाथ पाण्डे, शंकरप्रसाद आचार्य र राजनविक्रम साहमध्ये जो पनि डेपुटी गभर्नर बन्न सक्ने छन् ।
सरकारलाई डेमोक्र्याटमध्येवाट डेपुटी गभर्नर बनाउने हो भने बरिष्ठ, कनिष्ठ जुन समुहवाट पनि डेपुटी नियुक्त गर्ने सुविधा छ । तर एमाले समर्थित कार्यकारी निर्देशकलाई मात्रै डेपुटी गभर्नर बनाउने हो भने कनिष्ठबाटै रोज्नुपर्ने हुन्छ ।
१६ जना कार्यकारी निर्देशकमध्ये बरिष्ठ ९ जनाभित्र २ जना मात्रै काँग्रेस वाहेकका कार्यकारी निर्देशक छन् । बष्ठिताको आधारमा चौथो नम्बरमा रहेका डा. मिनवहादुर श्रेष्ठ पनि एमाओबादी निकटका ब्यक्ति भनेर चिनिन्छन् । बरिष्ठताको आधारमा ५ औं नम्बरमा रहेका महेश भट्टराई भने एमाले निकट मानिन्छन् । तर उनको सम्बन्ध प्रधानमन्त्री, अर्थमन्त्री भन्दा पनि राष्ट्रपतिसँग बढी नजिक भएको बताइन्छ । अहिले सरकारले कि राजनीतिक समिकरण मिलाउने कि प्रधानमन्त्री अर्थमन्त्रीको नजिक भएका ब्यक्तिलाई डेपुटी गभर्नर बनाउने तयार थालेको सिंहदरवार स्रोतको भनाइ छ ।
स्रोतले दिएको जानकारी अनुसार अर्थमन्त्री विष्णु पौडेलले जनक अधिकारीको नाम सिफारिस गर्ने अनुमान गरिएको छ । उनी १० औ नम्बरमा रहेका कार्यकारी निर्देशक हुन् । यता प्रधानमन्त्री भने जसरी भएपनि भिष्मराज ढुंगानलाई डेपुटी गभर्नर बनाउने सोचमा रहेको उनी निकट स्रोतको भनाइ छ । ढुंगाना पूर्व गभर्नर डा. युवराज खतिवडाले पनि मन पराएका ब्यक्ति हुन् । डा. खतिवडालाई प्रधानमन्त्रीले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाएका छन् । ढुंगाना ११ औं नम्बरका कार्यकारी निर्देशक हुन् ।
कार्यकारी निर्देशक चिन्तामणी सिवाकोटीको पनि प्रधानमन्त्री केपी ओलीसँग निकट सम्बन्ध छ । प्रधानमन्त्रीले सिबाकोटीलाई पनि खास विश्वास गर्ने गरेका छन् । यसकारण सिवाकोटी पनि डेपुटी गभर्नरको प्रतिस्पर्धामा अग्रभागमा रहेका उम्मेदवार हुन् । यस्तै लक्ष्मी प्रपन्न निरौला पनि प्रधानमन्त्रीको उम्मेदवार बन्न सक्ने बताइएको छ । सिवाकोटी १२ औं र निरौला १३ औं नम्बरमा रहेका कार्यकार िनिर्देशक हुन् ।
अघिल्लो पटक १४ जना कार्यकारी निर्देशकमध्ये १३ औं नम्बरमा रहेका महाप्रसाद अधिकारलाई डेपुटी गभर्नर बनाइएको थियो । यसैकारण कार्यकारी निर्देशकहरुको बरिष्ठताको नम्बरले खास अर्थ राख्ने भने देखिदैन ।
डेपुटी गभर्नर बन्नको लागि काँग्रेस निकट कार्यकारी निर्देशक विच पनि प्रतिस्पर्धा देखिएको छ । काँग्रेसी गभर्नर भएकोले ४ जनाको नाम सिफारिस गर्दा कम्तिमा २ जना काँग्रेस समर्थित कार्यकारी निर्देशकको नाम समावेश हुने आशा काँग्रेस निकट कार्यकारी निर्देशकहरुले गरेका छन् ।
काँग्रेस निकट कार्यकारी निर्देशकलाई डेपुटी गभर्नर बनाइदा त्रिलोचन पंगेनी वा शिवनाथ पाण्डे हुने सम्भावना बढी रहेको सुत्रहरुको भनाइ छ । तर काँग्रेसी नै भएपनि गभर्नर र अर्थमन्त्रीसँग भुगोलको नाता जोडिएका कारण हरिप्रसाद काफ्ले हुन सक्ने अनुमान पनि एक थरिएको छ ।
सत्ता साझेदार एमाले र एमाओवादीले भागबण्डामा डेपुटी गभर्नर नियुक्त गर्ने सहमती गरेको अवस्थामा एमालेबाट एकजना र एमाओवादीवाट डा. मिनबहादुर श्रेष्ठ डेपुटी गभर्नर बन्ने छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.