अधिक तरलता भएकै समयमा प्रभु बैंकले लिन थाल्यो महंगोमा निक्षेप, यस्तो छ बैंकको योजना

  २०७२ पुष १३ गते १३:३२     विकासन्युज

काठमाडौं, १३ पुस । पछिल्लो समयमा बजारमा अधिक तरलता भएको भन्दै नेपाल राष्ट्र बैंकले हरेक हप्ता जसो बजारवाट तरलता प्रशोचन गरिरहेको छ । अधिकांश बाणिज्य बैंकहरु आफूसँग भएको अधिक तरलता १ प्रतिशतभन्दा कम ब्याजदरमा राष्ट्र बैंकमा राखिरहेका छन् । तर यस्तै समयमा प्रभु बैंकले भने मुद्दति निक्षेपमा साढे ६ प्रतिशत ब्याज दिएर निक्षेप लिनको लागि सार्वजनिक सुचना नै प्रकाशित गरेको छ ।

अहिले अधिकांश बाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाइ रहेका छन् । कर्जामा पनि राम्रो ग्राहक पाए ७ प्रतिशत ब्याजमा कर्जा दिने भनिरहेका छन् । अहिले राष्ट्रिय बाणिज्य बैंकले बढीमा साढे ४ प्रतिशत ब्याजमा मुद्दति निक्षेप लिइरहेको छ । यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले ३ दशलमब २५ प्रतिशत मात्रै ब्याज दिइरहेको छ । दुबै बैंकले यस्तो मुद्दति निक्षेप बढीमा ३ बर्षको लागि मात्रै लिइरहेका छन् ।

सामान्यतः बजारमा अधिक तरलता भएको समयमा ब्याजदर कम हुने गर्छ । तर यही समयमा ब्याजदर बढी दिएर ५ बर्षको लागि मुद्दतिमा निक्षेप लिने रणनीति प्रभु बैंकले बनाएको छ ।

अहिले ब्याजदर बढी दिएर ५ बर्षको लागि मुद्दति निक्षेप लिनुको पछाडि खास कारण र रणनीति रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको भनाइ छ । ‘अवस्था सधै यस्तो हुदैन, केही समय पछाडि नै बजारमा तरलताको अभाव हुन सक्छ, बैंकको सम्पत्ति र दायित्वको अनुपात समन्वय गर्नको लागि दीर्घकालिन निक्षेपको आवश्यकता पर्ने हुदा यस्तो गरिएको हो,’ प्रमुख कार्यकारी अधिकृत शेरचनले भने ।

प्रमुख कार्यकारी अधिकृत शेरचन

प्रमुख कार्यकारी अधिकृत शेरचन

बैंकहरुले अल्पकालिन निक्षेप लिएर दीर्घकालिन कर्जा दिने गरेकोले त्यसको समन्वय गर्नको लागि ५ बर्षे अवधिको निक्षेप खोजिएको उनको भनाइ छ । ‘हामी लामो अवधिको घर कर्जा तथा परियोजना कर्जामा आक्रामक ढंगले जाने रणनीतिमा छौं, यसको लागि पनि हामीलाई अलि लामो समयको निक्षेप आवश्यक पर्ने हुदा ५ बर्षे अवधिको माग गरिएको हो,’ शेरचन भन्छन् ।

यस्तै गत १२ बैशाखको भूकम्प र त्यसपछिका निरन्तर पराकम्पन तथा पछिल्लो समयमा जारी तराइ मधेशको आन्दोलन र भारतीय नाकाबन्दीले समग्र अर्थतन्त्र सिथिल बनेको छ । यी दुबै कारणले सरकारको विकास बजेट पनि खर्च हुन सकिरहेको छैन । आन्दोलन सकिने र नाकाबन्दी खुल्ला हुने वित्तिकै सवै क्षेत्रवाट कर्जाको अत्याधिक माग भएमा त्यसको तयारीको लागि पनि निक्षेप संकलन गरेर बस्ने तयारी गरिएको बैंकको भनाइ छ ।

बैंकले यो योजनाबाट करिब १ अर्ब रुपैयाँ निक्षेप लिने योजना बनाएको शेरचनले जानकारी दिए । यस्तो योजना ३ देखि ६ महिना संचालन गरिने बैंकको भनाइ छ ।

यसअघि तत्कालिन एनआइसी बैंकले ६ बर्षको लागि मुद्दति निक्षेप लिएको थियो । अरु बैंकले सामान्यतः बढीमा ३ बर्षको लागि मात्रै मुद्दति निक्षेप लिने गरेका छन् । तर बजारमा अधिक तरलता भएकै समयमा प्रभु बैंकले बढी ब्याज दिएर ५ बर्षको लागि निक्षेप लिने योजना बनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.