प्रभु इन्स्योरेन्सले नाफाबाट पुँजी बढाउँदै लैजान्छ-सन्चित बज्राचार्य

  २०७२ माघ १८ गते १२:०६     विकासन्युज

bikashnews.com

सन्चित बज्राचार्य, प्रमुख कार्यकारी अधिकृत, प्रभु इन्स्योरेन्स लिमिटेड

प्रभु इन्स्योरेन्स लिमिटेडले माघ १ देखि लागु हुनेगरी कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा सन्चित बज्राचार्य नियुक्त गरेको छ । बज्राचार्यले विगत ११ महिनादेखि सोही कम्पनीमा कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समाल्दै आउनु भएको थियो । उहाँ विगत आठ वर्षदेखि सोही कम्पनीमा आवद्ध हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालयबाट एमबीए, आईक्याटबाट एकाउण्ट टेक्निसियन डिग्री गर्नुभएका बज्राचार्यले सरकारी, गैरसरकारी संस्थाहरुमा काम गर्दै ४० वर्षको उमेरमा बीमा कम्पनीको व्यवस्थापकीय नेतृत्व समाल्नु भएको छ । उहाँको कार्य योजना के छ ? प्रस्तुत छ उहाँसँग गरिएको विकास वहस  । [divider]
प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समाल्नु भएको छ, नयाँ योजना के छन् ?

कुनै पनि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको मुख्य जिम्मेवारी भएको कम्पनीको व्यवसाय विस्तार गर्ने हो । सेवा सुविधालाई छिटोछरितो बनाउनु पर्यो । सेवाको गुणस्तर वृद्धि हुनुपर्यो । कम्पनीको कम्प्लाईन्स पार्ट राम्रो हुनुपर्यो । कमी कमजोरी सुधार गर्दै जानुपर्यो । र, लगानीकर्तालाई अधिकतम प्रतिफल दिन प्रयास गर्नुपर्यो । त्यसबाहेक सर्वसाधारणमा बीमाको महत्व बुझाउने, बीमा गर्ने संस्कारमा वृद्धि ल्याउने, बीमा क्षेत्रमा स्वच्छ प्रतिस्प्रर्धाको अभ्यास गर्ने मेरो योजना छन् ।

प्रभु इन्स्योरेन्स कम्पनीको वित्तीय अवस्था कस्तो छ ?

कम्पनीको वित्तीय अवस्था राम्रो छ । असोज मसान्तसम्मको वित्तीय अवस्था सार्वजनिक भईसकेको छ । पुस मसान्तसम्मको वित्तीय विवरण तयार भईरकेको छैन । यद्यमी व्यापार विस्तार र नाफा निरन्तर वृद्धि गर्न सफल भईरहेको छौं ।

नाकाबन्दी, तराई बन्दको असर बीमा क्षेत्रमा कस्तो परेको छ ?

गत बैशाखमा भूकम्पले धेरै जनधनको क्षति भयो । बीमा कम्पनीहरुलाई त्यसको प्रत्यक्ष नकारात्मक असर पर्यो । चालु आर्थिक वर्षको शुरुमा बीमा गर्ने क्रम बढ्दै थियो । फेरी नाकाबन्दी, तराई बन्दले यो क्षेत्र सुस्ताएको छ । यद्यपी चालु अर्थिक वर्षको पुस मसान्तसम्मको व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढी नै भएको छ ।

भूकम्पपछि बीमा गर्नेको क्रम बढेको हो ?

विनासकारी भूकम्पले झण्डै ९ हजार मासिनको ज्यान गयो । करिव ७ खर्ब बराबरको आर्थिक नोक्सानी भयो । एउटै प्राकृतिक विपत्तिले यतिधेरै जनधनको क्षति पुर्याएको संम्भवत नेपालको इतिकासमा सबैभन्दा ठूलो घट्ना हुनुपर्छ । यो साह्रै दुःखद क्षण हो । यस घट्नाले हामी सबैलाई पाठ सिकाएको छ । बीमा कम्पनीहरुको लागि पनि महत्वपूर्ण सिकाई भएको छ । सर्वसाधारणमा व्यक्तिको, सम्पत्तिको बीमा गर्नु पर्ने रहेछ भन्ने सन्देश गएको छ । तर मलाई आश्चर्य के लागि रहेको छ अझै सर्वसाधारणले स्वतस्फूर्त बीमा गर्ने तत्परता देखाएको छैनन् । बीमा बजारको विस्तार उत्साप्रद भने छैन ।

एक करोड रुपैयाँ लगानी गरेर घर बनाउनेले बैंकबाट ५० लाख रुपैयाँ कर्जा लिएको छ भने ५० लाख रुपैयाँको मात्र बीमा गरेको र क्षति भएपछि बीमा कम्पनीले अण्डर इन्स्योरेन्सको नाममा १५ लाख रुपैयाँ पनि भुक्तानी नगरेको समस्या देखियो । भूकम्पपछि अण्डर इन्स्योरेन्स गर्ने अभ्यास रोकियो कि जारी छ ?

Sanchit-bazarcharya

वास्तवमा अग्नि बीमा र भूकम्प बीमा बैंकमा निर्भर हुनगयो । त्यसको परिणाम अण्डर भ्यालुमा बीमा गरिए । भूकम्पपछि घर भत्केकाहरुले नविकरण गर्ने कुरा भएन । तर घरमा क्षति नभएका, कम क्षति भएका मानिसहरुले बीमा नविकरण गराउँदा पूर्ण भ्यालुको बीमा गराउन थालेका छन् । नयाँ बीमा गर्नेहरुले पनि फूल भ्यालुमा बीमा गर्न थालेका छन् ।

अब बीमा बजारको विस्तार कसरी होला ?

विगतका वर्षहरुमा पनि बीमा बजारको विस्तार सामान्य गतिमा भईरहेको हो । चालु आर्थिक वर्षको वृद्धि पनि विगतमा भन्दा केही बढी छ । तर उच्चदरको वृद्धि भएन । नाकाबन्दी र तराई बन्द नभएको भए विस्तारको दर दोब्बर, तेब्बर हुने अनुमान गरिएको थियो । गत वर्ष १० प्रतिशतले व्यवसाय विस्तार गर्नेले यो वर्ष २०/३० प्रतिशतले विस्तार गर्न सक्थे । त्यो स्तरको वृद्धि देखिएको छैन । यद्यपी समय बाँकी छ । चालु आर्थिक वर्षको अझै पाँच महिना बाँकी छ ।

प्रभु इन्स्योरेन्समा भूकम्पको क्षतिबाफत कति दावी भएको थियो र कति भुक्तानी भयो ?

संख्यात्मक रुपमा करिव ११ सय वटा दावी परेका थिए । यो दावीको करिव ७० प्रतिशत भुक्तानी गरिसकेका छौं । रकमका आधारमा ५० करोडभन्दा माथिको दावी हुने देखिन्छ । हामीले अहिलेसम्म ३२ करोड रुपैयाँ दावी भुक्तानी भएको छ ।

भूकम्प गएको नौ महिना वितिसक्यो । यो अवधिमा तपाईकै कम्पनीले दावी रकमको आधारमा करिव ४० प्रतिशत र संख्याको आधारमा ३० प्रतिशत भुक्तानी गर्न बाँकी देखियो, यति धेरै भूकम्प पीडित ग्राहकमाथि दावी भुक्तानी गर्न ढिला भएन ?

यति ठूलो विपत्तीपछि पनि हामी निरन्तर काम गरिरहेका छौं । भूकम्प गएपछि बीमा कम्पनीहरु शनिवार, सार्वजनिक विदाको दिन समेत खुलेका छन् र हामीले एक दिन पनि आराम नगरि काम गरिरहेका छौं । सर्भेयरहरु खटिरहेका छन् । ठूलो रकमका बीमा दावी भएका केसहरुमा पुर्नबीमा कम्पनीबाट आएका सर्भेयरहरुले पनि अध्ययन गरिरहेका छन् । केही केसमा बीमितहरुले आवश्यक कागजपत्र पेश नगर्दा भुक्तानी ढिला भएको छ । केही केसहरु जटिल पनि छन् । त्यसैले ढिला हुन गएको हो । प्रक्रिया पुरा भएको दावीमा भुक्तानी रोकेका छैनौं । सर्भेयर प्रतिवेदन पनि तयार हुने हो र अनिवार्य पेश गर्नु पर्ने कागजपत्र ग्राहकले उपलब्ध गराउने हो भने कम्पनीले आगामी दुई महिनाभित्र सबै दावीको भुक्तानी गर्नेछौं ।

भूकम्पबाट बीमा क्षेत्रले के सिक्यो ?

बीमा नगर्नेले केही पनि पाएका छैनन् । बीमा गर्ने सबैले क्षतिपूर्ति पाईरहेका छन् । फूल इन्स्योरेन्स गर्नेले सन्तोषजनक रकम पाएका छन्, अन्डर भ्यालुको बीमा गर्नेले कम पाएका छन् । त्यसकारण बीमा आफ्नै लागि रहेछ भन्ने सन्देश बीमितलाई गएको छ । बीमकले पनि ठूला विपत्ती आउन सक्छ, त्यस्तो वेलामा ग्राहकहरुलाई छिटो छरितो सेवा दिन सक्ने तयारी अवस्थामा बस्नु पर्ने रहेछ भन्ने सिकाई भएको छ । साथै, अग्नी र भूकम्प बीमामा बैकसँग मात्र निर्भर हुनु गल्ती भएछ भन्ने बजारको सिकाई छ ।

भूकम्प पछि पनि बीमा व्यवसाय विस्तार उल्लेख्य रुपमा वृद्धि नहुनुमा बीमा कम्पनीहरुको दिने सेवामा विविधता कमी, नविनताको कमी, बजारीकरणको लागि गरिएको कमजोर प्रयास दोषी होइन ?

बीमा व्यवसाय विस्तार न्यूनस्तमा हुनुमा धेरै कारणहरु छन् । गरिबी मुख्य कारण हो । कुल ग्राहस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान कृषिको छ । ६५ प्रतिशतभन्दा बढी मानिसहरु कृषि व्यवसायमा आश्रित छन् । उनीहरुलाई बीमा सेवा दिने प्रयास भरखरै शुरु भएको छ । गाउँस्तरमा बीमाको बारेमा जनचेतना फैलाउन सकिएको छैन । बाली तथा पशुपन्छी बीमाको प्रिमियममा सरकारले दिने अनुदान सहयोगबारे उचित जानकारी, बीमा गर्दा हुने लाभका बारेमा साधारण कृषक अझै बेखवर छन् । कृषकहरुले वृहत रुपमा बाली तथा पशुको बीमा गर्ने अभ्यास नहुँदासम्म बीमा कम्पनीहरुले पनि यो क्षेत्रबाट लाभ लिन सक्ने देखिदैन । यतिबेला बाली तथा पशुधनको बीमा गरेर कुनै पनि कम्पनीले नाफा कमाएका छन् भन्ने मलाई लाग्दैन । अहिले नाफा नभए पनि भविष्यमा राम्रो होला भन्ने आशामा बीमा कम्पनीहरुले यो क्षेत्रमा काम गरिरहेका छन् ।

बीमाबारेमा जनचेतना कमी ठूलो समस्या हो भनेर पहिचाहन भएको वर्षौ भयो, समाधानतर्फ प्रयास किन भएन ?

बीमाको महत्व बुझाउने प्रयास सबैतिरबाट भएका छन् । सञ्चार माध्यमहरुले पनि बीमाको विषयलाई स्थान दिएका छन् । बीमा कम्पनीहरुले पनि आफ्ना सेवाबारे आमसञ्चारको माध्यमबाट लैजाने काम गरेको छन् । एजेन्टहरुले निकै मिहेनत गरिरहेका छन् । बीमा समितिले पनि प्रचार प्रसारको काम गरिरहेको छ । तर सबैले दिने सन्देश सहरी क्षेत्रमा सीमित छन् । ग्रामिण तहमा पुगेन । बीमा गर्नुपर्छ भन्ने जानकारी भएर पनि बीमा नगर्ने संस्कार अर्को ठूलो समस्या हो । सामाथ्र्य भएका, बीमाबारे जानकारी भएका मानिसहरु पनि बीमा गर्दैनन् । घर बनाउने बेलामा २ प्रतिशत व्याज बढी तिरेर ऋण लिन तयार हुने, व्याजमा वर्षमा लाख तिर्न तयार हुने मान्छे बीमा गर्दा वर्षमा हजार रुपैयाँ तिर्न तयार हुँदैन । यो पनि ठूलो समस्या हो । ५० लाख रुपैयाँ खर्च गरेर घर बनाउँदा बीमा शुल्क करिव ५ हजार रुपैयाँ लाग्छ । त्यो पनि तिर्न मानिस तयार हुँदैन । बुझाईमा नै समस्या भयो ।

बीमा कम्पनीहरुले पनि यसमा प्रो एक्टिभ रोल खेल्न नसकेका हुन् नि, होइन ?

बीमा कम्पनीहरु सेवा बेच्न बसेका हुन् । उनीहरुको बढीभन्दा बढी मानिसलाई आफ्नो सेवा पुर्याउन चाहान्छन् । बीमा कम्पनीहरुलाई आफ्नो व्यवसाय विस्तार गर्नु छ । भएका ग्राहकले नछोडुन्, नयाँ ग्राहक ल्याउन सकियोस् भन्ने चाहाना सबै कम्पनीको हुन्छ । बीमा व्यवसाय एजेन्टबाट हुने भएकाले एजेन्टहरु घरदैलोमा पुगेका हुन्छन् । बीमा बुझेका मान्छे बीमा कम्पनीमा आएर बीमा गरिदिनुहोस् भन्छन्, नबुझेका मान्छेलाई बुझाउन गाह्रो छ ।

पछिल्लो समयमा फेक क्लेम बढेको भन्ने सुन्नमा आएको छ, बास्तविकता के हो ?

प्रक्रिया पुरा गरेर, प्रमाण जुटाएर आएका दावीलाई फेक वा फर्ड क्लेम भनेर हामीले भन्न मिल्दैन । केही ग्राहकहरु घट्ना भएपछि पनि प्रक्रिया पुरा गर्न, आवश्यक कागजपत्र जुटाउन नसकिरहेको पाईन्छ । केही ग्राहकको नियत अलि खराव हुन्छ । हुँदै नभएको क्षतिमा दावी गर्ने गरेको पाइन्छ । तराई बन्दको क्रममा केही सवारीमा सवारी मालिकले आफैले आगो लगाएको खबर पनि आए । तर सबुत प्रमाण जुटाएर कसैले ल्याउँछ भने बीमा कम्पनीले त्यसलाई झुटो हो भनेर प्रमाणीत गर्न सक्दैन ।

प्रभु इन्स्योरेन्सका सेयरधनीले आगामी आर्थिक वर्षमा कस्तो प्रतिफल पाउँलान् ?

बीमा कम्पनीले भविष्यमा दिने लाभांशबारे अनुमान गर्नु नै गलत हुन्छ । भविष्यमा के कस्तो घट्ना घट्छ, त्यसको असर बीमा कम्पनीलाई कति पर्छ भनेर अनुमान गर्न गाह्रो छ । कम्पनीको व्यस्थापनले पक्कै पनि व्यवसाय विस्तार गर्न चाहान्छ र नाफा वृद्धि गर्न चाहान्छ । यस कम्पनीले विगतका वर्षहरुमा पनि १०/१५ प्रतिशत लाभांश दिएको छ । विगतमा भन्दा बढी लाभांश दिने लक्ष्यका साथ काम गरिरहेका छौं ।

गत वर्ष भूकम्पले ठूलो क्षति पुर्यायो । त्यतिधेरै क्षति हुँदा पनि पुस मसान्तसम्म साधारणसभा गर्ने प्रभुसहित तीन वटै निर्जीवन बीमा कम्पनीले १२ प्रतिशतभन्दा बढी लाभांश दिए । यसको बीमा कम्पनीको सेयरमा लगानी गर्नु सुरक्षीत लगानी हो ?

यो जटिल प्रश्न हो । निर्जीवन बीमा कम्पनीमा गरिएको लगानी उच्च जोखिमपूर्ण हुन्छ । गत वर्ष भूकम्पले सबैभन्दा बढी नोक्सान निर्जीवन कम्पनीमा पुर्याएको हो र पनि पुस मसान्तसम्म साधारणसभा गर्ने सबै कम्पनीले राम्रो डेविडेन्ट दिए । त्यसो भन्दैमा यो क्षेत्रमा जोखिम हुँदैन भन्ने होइन ।

बीमा कम्पनीहरुको सेयर मूल्य किन बढीरहेको छ ?

तपाईले भनेजस्तै गत वर्ष ठूलो क्षति बेहोरेको अवस्थामा पनि बीमा कम्पनीहरुले लाभांश दिए, भविष्यामा किन नदेलान् भन्ने विश्वास लगानीकर्तामा पलाएको पनि होला । साथै पुँजी वृद्धिको लागि नयाँ ऐनमा प्रस्ताव गरिएकोले बोनस सेयर पाइन्छ भन्ने पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.