तीन वर्षमा माछापुच्छ्रे बैंकको विजनेशन तीन गुणाले, नाफा २० गुणाले बढ्यो

  २०७२ माघ २४ गते १२:०१     विकासन्युज

tulasiram

तुलसीराम गौतम, प्रमुख कार्यकारी अधिकृत, माछापुच्छ्रे बैंक लिमिटेड

गत पुस मसान्तसम्ममा माछापुच्छ्रे बैंकको वित्तीय अवस्था कस्तो रह्यो ?

चालु आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक भईसकेको छैन । त्यसकारण मैले अहिले नै तपाईलाई भन्न सक्दिन । तर हामीले सोचेभन्दा राम्रो भएको छ । गत त्रैमासमा निक्षेप वृद्धि उल्लेख्य भएको छैन तर कर्जा लगानी तीन अर्बले वृद्धि भएको छ । पुरानाकर्जा असुलीमा राम्रो प्रगति भएको छ र नाफा पनि सोचेभन्दा राम्रोसँग भएको छ ।

तराई बन्द, नाकाबन्दीले अर्थतन्त्रमा नराम्रो असर परेको छ । उद्योग, व्यापार तथा सेवाका क्षेत्रहरु सबैलाई नोक्सान पुगेको छ । भूकम्पको असर पनि बाँकी छ । यस्तो प्रतिकूल अवस्थामा पनि कर्जा असुली राम्रो रह्यो र बैंकको नाफामा वृद्धि नै देखियो । हाम्रो मात्र होइन, पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गर्ने सबै बैंकको नाफा बढेको देखिन्छ ।

देशको आर्थिक अवस्था नाजुक छ तर बैंकको व्यापार र नाफा ‘सोचेभन्दा राम्रो भयो’ भन्नुहुन्छ, कसरी यस्तो भयो ?

यसअघि एउटा बैंकको सीईओले पत्रिकामा दिनु भएको अन्तरवार्तामा पनि छापिएको छ कि तराई बन्द, नाकाबन्दीको असर बैंकमा सबैभन्दा पछि देखिने छ । पहिला यातायातमा देखियो, पछि उद्योगमा देखियो, त्यसपछि व्यापारमा देखियो, चैत मसान्त वा असार मसान्तसम्ममा त्यसको असर बैंकमा देखिन सक्छ । यस्तो असर ठूला कर्जामा देखिन सक्छ । घर कर्जा, सवारी कर्जा, अन्य साना कर्जाको भुक्तानीमा समस्या नआउला । किनभने हाम्रो समाजमा सकेसम्म बैंकबाट कर्जा नलिने, लिए पनि समयमा नै तिर्नुपर्छ भन्ने सोच छ । आफूसँग पैसा नभए आफन्त, साथीसर्कलसँग सापटी लिएर पनि बैंकको कर्जा तिर्ने अभ्यास छ । त्यसैले साना कर्जा समस्या आउला जस्तो मलाई लाग्दैन ।

तेस्रो, सबै क्षेत्र ध्वस्त भएको छैन । भूकम्पले ४/५ वटा जिल्लामा बढी असर गरेको छ । तराई बन्दले पनि तराईका ४/५ वटा जिल्लालाई बढी प्रभावित गर्यो । त्यसैले बैंकिङ क्षेत्रलाई धेरै असर नपर्न पनि सक्छ ।

ठूला व्यवसायीबाट पुस मसान्तमा कस्तो रेस्पोन्स आयो ?

केही जिल्लामा नाकाबन्दको असर पर्यो । त्योभन्दा धेरै जिल्लामा लोडसेडिङको असर छ । तैपनि सिफ्ट गरेर उद्योग चलाएका छन् । ठूला व्यवसायीहरुले पनि पुस मसान्तमा व्याज किस्ता बुझाएका छन् ।

विगतमा नियमित कर्जाको किस्ता र व्याज बुझाउँदै आएका ऋणिले पुस मसान्तसम्ममा किस्ता र व्याज भुक्तानी गर्न नसके पनि उनीहरुलाई कारवाही नगर्न र उठ्न नसकेको व्याजलाई क्यापटलाईजेशन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । यस निर्देशनका आधारमा बैंकहरुले कागजी नाफा मात्र देखाएका त होइनन् ?

Tulasiram-gautam

राष्ट्र बैंकले मुलतः दुई वटा सुविधा दिएको छ । पुस मसान्तसम्ममा आउनुपर्ने किस्ता र व्याज माघ मसान्तसम्ममा आयो भने पनि त्यसलाई पुस मसान्तसम्मको नाफामा देखिाउन पाइन्छ । दोस्रो, टर्म लोनको अवधि एक वर्षसम्म बढाउन सकिन्छ । यसबाट अन्ततः ऋणिलाई केही राहात मिलेको छ । ध्यान दिनुपर्ने विषय यो पनि छ कि राष्ट्र बैंकको सर्कुलर पुस मसान्तको कार्यालय समय सकिएपछि आयो । त्यतिबेलासम्म क्षमता भएका ग्राहकले बैंकमा पैसा बुझाई सकेका थिए । त्यसैले राष्ट्र बैंकको सर्कुलरले बैंकको नाफामा धेरै असर परेको छ भन्ने मलाई लाग्दैन ।

बैंकले गरेको नाफा कागजी नाफा मात्र हो कि भनेर शंका गर्नु पर्दैन । बैकिङ क्षेत्रमा कुनै समय यस्तो अभ्यास थियो कि व्याज पाक्यो कि नाफामा गणना हुन्थ्यो । तर अहिले खातामा नगद जम्मा नभएसम्म नाफा आम्दानी देखाउन पाईदैन । जति नाफा देखिएको छ, त्यो वास्तविक हो । यसमा शंका गर्नु पर्दैन । राष्ट्र बैंकको सर्कुलरले पछिल्लो समयमा नियमित किस्ता र व्याज नआएका केही कर्जाहरुमा तत्काल प्रोभिजन गर्नु नपर्ने व्यवस्था गरेको छ । हुनसक्छ केही कर्जामा प्रोभिजन गर्नु नपर्दा नाफामा असर गरेन ।

कहिले राजनीतिक संक्रमणको नाममा, कहिले भूकम्पको नाममा, कहिले नाकाबन्दीको नाममा राष्ट्र बैंकले पटक पटक ऋणिहरुलाई कर्जा भुक्तानी गर्न समय थप्दै आएको छ । यसले बैकिङ प्रणालीमा, बैकिङ प्रणालीप्रतिको विश्वसनियतामा असर गर्दैन ?

व्याज भुक्तानी गर्ने समय एक महिना वृद्धि गर्दैमा, कर्जा भुक्तानी गर्ने अवधि एक वर्ष वृद्धि गर्दैमा कुनै समस्या हुँदैन । तर वारम्बार समस्या देखिनु आफैमा नराम्रो हो । व्याज भुक्तानी गर्ने समय पनि छ महिना/एक वर्ष बढाउनु पर्ने अवस्था आयो भने समस्या हुन्छ । असारको व्याज साउनमा, पुसको व्याज माघमा बुझाउँदैमा कुनै समस्या भने हुँदैन ।

भूकम्पले ७ खर्ब नोक्सान भयो, नाकाबन्दीले ८ खर्ब नोक्सान भयो, आर्थिक वृद्धिदर ऋणात्मक हुने जोखिम बढ्यो भन्ने रिपोर्टहरु आईरहेका छन् । तपाईको कुरा सुन्दा यस्तो लाग्छ कि बैकिङ क्षेत्र सुरक्षीत छ, बैंकहरुको नाफा वृद्धि भइराखेको छ । के बैकिङ क्षेत्र अर्थतन्त्र भन्दा अलग्गैको टापु हो ?

tulasiram-mbl

अर्थतन्त्रको तुलनामा बैकिङ क्षेत्रको ग्रोथ राम्रो देखिनुको कारण के पनि हो भने बैंकमा निक्षेप राख्ने, बैंकबाट कर्जा लिएर व्यवसाय गर्ने अभ्यासको विकास हुँदै गएको छ । अझै पनि ग्रामिण क्षेत्रमा अझै बैंकिङ पहुँच कम छ । ग्रामिण क्षेत्रमा शाखा खोल्ने क्रम बढेको छ । बैंकमा खाता खोल्ने, बैंकमा निक्षेप राख्ने क्रम बढ्दो छ । आर्थिक वृद्धि रोकिए पनि घरमा राख्ने पैसा बैंकमा आउने क्रम बढेको छ । हिजो कर्जा नलिई व्यवसाय गर्नेहरु अहिले बैंकबाट कर्जा लिएर व्यवसाय गर्न थालेका छन् । यिनै कारण हुन् कि बैंकका आर्थिक वृद्धिदर कम हुँदा पनि बैंकिङ क्षेत्रको विस्तार उच्चदरमा भएको छ ।
आज (बुधबारसम्म) जति बैंकहरुले पुस मसान्तको रिपोर्ट सार्वजनिक गरे, उनीहरुको नाफा बढेको नै देखियो । धेरै बैंकको रिपोर्ट आउन बाँकी छ । चैतमा के हुन्छ भन्न सकिदैन । पुर्ननिर्माणमा सरकारले विनियोजन गरेको बजेट खर्च भयो भने एक खर्ब रुपैयाँ बजारमा आउँछ । अर्थतन्त्रलाई गति दिन त्यसले धेरै मद्दत गर्छ । निश्चित समय ५ लाख घर बन्दैछन् । सिमेन्ट, रड, गिठ्ठी, काठ लगायन निर्माण सामाग्रीको कारोबार बढ्छ । निर्माणकर्मी तथा श्रमिकहरुले राम्रो आम्दानी गर्नेछन् । त्यसको गुणात्मक असरले आर्थिक गतिविधि धेरै बढ्छ । त्यसैले बैकिङ क्षेत्रको विस्तारमा अझै पनि जारी हुन्छ भन्ने मलाई लाग्छ ।

यतिबेला कुन कुन क्षेत्रबाट कर्जा असुलीमा समस्या छ ?
भूकम्प आएपछि सबै दैनिक पत्रिकामा घरहरु ध्वस्त भएको खवर छापिए । ढेड दर्जन टिभी च्यानलले भूकम्पले ध्वस्त भएको संरचना मात्र देखाए । तर वास्तवमा हेर्ने हो भने सबै घर ध्यवस्त भएका थिएनन् । तपाई यहि बैंकको कौशीमा गएर लाजिम्पाट काठमाडौं ठूलो भाग देख्न सक्नुहुन्छ र सबै घर सामान्य देख्न सक्नुहुन्छ । मेरो भनाई के हो भने भूकम्प र नाकाबन्दीले ठूलो क्षति भएको छ, तर क्षति नभएको क्षेत्र पनि धेरै छन् । टिभी र पत्रपत्रिका मात्र हेर्नेले सबै घर ध्वस्त भएको अनुमान गरे । त्यसको असर पर्यटन क्षेत्रमा पर्छ । विदेशी पर्यटकमा आधारित होटल र पर्यटन सेवाको क्षेत्र यतिबेला मारमा परेको छ । अरु क्षेत्रमा पनि असर परेको छ, तर थेग्नै नसक्ने अवस्था छैन ।

माछापुच्छ्रे र जनता बैंकबीच मर्जर प्रक्रिया कहाँ पुग्यो ?

राष्ट्र बैंकबाट एलओआई पाएका छौं । आईटी र एक्काउन्ट मर्जतर्फ धेरै काम भईरहेको छ । मर्जरका व्यवस्थापकीय काम निरन्तर चलिरहेको छ ।

मर्जपछिको बैंकको अवस्था कस्तो हुन्छ ?

मर्जपछि नाम माछापुच्छे« बैंक नै हुन्छ । मर्जपछि बैंकको निक्षेप करिव ६६ अर्ब रुपैयाँ हुन्छ, कर्जा करिव ५६ अर्ब रुपैयाँ हुन्छ । शाखा ९२ वटा हुन्छ । १०० भन्दा बढी एटीएम हुन्छ । कर्मचारी एक हजारभन्दा हुन्छ ।

यति ठूलो बैंक कसरी चलाउने योजना बनाउनु भएको छ ?

एकदमै नयाँ र ठूलो काम होइन । विगत तीन वर्षमा माछापुच्छ्रे बैंकको विजनेशन तीन गुणाले बढ्यो । नाफा १८/२० गुणाले बढ्यो । शाखा र कर्मचारी थोरै वृद्धि भएको छ । ठूलो भएकै कारण तीन वर्षपहिले भन्दा अहिले यो बैंक चलाउन कुनै कठिन भएको छैन । मर्जपछि बैंक ठूलो भएकै कारण चलाउन कठिन हुन्छ जस्तो मलाई लाग्दैन ।

मर्जपछि शाखा संख्या घट्दैन । शाखा स्तरका कर्मचारी व्यवस्थापनमा कुनै समस्या आउँदैन । केन्द्रीय कार्यलयमा भने जनशक्ति व्यवस्थापन गर्न थप मिहेनत जरुरी छ । विभागीय प्रमुखहरुमा रिएडजस्टमेन्ट गर्नुपर्ने हुन्छ । त्यसमा सिनियरिटी, प्रोफाइल हेरेर रिएडजस्टमेन्ट हुन्छ । मर्ज पूर्व एउटा विभागमा ५ जना थिए भने मर्जपछि ७ जना चाहिन्छ नै । थप तीन जनालाई के गर्ने भन्ने प्रश्न उठ्छ । बढीमा २० जना कर्मचारी रिएडजस्टमेन्ट गर्नु पर्ने हुन्छ । ठूलो बैंक भईसकेपछि क्षेत्रीय कार्यालयको अवधारणमा पनि जानुपर्ने हुनसक्छ । हाल गर्दै आएको बाहेक नयाँ काम गर्न नयाँ विभागको आवश्यकता पनि पर्नसक्छ ।

मर्जपछि माछापुच्छ्रे बैंक कतिऔ स्थानमा हुन्छ ?

विजनेशको हिसावले माछापुच्छ्रे अहिले एक्लै आठौ ठूलो बैंकमा पर्छ । मर्जपछि पक्कै पनि हामी पाँचौ वा छैटौमा पर्न सक्छौं । तर स्थिति तरल छ । अहिले ११ औ र १२ औं नम्बरमा रहेका बैंक मर्ज भए भने हामीभन्दा ठूलो हुन सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.