१२ वटा बाणिज्य बैंकको साढे १६ अर्ब रुपैयाँको हकप्रद आउँदै

  २०७२ चैत १४ गते १०:३७     विकासन्युज

काठमाडौं, १४ चैत । चालु आर्थिक बर्ष भित्रमा १२ वटा बाणिज्य बैंकहरुले करिव साढे १६ अर्ब रुपैयाँ बराबरका हकप्रद सेयर निस्कासन गर्ने भएका छन् । २०७४ को असार मसान्तसम्ममा बाणिज्य बैंकहरुको चुक्ता पूजी अहिलेको भन्दा ४ गुणाले बढाएर कम्तिमा पनि ८ अर्ब रुपैयाँ पुर्याउनै पर्ने भएकोले यस वर्षदेखि नै हक प्रद निकास्कन बढ्न लागेको हो ।

ठूलो मात्रामा हकप्रद सेयर निस्कासन हुने भएपछि हकप्रदकै आशामा दोस्रो बजारबाट सेयर खरिद गरेका लगानीकर्तालाई फाइदा हुने भएको छ । दोस्रो बजारवाट महंगोमा किनिएका सेयरको मूल्य पनि बैंकहरुले दिने हकप्रदको अनुपातमा सय रुपैयाँ थप लगानी गर्दा एक कित्ता सेयर थप हुन्छ । यसो हुदा कुनै बैंकले एक कित्ता बराबर एक कित्ताकै दरले हकप्रद जारी गरेमा दोस्रो बजारमा किनिएको सेयरको मूल्य झण्डै आधा कम हुन्छ । तर एक बराबर एक कित्ताको दरले हकप्रद जारी गर्ने बैंकको संख्या भने नगन्य छ ।

कुन बैंकले कति रकमको हकप्रद दिदैछन् ?
बैंक अफ काठमाण्डू          २ अर्ब ६७ करोड
सेन्चुरी कमर्सियल बैंक     १ अर्ब ३८ करोड २२ लाख ४० हजार
हिमालयन बैंक                 ६४ करोड २७ लाख ३५ हजार
लक्ष्मी बैंक                       ३ अर्ब ३ करोड ९२ लाख २९ हजार
माछापुच्छ्रे बैंक               ३८ करोड
मेगा बैंक                         ९९ करोड ४० लाख
एनआइसी एशिया          ९२ करोड ४० लाख
प्रभु बैंक                         ६४ करोड १७ लाख ७७ हजार
प्राइम कमर्शियल बैंक     १ अर्ब २४ करोड ५५ लाख
सानिमा बैंक                  १ अर्ब ५३ करोड
सनराइज बैंक                ३६ करोड ९० लाख ४७ हजार
सिटिजन्स बैंक              १ अर्ब ७० करोड

स्रोतः बैंकहरुको वेवसाईटमा राखिएको क्यापिटल प्लान

बाणिज्य बैंकहरुले आफ्नो वेबसाइटमा राखेको पूजी बृद्धि योजनाले चालु आर्थिक बर्षमा साढे १६ अर्ब रुपैयाँ बराबरको हकप्रद निस्कासन हुने देखिएको हो । यो संख्या अहिले संचालनमा रहेका मध्ये २४ बाणिज्य बैंकको वेबसाइटवाट लिइएको हो । निजी क्षेत्रवाट संचालित सिभिल र सिद्धार्थ बैंकको वेबसाइटमा उनीहरुको पूजी बृद्धिको योजना भेटिएन । यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले पनि पूजी बृद्धिको विस्तृत योजना सार्वजनिक गरेको छैन । सरकारी लगानीको राष्ट्रिय बाणिज्य बैंकको चुक्ता पूजी ८ अर्ब रुपैयाँ पुगिसकेको छ भने सरकारको पनि लगानी रहेको कृषि विकास बैंकले पनि योजना सार्वजनिक गरेको छैन । अहिले २९ बाणिज्य बैंक संचालनमा छन् ।

१२ बाणिज्य बैंकहरुले गरी चालु आर्थिक बर्षमा नै १५ अर्ब ५१ करोड ८५ लाख रुपैयाँ बराबरको हकप्रद निस्कासन गर्ने योजना सार्वजनिक गरेका छन् । यसको अर्थ ती बैंकका सेयरधनीले थप सो परिमाणको रकम लगानी गर्नुपर्ने देखिएको पनि हो ।

पूजी बृद्धि योजनामा बैंक अफ काडमाडू (विओके) ले चालु आर्थिक बर्षमा नै २ अर्ब ६७ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निस्कासन गर्ने जानकारी गराएको छ । सो बैंक अर्काे बाणिज्य बैंक लुम्बिनीसँग मर्जर प्रक्रियामा छ । मर्जरका वाबजुत पनि हकप्रद निस्कासन गर्ने योजना विओकेको छ ।

यस्तै अर्काे बाणिज्य बैंक सेन्चुरीले चालु आर्थिक बर्षमा नै १ अर्ब ३८ करोड २२ लाख ४० हजार रुपैयाँ बराबरको हकप्रद निस्कासन गर्ने योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको योजनामा चाल आर्थिक बर्षमा नै हकप्रद १ योजनामा ५३ करोड तथा हकप्रद २ योजनामा ८५ करोड २२ लाख ४० हजार रुपैयाँ बराबरको हकप्रद निस्कासन गर्ने भनिएको छ ।

हिमालयन बैंकले ६४ करोड २७ लाख ३५ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निस्कासन गर्ने भएको छ । हकप्रद निस्कासनकै लागि बैंकले ऋणपत्र जारी गर्ने पुरानो योजना स्थगित गरेको छ । ऋणपत्र जारी गर्नको लागि धितोपत्र वोर्डमा बुझाएको शुल्क फिर्ता माग्दै बैंकले हकप्रद जारी गर्नुपर्ने भएकोले शुल्क समेत फिर्ता दिन माग गरेको छ । यो विषय अझै पनि बोर्डमा विचाराधिन छ ।

लक्ष्मी बैंकले ३ अर्ब ३ करोड ९२ लाख २९ हजार रुपैयाँ बराबरको हकप्रद चालु आर्थिक बर्षमा नै जारी गर्ने योजना सार्वजनिक गरेको छ । यस्तै माछापुच्छ्रे बैंकले ३८ करोड रुपैयाँ बराबरको हकप्रद निस्कासन गर्ने भएको छ । सो बैंक जनता बैंकसँग मर्जरको प्रक्रियामा छ । मर्जरको बावजुद पनि सो बैंकले हकप्रद निस्कासन गर्न लागेको हो ।

मेगा बैंकले ९९ करोड ४० लाख रुपैयाँ बराबरको हकप्रद निस्कासन गर्ने भएको छ । मर्जरकै कारण मेगाको सेयर भने लामो समयदेखि कारोवार हुन सकेको छैन । यस्तै एनआइसी एशिया बैंकले ९२ करोड ४० लाख रुपैयाँ बराबरको हकप्रद निस्कासन गर्ने भएको छ ।

प्रभु बैंकले ६४ करोड १७ लाख ७७ हजार रुपैयाँ बराबरको हकप्रद निस्कासन गर्ने भएको छ । भर्खरै मात्र ग्राण्ड बैंकसँग मर्जर गरेको प्रभुले चालु आर्थिक बर्षभित्रमै सो रकम बराबरको हकप्रद निस्कासन गर्ने योजना सार्वजनिक गरेको छ । यो सेयर तत्कालिन प्रभु बैंकका सेयरधनीले मात्र लिन पाउनेछन् । यस्तै प्राइम कमर्शियल बैंकले १ अर्ब २४ करोड ५५ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको छ ।

यता सानिमा बैंकले भने १ अर्ब ५३ करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्ने तयारी गरेको छ । यस्तै सनराइज बैंकले ३६ करोड ९० लाख ४७ हजार रुपैयाँ बराबरको हकप्रद जारी गर्ने योजना सार्वजनिक गरेको छ । सिटिजन्स बैंक इन्टरनेसनलले भने १ अर्ब ७० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निस्कासन गर्ने जानकारी गराएको छ । केही बाणिज्य बैंकहरुको भने आगामी आर्थिक बर्षमा र केहीको आगामी आर्थिक बर्षमा पनि हकप्रद जारी गर्ने योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.