२०७२ चैत २९ गते १३:०० विकासन्युज
करिव चार महिनादेखि लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समाल्नु भएको नूरप्रकाश प्रधान करिव ३५ वर्षदेखि बीमा क्षेत्रमा क्रियाशिल हुनुहुुन्छ । उहाँले सन १९८० देखि ९ वर्ष भारतीय कम्पनी नेशनल इन्स्योरेन्समा काम गर्नुभएको थियो । त्यसपछि नेपाली कम्पनी नेशनल लाईफ एण्ड जनरल इन्स्योरेन्स र त्यसबाट नै जन्मिएको एनएलजी इन्स्योरेनस कम्पनीमा करिब २७ वर्ष काम गरेको अनुभव छ उहाँसँग । तर फष्ट म्यान भएर जिम्मेवारी लिएको भने लुम्बिनीमा नै पहिलो पटक हो । उहाँले कसरी कम्पनी चलाउदै हुनुहुन्छ ? के छन् उहाँका योजना ? प्रस्तुत छ यिनै विषयमा केन्द्रीत भएर उहाँसँग गरिएको विकास वहस । [divider]
पहिलो पटक कम्पनीमा फस्ट म्यानको जिम्मेवारी लिनु भएको छ, कसरी समाल्दै हुनुहुन्छ कम्पनीलाई ?
मैले पहिले पनि फस्टम्यानको जिम्मेवारी बोध गरिसकेको थिएँ । नेशनल लाईफ एण्ड जेनेरलमा हुँदा एक्टिङ सिइओको भूमिका पनि निर्वाह गरिसकेको थिएँ । कहाँ कहाँ समस्या हुन सक्छन ? कसरी सुधार्ने भन्ने राम्रो अनुभव छ । ३५ वर्ष बीमा क्षेत्रमा काम गरिसकेको छु । मैले यस कम्पनीमा जिम्मेवारी लिएको चार महिना वित्दैछ । यसअवधिमा कम्पनीमा केहि सुधार देखिसकिएको छ । अझै सुधार गर्दै जाने योजना छन् । कम्पनीलाई सहि ढंगले अघि बढाएर नयाँ उचाईमा पुर्याउँछु भन्ने विश्वास छ ।
के के सुधार गर्नु भयो अहिलेसम्म ?
इन्स्योरेन्स सर्भिस भनेको दावी भुक्तानी सल्टाउने कुरा हो । दावी भुक्तानीमा व्यापक सुधार आएको छ । पुरानादेखि नयाँ दावी पनि भुक्तानी भैरहेको छ । बीमा समितिसम्म पुगेका जोडिएको कतिपय मुद्दा सल्टिएका छन् ।
अहिलेको समयमा भूकम्पपछिको दावी भुक्तानी महत्वपूर्ण कुरा हुन आउँछ । भूकम्पबाट भएको क्षतिसँग सम्वन्धित दावीहरु मध्ये रकमका आधारमा ७० प्रतिशत र संख्याका आधारमा ९४ प्रतिशत दावी भुक्तानी गरिसकेका छौं । केहि केश भने सर्भेयरको रिपोर्टमै चित्त नबुझाउने क्लाईन्ट पनि छन् । केहि हाइड्रोको दावीमा पनि समस्या छ । उनीहरुसँग सम्वन्धित दावी भुक्तानीलाई पनि छिट्टै सल्ट्याउने छौं ।
बीमितको असन्तुष्ठि कहाँ हुने रहेछ ?
मुख्यत: दुई प्रकारको पोलिसी हुन्छन् । हाउस होल्ड र फायर पोलिसी हुन्छ । स्ट्याण्डर्ड फायर पोलिसी अन्तर्गत २ दशमलब ५ प्रतिशत एक्सेस काट्ने भन्ने हुन्छ । कतिपय बीमितलाई यो थाहा हुन्न । रकम घट्यो भनेर कराउँछन् । अर्काे कुरा भनेको सबै सर्भेयर पनि एक नाशका हुँदैनन् । घर भत्किने भनेको सिभिल समूहको काम हो । तर सर्भेयरका रुपमा आउने मेकानिलक सेक्टरका सर्भेयरले समस्या पार्छन् । पीडितलाई अलि राहत नै होस भनेर सर्भेयरले रिपोर्ट बनाउँछन् । त्यसलाई सुधारियो भने पनि चित्त दुखाउँछन् । ठेकेदारी प्रथामा गुणस्तरको कुरा पनि आउँछ । सबै भार इस्योरेन्स कम्पनीले नै व्यहोर्नु पर्छ भन्ने मान्यता राख्छन् । हामीले ९० प्रतिशत जोखिम बहन गर्दा १० प्रतिशत भार त वहन गर्नु पर्यो नि । यस्ता कारणहरुले असन्तुष्ठि देखिन्छ ।
भूकम्पपछि लुम्बिनीमा परेको दावी कति हो ?
सुरुमा ४२ करोडको दावी परेको थियो । त्यो अनुमानका भरमा गरिएको दावी थियो । पछि त्यो दावी रकम २८ करोड रुपैयाँमा झरेको छ । त्यसमा २० करोड भन्दा बढी सेटल भैसक्यो । बाँकी पनि सेटलको चरणमा छन् । ६ सात करोड त दावी गर्नै नपर्ने अवस्थाका थिए । साधारण चर्किएकाहरुको पनि दावी गरिएको थियो । केहिले दोहारो आवेदन पनि दिएका थिए ।
चालु आर्थिक वर्षमा यस कम्पनीमा बिजनेश घटेको देखियो नि, किन ?
यसअघि कम्पनीको सिईओ र मार्केटिङको टिमले छोडेर जाँदा पनि केहि असर गरेको छ । यस कम्पनीको बिजनेश तराईमा बढी भएकोले लामो तराई बन्द भएकाले पनि असर गर्यो । नाका बन्दीका कारण बिजनेशमा ग्रोथ देखाउन सकिएन । अलिकति अण्डराईटिङ सेलेक्सन पनि खोज्यौं । त्यसले पनि केहि असर गर्यो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा भन्दा दोश्रो त्रैमासमा बिजनेश ग्रोथ राम्रै भैरहेको छ । चैत मसान्तको रिपोर्ट राम्रो आउँदैछ । असार मसान्तसम्ममा कम्पनीको विजनेश ग्रोथ राम्रो देखिनेछ । कम्पनीमा सबै डेडिकेटिड, मोटिभेटिड हुनुहुन्छ । भर्खरै तालिम पनि दिएका छौं । सबै सक्षम र जुझारुहरुको समुहसँग काम गर्ने प्रयास गरिरहेको छु ।
भूकम्पपछि बीमामा आकर्षण बढेको छ, तर लुम्बिनीमा त्यस्तो आकर्षण देखिएन किन ?
बीमा बजार औषतमा १५ प्रतिशतले बढेको छ । हामीले त्यसलाई पूर्णरुपले क्यास गर्न सकेका छैनौं । पुस मसान्तपछि हाम्रो पनि मार्केट बढेको छ । र त्यो अझै बढ्ने क्रममै छ ।
लामो समय उच्चतहको व्यवस्थान समूह खाली भएकाले पनि मार्केट ग्रोथ नभएको जस्तो देखिन्छ, तपाईका योजना के छन ?
मुलतः बीमा कम्पनीको सेवा छिटो, छरिटो र विश्वसनिय बनाउन जोड दिने हो । बजारले चाहने पनि त्यहि नै हो । व्यवसायिकता अभिवृद्धि अर्काे महत्वपूर्ण पाटो हो । लगानी कर्तादेखि सेवाग्राहीलाई समेत सन्तुष्ठि दिनु पर्र्नेछ । दावी भुक्तानीलाई छिटोछरितो बनाउने, कर्मचारीको दक्षता अभिवृद्धि गर्र्ने, बजार बढाउने, नाफा बढाउने, कार्यक्षेत्र बढाउने, प्रडक्ट नयाँ ल्याउने जस्ता योजनासहित अघि बढिरहेको छु । कम्पनीको पुँजीको साइजको तुलनामा बिजनेश पर्याप्त छैन । तैपनि चार बर्षभित्र कम्पनीलाई राम्रो पहिचान दिने योजना छ । मैले कम्पनी छाड्दा नयाँ उचाई दिन चाहान्छु । लुम्बिनीको ब्राण्ड बलियो बनाउने लक्ष्य छ ।
लुम्बिनीले लगातार बोनस सेयर दिईरहेको छ, तर तपाई आफैं भन्दै हुनुहुन्छ, पुँजी अनुसारको बिजनेश छैन, कसरी ?
यो त रेगुलेटरी बडीको कारण हो । बीमा समितिले पुँजी बढाउने तयारी गरिरहेको छ । नगद लाभांश नदिनु भनिरहेको पनि छ । छिटो भन्दा छिटो पुँजी बढाउँदै लैजानु पर्छ भन्ने बीमा समितिको आसय हो । त्यसैले नगद लाभांश नदिएर लागतार बोनस सेयर दिँदै आएका हौं ।
पुँजी वृद्धि कम्पनीको आवश्यकता भन्दा पनि नियामक निकायले दिएको निर्देशन कार्यान्वयन गराउने बाध्यता मात्रै हो त ?
बीमा कम्पनीहरुको पुँजी बढाएर जोखिम बहन क्षमता बढाउने उदेश्य नियामक निकायको देखिन्छ । नेपालका बीमा कम्पनीहरु सक्षम होउन, प्रतिष्पर्धी होउन भन्ने सोँच राम्रो हो । तर यहाँको मार्केटको ग्रोथ रेटलाई पनि हेर्नु पर्छ । आर्थिक विकास, आर्थिक वृद्धिदरको स्पीडलाई हेरेर पुँजी बढाइनु पर्छ । आर्थिक विकास नभएसम्म बीमा कम्पनीहरुको प्रीमियहरु बढ्दैन् । हामीले बाली बीमाको कुरा गरेका छौं, तर मल हामी उत्पादन गर्न सक्दैनौं । बिउबिजन पनि हाम्रो आफ्नो छैन् । समयमा पानी पाईन्न । अनि कसरी हुन्छ ?
बीमा समितिले नन लाईफ इन्स्योरेन्स कम्पनीको पुँजी दुई सय करोड पुर्याउने तयारी गरेको देखिन्छ, तपाईहरु त भर्खर ३३ करोड पुँजीमा हुनुहुन्छ, कसरी अघि बढ्ने ?
हामीले बीमा समितिकै निर्देशनहरु पालना गर्दै जाने हो । बजार कतिको बढछ ? बिजनेश कति ग्रोथ हुन्छ ? त्यसलाई हेर्नु पर्छ । अहिले उद्योग बन्द छन् । प्रिमियम तिर्न गाह्रो छ, देशको आवश्यकता र आर्थिक विकासका आधारमा पुँजी निर्धारण हुन्छ होला ।
हाम्रो पहिलो सोँच भनेको कमाएरै पुँजी पुर्याउने भन्ने हो । देशको अवस्थाले कति साथ दिन्छ हेर्नुपर्छ । दोश्रो प्राथमिकता भनेको पुँजी थप्ने भन्ने नै हो । तेश्रो अप्सन भनेको मर्जमा जाने हो ।
कम्पनीका लगानीकर्ताहरुको भनाई के छ ?
लगानीकर्ताले पनि रिटर्न खोज्छन् । पुँजी मात्रै धेरै थपेर पनि हुन्न । देशको आर्थिक ग्रोथका आधारमा कसरी अघि बढ्ने भन्नेबारे उहाँहरुबीच पनि छलफल भैरहेको छ ।
भूकम्पले बीमा कम्पनीहरुलाई ठूलो क्षति पुर्याएको अनुमान थियो तर राम्रै रिटर्न दिएको देखिन्छ ? आगामी दिनमा लगानीकर्ताले कस्तो प्रतिफल पाउलान् ?
भूकम्प आएर इन्स्योरेन्स कम्पनीलाई फाइदा भयो भन्ने होइन् । १२ देखि १३ प्रतिशतको रिटर्न राम्रो होइन । भूकम्पले जति क्षति गरायो त्यसको क्षति पुनर्बिमाले व्यहोरेकाले कम्पनीहरुलाई खासै असर नगरेको हो । इन्स्योरेन्स कम्पनी भनेको समाजिक उद्योग हो । कुनै ठुलो दुर्घटना भएन भने रिटर्न राम्रै होला ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.