२०७३ वैशाख १९ गते ११:४५ विकासन्युज
एभरेष्ट फेसन विगत ४ वर्षदेखि लगातार सबैभन्दा बढी निर्यात गर्ने कम्पनीको रुपमा उत्कृष्ट निर्यातकर्ताको सम्मान पाउँदै आएको छ । २० वर्षअघि १० हजार रुपैयाँ लगानी गरेर शुरु गरेको घरेलु हस्ताकला उद्योगले हाल वार्षिक ३० लाख डलर बराबरको बस्तु यूरोप, अमेरिका, जापान जस्ता विकसित देशमा निर्यात गर्दै आएको छ । एउटा परिवारका ५ जना सदस्यले काम गर्दै अगाडि बढाएको यो कम्पनीमा हाल दुई हजार भन्दा बढीले काम गर्छन् ।
उक्त कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व गरिरहनु भएको महेश्वर श्रेष्ठले तत्कालिन राष्ट्रपति रामबरण यादवबाट सीआईपी ( कमर्शियल इम्पोटेन्ट पर्सन) सम्मान समेत पाईसक्नु भएको छ । डिप्लोमा इन इञ्जिनियर पढेपछि हस्तकला क्षेत्रमा लाग्नु भएको श्रेष्ठले कसरी उद्योग चलाउनु भएको छ ? सफलताको सुत्रहरु के हुन् ? प्रस्तुत छ उहाँसँग विकासन्यूजका लागि रामकृष्ण पौडेल र नारायण पौडेलले गर्नु भएको कुराकानी ।
[divider]
एभरेष्ट फेसनको सुरुवात कहिले र कसरी भएको हो ?
आज भन्दा २० बर्ष पहिले अर्थात सन् १९९६ मा १० हजार रुपैयाँ लगानीबाट एभरेष्ट फेसनको सुरुवात गरेको हुँ । त्यतिबेला १५० युएस डलरबाट काम थालेको थिएँ । त्यतिबेला भाई, दिदीबहिनी गरि हामी ६ जना जति थियौं । आफैं बनाउँथ्यौं र बेच्थ्यौं पनि । काम राम्रो हुँदै गयो । सन् २००३ मा बहिनीसँग ५० हजार सापट लिएर लगानी थपेको थिएँ । त्यसपछि पनि राम्रो हुँदै आएको छ । कम्पनी स्थापना गरेदेखि पछाडि फर्केर हेर्नु परेको छैन ।
अहिले कम्पनीको अवस्था कस्तो छ ?
कम्पनी राम्रो छ । अहिले हामीसँग टौखेल र सातदोबाटोमा दुई वटा कारखाना छन् । वार्षिक करिव ३० लाख डलरको सामान निर्यात गछौं । हाम्रा सबै समान हातबाटै बनाउनु पर्ने भएकाले धेरै कामदार लाग्छन् । करिब साढे चार सय जनाले कम्पनीमा प्रत्यक्ष रोजगारी पाएका छन् । हामीले धेरै कामदार आउट सोर्सिङबाट लिन्छौं । दुईटा फ्याक्टीमा कम्पनीमा करिव दुई हजार जनालाई रोजगारी दिएका छौं । हाम्रोमा अधिकांश कर्मचारी महिला छन् । समान बोक्न २२ देखि २३ जना मात्रै पुरुष कामदार छन् । बाँकी सबै महिला हुन् ।
यस कम्पनीका काम गर्नेले कति कमाउँछन् ?
मासिक न्युनतम १५ हजार देखि ४० हजारसम्म आम्दानी गर्छन् । उनीहरु परिवारप्रति निर्भर हुनु परेको छैन । समाजमा आफ्नै अस्थित्व निर्माण गरिरहेका छन् । बिहान साढे ९ देखि साढे पाँच बजेसम्म आठ घण्टा काम गर्नुपर्छ ।
हामी कहाँ तीन थरीका कामदार छन् । पहिलो भनेको पर्मानेन्ट कामदार, उनीहरु व्यवस्थापन र गुणस्तरको काम गर्छन । केहिले दैनिक ज्यालाका दरले काम गर्छन । र अर्काे समूहले परिणामको आधारमा काम गर्छन् । उनीहरुले जति काम गरेको हो त्यसकै आधारमा तलब पाउँछन् । मासिक भुक्तानीको व्यवस्था गरेका छौं ।
हामीले पछिल्लो आठदश वर्षदेखि निरन्तर पुरस्कारहरु पाउँदै आईरहेका छौं । सबैभन्दा ठूलो निर्यातकर्ताका रुपमा विगत चार वर्षदेखि निरन्तर पुरस्कृत हुँदै आईरहेका छौं । हस्तकलामा नेपालमै पहिलो आइएसओ सर्टिफाइड कम्पनी हाम्रै हो । नेपालमा पहिलो पटक अमेरिकाको फेयर ट्रेड सर्टिफिकेट पाउने कम्पनी हाम्रै हो ।
उत्पादनमा गुणस्तर नियन्त्रणको प्रबन्ध कसरी गर्नु भएको छ ?
हामी स्वदेशी बजारमा केही पनि बेच्दैनौं । हाम्रा शतप्रतिशत उत्पादन निर्यात हुन्छन् । अमेरिकामा दैनिक सात लाख कन्टेनर समान प्रवेश गर्छन् । त्यो सबै कन्टेनर सीमामा चेकजाँच हुँदैनन् । विज्ञहरुको समुह हुन्छ, त्यसले समान आउने मुलुकमै क्वालीटीदेखि सबै कुराको निरीक्षण गरेका हुन्छन् । हाम्रा उत्पादनहरुको पनि उनीहरुले यहिँ आएर चेक जाँच गर्छन् । सोसियल कम्प्लायन्स समेत हेर्छन् । कामदारको अवस्था, स्वास्थ्य, समाजिक अवस्था, काम गर्ने ठाउँको गहन अध्ययन गरेपछि मात्रै उनीहरुले समान अर्डर गर्छन् ।
सोसियल कम्प्लायन्सको व्यवस्थापन कसरी गरिरहुनु भएको छ ? यसका आधार के के हुन् ?
नेपालमा सोसियल कम्प्लायन्स थोरैले मिट गर्छन । सोसियल कम्प्लाइन्स अन्तरगत एउटा कामदारको समग्र जीवन, उद्योग व्यवस्थापन, समाजप्रतिको उत्तरदायीत्व, कामदारको भविष्य सबै कुरा जोडिएर आउँछ ।
कम्पनीको गेटदेखि नै सोसियल कम्प्लायन्स जोडिन्छ । कामदारको स्वास्थ्य, अफिस व्यवस्थापन, काम गर्ने स्थलको अवस्था, बिदा सुबिधा, समयमै तलब दिएको छ वा छैन्, बीमा गरिएको छ वा छैन । आपतकालिन सुरक्षाको प्रबन्ध लगायतका पक्षलाई जोडेर सोसियल कम्प्लायन्स जोडिन्छ । सोसियल कम्प्लायन्स पास नगरी हाम्रा समान बेचेर विदेशीले सुनकै ढिक्का कमाउने रैछन भने पनि मान्दैनन् । बाल श्रम भनेको त धेरै पुरानो कुरा भैसक्यो । ओभर टाईमको काममा डेढ गुणा रकम दिएकै हुनुपर्छ ।
एउटा सानो सामान बनाउन पनि चार पाँच घण्टा लाग्न सक्छ । नेपालले सबै आयातलाई नै प्राथमिकता दिँदै आएको छ । यस्तो अवस्थामा हामीले वार्षिक ३ अर्बको निर्यात गर्दै आएका छौं । हामीले दशौं हजार प्रकारका समान बनाउँछौं । कार्पेटदेखि वाल आर्टसम्म बनाउँछौं । क्रिसमसका लागि अर्नामेण्ट समान बनाउँछौं ।
फेल्ट के हो ? यसको कच्च पदार्थ कहाँबाट आउँछ ? तपाईको तयार गर्ने बस्तुमा कति प्रतिशत भ्यालु एड हुन्छ ?
भेडाको ऊनबाट बन्न कपडा, खेलौना, सजावटका सामान, यूटिलिटीका सामान सबैलाई फेल्ट भनिन्छ । पहिला ऊन भनिन्थ्यो, अहिले सन् २००१ पछि फेल्ट भन्न थालियो । नेपालको व्यवसायिक रुपमा भेडा पालन, ऊन उत्पादन हुन सकेको छैन । हामीले बनाउने फेल्टको कच्चा पदार्थ न्यूजिल्याण्डबाट आयात हुन्छ । न्यूजिल्याण्डबाट कच्चा पदार्थ ल्याएर सामान तयार गरी फेरी न्यूजील्याण्ड नै निर्यात गर्छाै । ७० प्रतिशतसम्म भ्याल्यु एडिसन हुन्छ । अधिकतम त ८५ प्रतिशतसम्म भ्याल्यु एडिसन हुन्छ । हामीले तयार पार्ने सामानमा ८० प्रतिशतसम्म उत्पादन हाम्रै हुन्छ । खाली कच्चा पदार्थ मात्रै आयात गर्ने हो ।
फेल्टका उत्पादनको आन्तरिक बजारको अवस्था कस्तो छ ?
हाम्रा शतप्रतिशत समान निर्यात हुन्छन् । आन्तरिक बजारमा माग नै छैन । फेरी हस्तकला भनेको निर्यातजन्य उद्योगको पनि उच्च सम्भावनाको क्षेत्र हो । त्यसकारण पनि आन्तरिक बजारमा हामीले ध्यान दिएका छैनौं । आन्तरिक बजारका लागि उत्पादन गर्न आवश्यक जनशक्ति पनि छैन ।
नेपालमा कामदारकै अभाव छ । हाम्रो अफिसबाटै ३० जना जति विदेशीएका छन् । कामदारको अभाव ठूलो छ । अझै दुई चार हजारलाई जागिर दिन सकिन्छ । तर जागिर खाईरहेकाहरु नै छोडेर खाडी जान हतारिएका देखिन्छन् । खाडीमा २५ हजार कमाउनु र नेपालमा १० हजार कमाउनु उस्तै हो तर पनि विदेशीने क्रम बढेकै छ ।
नेपाली उत्पादनको नक्कल गरेर विदेशीले उत्पादन गर्ने, निर्यात गर्ने र नेपाली उद्योगलाई संकटमा पार्ने काम विगतमा भए । कार्पेट, गार्मेण्ट लगायतका क्षेत्रमा यो समस्या नेपालले भोगिसक्यो । फेल्टको क्षेत्रमा यस्तो समस्या आउने जोखिम कति छ ?
नेपालकै उत्पादनहरुको नक्कल गरेर चीनले उत्पादन सुरु गरिसकेको छ । भारतले पनि हाम्रो सिको गरिरहेको छ । हाम्रो राज्यले निर्यात प्रवद्र्धनमा प्रोत्साहन गरेन् । भूकम्प गयो, ठूलो क्षति भयो । हाम्रो पनि धेरै कर्मचारीका घर भत्किए । मैले घर पूर्ण रुपले क्षति भएका कर्मचारीलाई एक लाख ५० हजार रुपैयाँ दिए । भूकम्प पीडितलाई राहात दिन हाम्रा ग्राहक तयार भए ।
तर भूकम्पले भन्दा नाकाबन्दीले चार गुणा बढि क्षति भएको छ । नाकाबन्दी, राजनीतिक आन्दोलनबाट सिर्जित समस्याप्रति उनीहरु साहानुभूति राख्दैनन् । उनीहरुलाई केबल समान चाहिन्छ । हामीले १० लाखमा बेचेको समान भनेको उनीहरुको ५० लाखको व्यापार हो । उनीहरुले घाटाको व्यापार गर्दैनन् । उनीहरुलाई संसार भरका उत्पादकहरुले पछ्याईरहेका हुन्छन् । हामीले समयमा समान पठाउन सकेनौं भने चीन, भारत लगायतका धेरै देशका उत्पादक तयार भएर बसेका हुन्छन् । हामीले धेरै चनाखो भएर काम गर्नु परेको छ । तोकिएको समयभन्दा दुई घण्टा ढिला हुँदा ४ करोड रुपैयाँ बराबरको सामान फिर्ता भएको छ मेरो साथीको । बन्द हड्तालले निर्यातजन्य उद्योगलाई ठूलो क्षति पुगेको छ । यस्तो समस्या हाम्रो स्तरबाट मात्रै समाधान गर्न सकिन्न । सरकार आफैंले अग्रसरता लिनु पर्छ । हाम्रा उत्पादनको विदेशीले नक्कल गर्न नसक्ने व्यवस्था गर्ने जिम्मेवारी राज्यको पनि हो ।
उत्पादनमा आन्तरिक प्रतिष्पर्धाको अवस्था कस्तो छ ?
आन्तरिक प्रतिष्पर्धा वृद्धि हुनु भनेको उद्योगका लागि साह्रै खुसीको कुरा हो । त्यसले उद्यमशिलता र औद्योगीकरण अभिवृद्धि गराउँछ । हामीसँग काम गरेका करिब ४० जनाले आफ्नै उद्योग सञ्चालन गरिसकेका छन् । यसले हस्तकला क्षेत्रको वृद्धि विकासमै टेवा पुर्याएको छ । मैले पनि अर्कै कम्पनीमा काम गरेर सिकेको हुँ । शिप शिकेर आफैं उद्यमी बन्ने संस्कारको विकास गर्न सकियो भने त देश उभोँ लागिहाल्छ नी ।
एभरेष्ट फेसनले उत्पादन, व्यापार र निर्यात कुन कुन काम गर्छ ?
हामीले मुख्यतः उत्पादन र निर्यात गर्दै आएका छौं । व्यापार खासै गर्दैनौं ।
लगानी कति पुर्याउनु भयो ?
१२ करोड रुपैयाँ बराबरको लगानी छ । एभरेष्ट बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंकबाट ऋण लिएका छौं ।
उद्योग निरन्तर नाफामा छ वा कहिले काही घाटामा पनि गएको छ ?
२० बर्षदेखि कहिल्यै घाटा खाएको छैन । घाटा भयो भने उद्योगबाट रिटायर्ड हुन्छु । तर त्यस्तो दिन आउँदैन होला ।
परिवार मिलेर खोल्नु भएको यो उद्योगमा अहिले क–कसले सघाउनु हुन्छ ?
म, दिदी भिनाजु, भाईहरु सबैले मिलेर व्यवस्थापन गर्दै आएका छौं । २ हजार जनालाई व्यवस्थापन गर्ने कुरा आफैंमा चुनौतिपूर्ण हुन्छ । हाम्रा अरु पनि केहि कम्पनीहरु रहेका छन् । ती कम्पनीहरु भाई दिदी र बहिनीहरुको नाममा सञ्चालनमा छन् । अरु साथीहरुसँग मिलेर ललितपुरको हरिसिद्धीमा नेपाल क्यान्सर .हस्पिटल पनि सुरु गरेका छौं । यो हस्पिटल नाफा कमाउन भन्दा पनि सेवा गर्न खोलेका हौ ।
नयाँ डिजाइनको काम कसरी गर्नुहुन्छ ?
नेपालीको दिमाग भनेको क्रियटिभ छ, हामीसँग इण्डियन र चाइनीजको भन्दा उत्कृष्ठ दिमाग छ । युरोप र अमेरिकाको डिजाइनलाई तुरुन्तै नेपाली शिप अनुसार ढाल्न सक्ने क्षमता छ नेपालीसँग ।
हामीसँग ५ देखि ७ वटा युनिट हुन्छन् । तीमध्ये डिजाईन युनिट पनि एक हो । यहाँ चाँही दिदीबहिनीहरुले नयाँ डिजाइन बनाउने अभ्यास गर्छन् ।
अर्डर प्रशस्तै आउँछ ?
अर्डर मात्रै आएर हुन्न । उत्पादन गर्ने र समयमै पठाउने कुरा महत्वपूर्ण हो । उनीहरुले १५ दिन भित्र बेचिसक्नु पर्नेछ । अक्टोबरको अन्तिमदेखि नोभेम्बर भित्र सबै समान बेचिसक्नुपर्छ । उनीहरुले भनेकै समयभित्र हामीले समान त्यहाँ पुर्याईदिनु पर्छ ।
हवाई जहाजबाट पठाउने हो भने एक हप्तामा पुर्याउन सकिन्छ । साना समान मात्रै हवाई जहाजबाट पठाउने हो । ठूला समान पानी जहाजबाट पठाउनु पर्छ । कोलकत्ता पुर्याउन नै १५ दिन लाग्छ । कोलकत्ताबाट सम्बन्धीत मुलुकमा पुग्न ४५ दिन लाग्छ । हामीले तयार पारेको समान सम्बन्धित देशमा पुर्याउन कम्तिमा २ महिना लाग्छ ।
अमेरिकाले उपलब्ध गराएको ड्युटी फ्रि एक्सेसको सदुपयोगका लागि के के गर्नु पर्ला ?
हामीले २० बर्षदेखि आफैं केहि गर्दै आएका छौं । हाम्रो उद्योेगको प्रगति र निर्यातका लागि सरकारले कुनै सहयोग गरेको छैन् । अब पनि सरकारले कुनै सहयोग गर्छ भन्ने लागेको छैन् । खाली सहजीकरण गरिदिए पुग्छ, बन्द हड्ताल, उर्जाको अभाव सरकारले हटायो भने हामी जति पनि निर्यात गर्न सक्छौं ।
हस्तकलाको प्रवद्र्धनमा हस्तकला महासंघको भूमिका कस्तो छ ?
हाम्रो उद्योगको प्रवद्र्धनका लागि हस्तकला महासंघको ठुलो योगदान छ । हामीले जे जति सफलता पाएका छौं, त्यो सबैको श्रेय हस्तकला महासंघलाई नै जान्छ । निर्यात नभएसम्म देशको विकास हुन्न । एफएनसिसिआई र चेम्बर अफ कमर्शहरु आयातमा केन्द्रित संस्था हुन् । हस्तकला महासंघ भनेको निर्यातका लागि मात्रै काम गर्ने संस्था हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.