२०७३ असार २९ गते ११:४३ विकासन्युज
काठमाडौं, २९ असार । नेपाल धितोपत्र बोर्डले २०७२ साल माघ १३ गते नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई पत्र लेखेर ढिलोमा बैशाख १ गते भित्र क्लियरिङ बैंकको सख्या कम्तिमा ३ वटा पुर्याउन निर्देशन दिएको थियो । तर बोर्डले निर्देशन दिएको ६ महिना कटिसक्दा समेत अझै क्लियरिङ बैंकको संख्या थपिएको छैन् ।
‘बोर्डले ढिलोमा बैशाख १ गतेभित्र कम्तिमा ३ वटा क्लियरिङ बैंकको व्यवस्था गर्न निर्देशन दिएको थियो, अहिले भने प्रक्रिया अघि बढ्यो भन्ने खबर आएको छ’, नेपाल धितो पत्र बोर्डका प्रवक्ता निरज गिरिले विकासन्युजसँग भने ।
उता, सिडिएस एण्ड क्लियरिङ लिमिटेडका सिइओ देवप्रकाश गुप्ताले भने क्लियरिङ बैंक थप्ने प्रक्रिया धेरै अघि बढिसकेको बताए । ‘हामीले आफ्नो एन्युवल मेन्टिनेन्स एग्रिमेन्ट भर्खरै सम्पन्न गरेका छौं, अब क्लियरिङ बैंक थप्ने प्रक्रिया अघि बढेको छ, छिट्टै नयाँ क्लियरिङ बैंकको संख्या थपिन्छ’, सिडिएसका सिइओ गुप्ताले भने ।
हाल ग्लोबल आइएमई बैंकले मात्रै क्लियरिङ बैंकको काम गर्दै आएको छ । दैनिक हुने करिब दुुई अर्बको सेयर कारोबारको चेक राफसाफ प्रक्रिया ढिलो भएको भन्दै बोर्डले क्लियरिङ बैंकको संख्या थप्न निर्देशन दिएको थियो ।
सेयर बजार बिश्लेषक रविन्द्र भट्टराईले भने क्लियरिङ बैंकको संख्या बढाउन ढिलाई गर्नु नेप्से र सिडिएसको गैर जिम्मेवारीपन भएको बताए । लगानी कर्ताको हितका पक्षमा आफ्नो निर्णय कार्यान्वयन गराउन नसक्ने धितोपत्र बोर्ड पनि लाचार बनेको आरोप समेत भट्टराईले लगाए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.