चिनियाँ राष्ट्रपतिको भ्रमण रोक्न सरकार ढाल्ने खेलः मन्त्री राई

  २०७३ साउन ६ गते ९:४९     विकासन्युज

भक्तपुर, ६ साउन । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण नगराउने षडयन्त्रले वर्तमान सरकार विघटन गराउन माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिएको बताएको छ । रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणपछि नेपालको कायापलट हुने डरले नेपाली काँग्रेस र माओवादी केन्द्रले वर्तमान सरकार विघटन गराउन खोजेको आरोप लगाए ।

काँग्रेस र माओवादीले गलत नियतले अँध्यारो कोठामा बसेर गरेको सम्झौताले सकारात्मक परिणाम नल्याउने दाबी गर्दै उनले यो गठबन्धन नेपाल र नेपालीको हितमा नभएको जिकिर गरेका छन्। वर्तमान समयमा सभामुखले संसद्मा आफ्नो भूमिका निष्पक्ष राख्न नसक्दा राजनीतिक दलहरुबीच झडपको स्थिति उत्पन्न भएको बताउँदै उनले सभामुखका कारण संसद्को मर्यादामा समेत प्रश्न उठेको उल्लेख गरेका छन् ।

संसद्मा सभामुखले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने भए तापनि हाल उनको भूमिकालाई नियाल्ने हो भने निष्पक्ष नरहेको उनको भनाइ थियो । वर्तमान सरकारले ल्याएको नीति र कार्यक्रम अब बन्ने सरकारले जस्ताको त्यस्तै कार्यान्वयन गर्ने मन्त्री राईको भनाइ छ । सरकारको नीति तथा कार्यक्रम दुई करोड ८० लाख नेपाली जनताले अनुमोदन गरिसकेकाले यसलाई कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।

आर्थिक विधेयक पारित गरेर मात्रै संसद्मा सरकारविरुद्ध अविश्वासको प्रस्तावमा छलफल हुनुपर्ने एमालेको अडान रहेको बताउँदै उनले यसो नगरी बलजफ्ती गर्न खोजे अविश्वासको प्रस्तावमाथि छलफल नहुने बताए । वर्तमान सरकारले सञ्चार क्षेत्रमा देखिएका विभिन्न अवरोधलाई नियन्त्रण गर्दै सञ्चार नीति सार्वजनिक गरेको र यसले सञ्चार क्षेत्रको विकासमा अहम् भूमिका निर्वाह गर्ने भएकाले जस्ताको तस्तै कार्यान्वयन गरिनुपर्नेमा उनले जोड दिए। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.