कालीगण्डकीको सतह बढेपछि सेतीवेणी बजारका ५० पसल डुबानमा

  २०७३ साउन ११ गते ७:३६     विकासन्युज

पर्वत, ११ साउन । सोमबार दिउँसोदेखि अविरल परेको वर्षाका कारण कालीगण्डकी नदीको सतह बढ्दा पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा अवस्थित सेतीवेणी बजार डुबानमा परेको छ । राति २ः३० बजेदेखि पानीको सतह ह्वात्तै बढ्दा बजार डुबानमा परेको स्थानीय प्रहरी चौकीले जनाएको छ । राति एक्कासि पानीको सतह बढेपछि स्याङ्जाको पिढीखोलामा पर्ने बजारका झन्डै ५० पसल डुबानमा परेको स्थानीय प्रहरी चौकीका प्रमुख चन्द्र न्यौपानेले जानकारी दिए ।

अहिले बजारवासी घर छाडेर माथि उक्लिएका छन् । उनीहरु रातभर खुला आकाशमुनि रात काट्न बाध्य भए । वर्षा नरोकिएकाले सतह पनि बढ्दै गएको र डुबानमा पर्ने घर पसलको सङ्ख्या पनि बढ्दै गएको छ । कतिपय व्यवसायीले पसलका सामान उपल्लो तलामा राख्न सफल भए पनि अधिकांश व्यवसायीका पसल भने डुबानमा परेका छन् ।

डुबानबाट भएको क्षतिको यकिन विवरण नआए पनि करोडौँको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ । अहिलेसम्म उक्त क्षेत्रका बासिन्दालाई उद्धारका लागि कुनै पहल भएको छैन । पर्वतको शालिग्राम र स्याङ्जाको पिढीखोला–८ मा पर्ने सेतीवेणी बजारमा झन्डै २०० घर तथा पसल छन् ।

कालीगण्डकीमा पानीको सतह बढेर बजारसम्म आइपुगेपछि स्थानीयवासी रातभर जाग्राम बसेका थिए । स्थानीय प्रहरी चौकीका प्रमुख न्यौपानेका अनुसार कुनै मानवीय क्षति भने भएको छैन । राति नै स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ जान अनुरोध गरिएपछि उनीहरु बस्तीभन्दा माथिको भिरमा गएर रात काट्न बाध्य भएका थिए ।

मुलुककै सबैभन्दा ठूलो कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा सेतीवेणीबजार डुबानको खतरामा पर्ने गरेको छ । बाढीका कारण विश्वकै ठूलो शालिग्राम शिला पनि डुबानमा परेको छ ।

छ वर्षअघि कालीगण्डकी र सेतीखोलो उर्लेर आउँदा तीन दर्जन घरपरिवार विस्थापित बनेका थिए । पवित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तल लगायत संरचना डुबेका छन् । शिला संरक्षणका लागि बनाइएको तटबन्ध र ग्याबिनसमेत पानीले पुरिएपछि शिला सङ्कटमा परेको बताइएको छ । अहिलेसम्म पर्वततर्फको भागमा रहेको बजारमा भने क्षति नपुगेको बताइएको छ । रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.