२०७३ साउन १२ गते ६:५० विकासन्युज
काठमाडौं, १२ साउन । नारायणी नदीमा आएको उच्च बहावसहितको बाढीले पश्चिम चितवनको मङ्गलपुर क्षेत्रका २८ घर डुबानमा परेको छ । यस्तै दुई घरमा क्षति पुगेका छ भने सयौँ स्थानीयलाई सुरक्षित स्थानमा सारिएको जिल्ला विपद् व्यवस्थापन समिति चितवनले जनाएको छ । गएराति विपद् समितिका पदाधिकारीसहित नेपाली सेना, सशस्त्र र जनपद प्रहरी परिचालन गरेर उनीहरुलाई उद्धार गरिएको हो ।
विपद् व्यवस्थापन समिति चितवनका सूचना अधिकारी बलराम लुइँटेलका अनुसार मङ्गलबार राति नारायणी नदीमा बाढीको सतह खतराको तहभन्दा माथि पुगेर १०.३ मिटर भएको थियो । यहाँ ८.४ मिटर बाढीको सतहलाई खतराको सङ्केत मानिन्छ तर अहिले खतराको सङ्केत समेत नाघेर बाढी उच्च भएपछि बनदी वरपरका धेरै ठाउँमा डुबान भएको हो ।
चितवनका प्रहरी प्रमुख वसन्त कुँवरका अनुसार पश्चिम चितवनको मङ्गलपुरस्थित शरणपुर र झनझनेको डुबानमा परेका २८ घरका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । यस्तै सोही क्षेत्रमा रहेको मदरसामा समेत बाढी पसेपछि ६० जना बालबालिकालाई समेत अन्यत्र सारिएको कुँवरले बताए । मङ्गलपुरकै दुई घरमा बाढीले क्षति पु¥याएको छ ।
उनका अनुसार भरतपुर बाह्रघरेमा रहेको हाम्रो घरमा समेत बाढी पसेकाले त्यहाँ आश्रित बालकलाई समेत सुरक्षित स्थानमा सारिएको समितिले जनाएको छ । यसैगरी पश्चिम क्षेत्रमा पर्ने गाँजीपुर, भुवन बस्ती, मेघौलीको स्यालबास, लौखुरी, गोलाघाट क्षेत्रमा समेत बाढी पसेको र कटान सुरु भएको विपद् व्यवस्थापन समितिका सूचना अधिकारी बलराम लुइँटेलले जानकारी दिए। गोलाघाटमा ड्याममा क्षति पु¥याएकाले अस्थायी मर्मत गरिएको छ ।
बाढी अवलोकनका लागि नारायणीपुलमा मानिसको भीड बढेपछि प्रहरी परिचालन गरेर चितवनको नारायणी पुलमा बसेर हेर्न समेत रोक लगाएको छ । बुधबार बिहान भने बाढीको सतह घढ्दो क्रममा छ । अहिले बाढी घटेर आठ मिटरमा आएको जनाइएको छ । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.