यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला

  २०७३ साउन १२ गते १०:५५     विकासन्युज

बैतडी, १२ साउन । दार्चुलामा एक यार्सा व्यापारीको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक सुशील सिंह राठौरका अनुसार दार्चुला सिप्टी–३ होपरीका जमनसिंह महता रहेका छन् । प्रहरीले महताको शव दार्चुलाको घुषा गाविस–८ धनबोहरा भन्ने स्थानबाट ५०० मिटर तल चमेलिया नदी किनारमा फेला परेको हो ।

यसअघि मङ्गलबार प्रहरीले दार्चुलाको घुषा गाविस–८ धन बोहरा भन्ने स्थानमा पेस्तोल, पाँच राउन्ड गोली, रगतले लत्पतिएको अवस्थामा चक्कु, एक तोला यार्सा, सतुवा एक किलोग्राम रु नौ लाख ९९ हजारलगायतका सामग्री फेला पारेको थियो । मङ्गलबार खण्डेश्वरीका स्थानीय कमल रोकायाले दिएको जानकारीका आधारमा प्रहरीले उक्त स्थानबाट सामग्री बरामद भएको बताएको छ ।

यस्तै मङ्गलबार घटनास्थलबाटै हत्या गरिएका सिप्टी–३ होपरीका जमनसिंह महताको नाममा जारी भएको यार्सा सङ्कलन परिचयपत्रसमेत फेला परेको थियो । परिचयपत्र फेला परेपछि तथा चक्कुमा रगत लत्पतिएको अवस्थामा प्रहरीले महताको हत्या भएको हुनसक्छ भनेर खोजी कार्य गरेको थियो । प्रहरीले महताको खोजबिन गर्दा मङ्गलबार बरामद गरिएको सामग्रीबाट ५०० मिटर तल चमेलिया नदी किनारमा आज हत्या गरिएको अवस्थामा शव भेट्टिएको हो ।

प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौर नेतृत्वको एक टोली अहिले घटनास्थलतर्फ गएको छ । घटनास्थल पुगेपश्चात मात्रै घटनाको थप विवरण आउने प्रहरी नायब उपरीक्षक राठौरले बताए । घटनास्थल सदरमुकामबाट दुई दिनको पैदल दूरीमा पर्दछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.