२०७३ भदौ १३ गते १:१३ विकासन्युज
काठमाडौं १३, भदौ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क भित्र कलाकार र खेलाडीलाई सार्क भिसा स्टिकर सुविधा दिनुपर्ने प्रस्तावमा भारतले असहमति जनाएको छ।
साउन तेस्रो साता पाकिस्तानको राजधानी इस्लामावादमा भएको सार्क गृहमन्त्री स्तरीय बैठकमा भारतले यस विषयमा असहमति जनाएको खबर कारोबार दैनिकमा समाचार छापिएको छ। भारतले सहमति नजनाएपछि यो विषय आगामी बैठकसम्म स्थगित भएको छ।
बैठकमा सहभागी सुरक्षा अधिकारीका अनुसार सरकारी कर्मचारीबाहेक कलाकार, खेलाडी, उद्योगी व्यपारी, पत्रकारलगायत पेसाकर्मीका लागि भिसा स्टिकर सुविधा उपलव्ध गराउन अन्य मुलुक सहमत देखिएका थिए । तर भारतले विस्तृत अध्ययन र छलफल हुनुपर्ने भन्दै पछि सारेपछि निर्णय हुन सकेन।
नेपालसहित सार्क मुलुकमा आवद्ध आठ देशका लागि भारते स्टिकर छपाउँदै आएको छ। बैठकमा भारतले सार्क भिसा स्टिकर छपाइबाहेक डाटा सेन्टर स्थापना गर्न पनि प्रस्ताव गरेको थियो। तर, अन्य विषयमा बैठक केन्द्रीत भएपछि यो विषय निष्कर्षमा पुग्न नसकेको स्रोतले बतायो।
Copyright © 2024 Bikash Media Pvt. Ltd.