जन्मदर्ता गर्नुस्, एक हजार लानुस्

  २०७३ भदौ २३ गते १२:३१     विकासन्युज

नुवाकोट, २३ भदौ । व्यक्तिगत घटना दर्ता गर्दा अहिले पनि घटना भएको ३५ दिन नाघेमा जरिवाना ३५ रुपैयाँ तिर्नुपर्छ तर अब जन्मदर्ता गर्दा भने प्रोत्साहन रकम समेत पाइने भएको छ । सरकारले दलित समुदायको व्यक्तिगत घटना दर्तालाई प्रोत्साहन गर्न भनेर जन्मदर्ता गर्दा रकम दिने नीति ल्याएको हो ।

शिशु जन्मेको ३५ दिनभित्र स्थानीय पञ्जाधिकारीको कार्यालय अर्थात् गाविस वा नगरपालिकाको वडा कार्यालयमा गएर शिशुको जन्म दर्ता गराएमा रु एक हजार प्रोत्साहन भत्ता पाइने भएको छ । विसं २०७३ साउन २० गतेपछि जन्मिएका शिशुको ३५ दिनभित्र जन्मदर्ता गराएमा रकम उपलब्ध गराइने भएको जिविसले जनाएको छ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मङ्गलबार जिविसको कार्यालयमा पत्राचार गरि दलित शिशुको जन्मेको ३५ दिनभित्र जन्म दर्ता भएमा रु एक हजार प्रोत्साहन भत्ता दिन पत्राचार गरेको छ । सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत दलित समुदायका शिशुको जन्म दर्तालाई प्रोत्साहन गर्न रकम दिने व्यवस्था ल्याइएको जिविसका वरिष्ठ कार्यक्रम अधिकृत पुष्कर शर्मा रिमालले बताए ।

सरकारले दलितका लागि दशैँभर र कर्णाली अञ्चलका लागि शिशु जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराएमा एक हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय गरे अनुसार यहाँ पनि कार्यक्रम शुरु भएको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.