२०७३ भदौ २७ गते २:४१ विकासन्युज
काठमाडौं २७, भदौ बीमा समितिले बीमकहरूलाई जिल्ला नै तोकेर कृषि बीमा गर्न निर्देशन दिएपछि एक वर्षमै झण्डै दोब्बरले बढेको छ । बीमा समितिको तथ्यांकअनुसार बिमांकको आधारमा गत आर्थिक वर्ष २०७२र७३ मा कृषि बीमा ८८ प्रतिशतले बढेको छ ।
समितिका अनुसार गत आवको अन्त्यसम्ममा कम्पनीहरूले ५ अर्ब ९९ करोड रुपैयाँ बराबरको कृषि बीमा लेख जारी गरेका छन् । अघिल्लो आव २०७१र७२ को सोही अवधिमा भने कम्पनीहरूले ३ अर्ब १८ करोड बराबरको कृषि बीमा बिक्री गरेको तथ्यांकले देखाएको छ ।
गत आवमा बिक्री भएको कृषि बीमा लेखवापत कम्पनीहरूले २४ करोड ८७ लाख बीमा शुल्क आम्दानी गरेका छन् भने १४ करोड ८६ लाख बराबरको कम्पनीहरूमा कृषि बीमा दाबी परेको छ ।
उक्त अवधिमा कृषि बीमाका लागि कम्पनीहरूलाई सरकारले १८ करोड ६५ लाख बराबरको अनुदान रकम वितरण गरेको छ । नेपालको कृषि क्षेत्रलाई व्यावसायीकरण गर्न कृषि विकास मन्त्रालयले २०६९ माघ १ गतेदेखि कृषि बीमा कार्यक्रमको सुरुवात गरेको हो ।
मन्त्रालयले सुरुवात गरेको कार्यक्रमलाई अगाडि बढाउँदै बीमा समितिले आव २०७०/७१ देखि कृषि तथा पशुबिमालाई अनिवार्य गरेको हो । यद्यपि बिमकहरू कृषि बीमा प्रति उदासीन दखिएपछि समितिले २०७१ फागुनमा नै कम्पनीहरूलाई जिल्ला नै तोकेर कृषि बीमा गर्न निर्देशन दिएको समाचार सोमबारको कारोबार दैनिकमा छापिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.