२०७३ असोज ४ गते ४:२३ विकासन्युज
काठमाडौं, ४ असोज । सरकारले निजगढ अन्तराष्ट्रिय बिमानस्थलको निर्माण यसै आर्थिक बर्षबाट सुरु गर्ने भएको छ । सो बिमानस्थलका लागि चालु आर्थिक बर्षमा सरकारले एक अर्ब ५० करोेड रुपैंयाँ बजेट बिनियोजन गरेको छ । अघिल्लो बर्ष बिनियोजीत ५० करोड बजेटबाट पनि खर्च नभएको रकम जोडेर तत्कालै मुआब्जा वितरणको तयारीमा नेपाल नागरिक उड्डयन प्राधिरण लागेको हो ।
जग्गा अधिग्रहणका लागि ३५ दिने सूचना निकालिसकिएको छ । सो सूचनाको म्याद समाप्ता भएर स्थानिय सहमतिका आधारमा १५ दिन म्याद थप गरिएको बारा क्षेत्र नम्बर ६ का सांसद पुरुषोत्तम पौडेलले जानकारी दिए । ‘३५ दिने म्याद सकिएर १५ दिन थप गरिएको छ, अबको केहि दिन भित्रै मुआब्जा वितरणको काम सुरु हुन्छ’, सांसद पौडेलले विकासन्युजसँग भने ।
बिमानस्थल निर्माण क्षेत्रमा ११० बिगाह नम्बर जमिनमा १२० परिवारको बसोबास रहेको छ । सोमध्ये ८० परिवारले मात्रै मुआब्जाका लागि विवरण बुझाएका छन् । बाँकी ४० परिवारले जमिन सट्टा भर्नाको माग गरेको पनि पौडेलले जानकारी दिए । नम्बरी जमिन बाहेक करिब ६ सय बिगाह ऐलानी जमिनमा १४२१ परिवार बसेका छन् । उनीहरुलाई मुआब्जा वितरणका लागि कानुनी व्यवस्था नरहे पनि सरकारले बिशेष निर्णय गरेर मुआब्जा वा सट्टा भर्नामा जमिन दिनेछ ।
नागरिक उड्डयन प्राधिरणले यसै बर्षभित्र मुआब्जा र डिपिआर तयार पार्ने जिम्मेवारी पाएको छ । त्यसका लागि समयमै काम सम्पन्न गर्ने योजना बनेको प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले बताए ।
प्राधिकरणले एक खर्ब २१ अर्ब रुपैंयाँ खर्चेर निजगढ अन्तराष्ट्रिय बिमानस्थलको पहिलो चरणको निर्माण सम्पन्न गर्ने योजना अघि सारेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा बस्ने प्राधिकरण सञ्चालक समितिको बैठकले ६ बर्षभित्रै निर्माण सम्पन्न हुनेगरि पहिलो चरणको योजना पास गरेको हो ।
यसरी निर्माण गरिएको बिमानस्थलले बर्षेनी एक करोड ५० लाख यात्रुलाई सेवा दिन सक्ने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले बताए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.