२०७३ असोज ६ गते १९:१२ विकासन्युज
काठमाडौं, ६ असोज । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कामिनी राजभण्डारी नियुक्त गरेको छ । टेलिकममै प्रमुख प्राविधिक अधिकृत पदमा कार्यरत राजभण्डारीलाई मन्त्रिपरिषदको विहीवार बसेको बैठकले अगामी तीन वर्षको लागि प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो ।
सेयर पुँजीको आधारमा नेपालको सबैभन्दा ठूलो कम्पनीको कार्यकरी प्रमुख पदमा महिला पुगेको यो पहिलो पटक हो । राष्ट्रपति, सभामुख, प्रधानन्याधिश लगायत महत्पपूर्ण पदमा महिला पुगेको अवस्थामा ९५ प्रतिशत सेयर सरकारको स्वामित्वमा रहेको कम्पनीको कार्यकारी प्रमुख पद पनि महिलाले पाएकी छिन् ।
सरकारी स्वामित्मा रहेका कम्पनी मध्ये नेपाल टेलिकम सबैभन्दा बढी नाफा गर्ने र सरकारलाई सबैभन्दा बढी कर बुझाउने संस्था हो । तर पछिल्लो समय नेपाल टेलिकम प्रतिस्पर्धामा पछाडि धकेलिदै गएको छ ।
राजभण्डारीले केही महिनाअघि मात्र उत्कृष्ट इन्जिनियर्स अवाड पाएकी थिइन् । ५४ औँ इन्जिनियर्स दिवसको अवसरमा गत साउन ३ गते नेपाल इन्जिनियर्स एसोसिएशनले उनलाई उत्कृष्ट इन्जिनियर्स अवार्ड दिएको थियो ।
टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यको कार्यकाल सकिएपछि सरकारले गत असार २५ मा खुला प्रतिस्पर्धाका आधारमा टेलिकम प्रमुख माग गरेको थियो । त्यसमा नेपाल टेलिकम भित्रबाट ९ जना र बाहिरवाट चार जनाले आवेदन दिएका थिए ।
सिफारिस समितिले आवेदकमध्येबाट ६ जनालाई सर्टलिष्टमा राखेर अन्तरवार्ता गर्ने र ती मध्येबाट उत्कृष्ट तीनजनालाई विहीवार मन्त्रीपरिषदमा पेश गरेको थियो । छनौट समितिले तयार पारेको सर्ट लिस्टमा टेलिकम भित्रैबाट आवेदन दिनेमध्ये नायब प्रबन्ध निर्देशक कामिनी वाहेक मानव संसाधन प्रमुख रवीन्द्र झा, प्रबन्धकहरू वटुक आनन्द वैद्य, सुनीलकुमार पोखरेल र गुणकेशरी प्रधान थिए । यसैगरी टेलिकम वाहिरबाट मदन खरेल परेका थिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.