२०७३ असोज ९ गते १४:४० विकासन्युज
विराटनगर, ९ असोज । खुला सिमानाका कारण साल्ट ट्रेडिङ लिमिटेडले सञ्चालन गरेको सुपथ मूल्यको पसलबाट चिनी बिक्री हुन सकेको छैन ।
दसैँं–तिहारलाई ध्यानमा राखी सो कार्यालयले चिनीको मूल्य प्रतिकिलो ७९ रुपैयाँ निर्धारण गरेको तर सीमावर्ती बजार जोगबनीमा प्रतिकिलो ६५ रुपैयाँमा पाइने गरेकाले साल्ट ट्रेडिङका साथै बजारका चिनी व्यापारी मारमा परेका हुन् ।
साल्ट ट्रेडिङले दसैँं र तिहारका उपलक्ष्यमा सर्वसाधारण ग्राहकलाई सस्तोमा चिनी र नुन उपलब्ध गराउनका लागि यही असोज १ देखि आगामी कात्तिक १ गतेसम्म सुपथ पसल सञ्चालनमा ल्याएको हो । प्रत्येक ग्राहकलाई बढीमा छ किलो चिनी र तीन किलो नुन उपलब्ध गराउने गरिएको सो कार्यालयका प्रमुख नवीनचन्द्र झाले जानकारी बताए ।
नुन प्रतिकिलोमा दुई रुपैयाँ छुट गरी १६ रुपैयाँ र चिनी प्रतिकिलो ७९ रुपैयाँका दरमा बिक्री दर निर्धारण गरिएको छ । नुनको बिक्री भने नियमित भइरहेको कार्यालयले जनाएको छ । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.