२०७३ असोज ११ गते १३:२१ विकासन्युज
काठमाडौं, ११ असोज । नेपालमा घर तथा आवास निर्माण गर्दा त्यति धेरै प्राविधिक पक्षहरुलाई ध्यान दिएको पाइदैन । प्राविधिक पक्षमा ध्यान नपुर्याउँदा यहाँ बन्ने घरहरु जोखिममा पर्ने गरेको छ । २०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पले ठूला ठूला भवनदेखि पुरात्वातिक सम्पदाहरु मासिएपछि भने मानिसमा बलियो घर बनाउनु पर्छ भन्ने चेतना आएको छ । अब घर निर्माण गर्दा प्राविधिकको सल्लाह बिना घर नबनाउने निष्कर्षमा धेरै मानिस पुगेका छन् ।
मानिसले भूकम्पपछि डराएर अब भुइँतला वा दुई तलासम्मको मात्र घर बनाउने बताएका छन् । घर बनाउनु अघि नै सावधानी अपनाउन सके हामी ठूलो क्षतिबाट बच्न सक्ने नेपाल इन्जिनिरिङ एशोसिएशनका अध्यक्ष धु्रव थापाले बताए । ‘इन्जिनियरको डिजाईज र सल्लाहमा घर निर्माण गर्नुपर्छ, इन्जिनियर्सको सहयोग विना घर बनाउँदा फेरी ठूलो क्षति सक्छ’ उनले भने ।
‘थोरै रकम जोगाउनका लागि हामी प्राविधिकको सल्लाह र सुझाव लिदैनौ र कमसल मालवस्तु प्रयोग गरि घर निर्माण गछौं र त्यो नभत्केसम्म मर्मत सम्भार गर्दैनौ’ उनी भन्छन्–‘भूकम्प प्रतिरोधात्मक डिजाइन गर्दैमा निर्माण खर्च बढ्न भन्ने होइन । बरु नचाहिने ठाउँमा खर्च घट्छ ।’ आममानिसमा भूकम्प प्रतिरोधात्मक घर बनाउँदा धेरै खर्च लाग्छ भन्ने गलत धारणा पाईएको उनले बताए ।
घर जति ठूलो बनाए पनि जग, पिलर आदिमा गुणस्तरीय सामग्री प्रयोग गरी आर्किटेक्ट तथा सिभिल इञ्जिनीयरसँग सल्लाह गरेर भूकम्प प्रतिरोधात्मक घर बनाउनुपर्ने स्ट्रक्चरल इञ्जिनीयर प्रह्लाद ज्ञवाली बताउँछन् । उनका अनुसार घर बनाउनुअघि जमीनको माटो परीक्षण गराउनुपर्छ । किफायत गर्न कमसल सामग्री प्रयोग गर्नु नै जोखिम बढाउनु हो ।
इन्जियियर्सहरुका अनुसार नक्सामा दुई तलाको डिजाइन गराउने र पछि आफ्नै हिसाबले थप्ने, जमिनमुनिबाट पानी बोरिङ गर्ने कार्यले घर कम्जोर हुन्छ । भवन निर्माणको प्रयोजनअनुसार स्ट्रक्चरल डिजाइन गरेर घर निर्माण गर्ने सामग्री (सिमेण्ट, इँटा, बालुवा, गिट्टी, डण्डी आदि)को गुणस्तर परीक्षण गराउनुपर्छ ।
आर्किटेक्ट नवीन श्रेष्ठका अनुसार नेपालमा गएकोे भूकम्पमा काठमाडौं, ललितपुर, भक्तपुरलगायत विभिन्न जिल्लामा पुराना, माटाले बनाइएका र कमजोर घरहरू बढी क्षतिग्रस्त भएका छन् । गोंगबु तथा बालाजु क्षेत्रमा भत्किएका नयाँ घरहरूको सन्दर्भमा उनले भने, ‘कालो माटो भएकाले उक्त क्षेत्रका घरहरु भत्किएका हुन् । उक्त जमीन घर निर्माणभन्दा पनि खेतीका लागि योग्य छ,’ उनले भने । ठूल्ठूला भवन माटो परीक्षण गराएर बनाइएकाले सिमेण्ट चर्किएका वा बाहिरी भाग मात्र बिग्रिएका छन्, पिल्लर बाङ्गिएको वा भत्किएको त्यति पाइँदैन ।
नेपालका पुरातात्विक महत्वका धरोहर नष्ट हुनुमा समयमै उचित मर्मत–सम्भार नगरिनु प्रमुख कारण रहेको इञ्जिनीयरहरू बताउँछन् । सामान्यतया २५ देखि ३० वर्षमा एकपटक यस्ता धरोहरहरूको मर्मत–सम्भार गरिने प्रचलन छ । तर, नेपालमा सयौं वर्षसम्म पनि यस्ता धरोहर मर्मत गरेको पाइँदैन । पाटन दरबार स्क्वायरमा जुन–जुन मन्दिर मर्मत–सम्भार तथा पुनर्निर्माण गरिएको छ, तिनमा खासै क्षति भएको छैन । उपत्यकाका तीनओटै दरबार स्क्वायरका मर्मत–सम्भार नभएका मठ–मन्दिर, पाटी र सत्तलहरू भत्किएका छन् ।
नयाँ घर बनाउँदा अपनाउनु पर्ने सावधानीहरु
भूकम्प प्रतिरोधक घर बनाउँदा दायाँ–बायाँ तथा तल–माथि जाने भूकम्पलाई ध्यान दिनुपर्छ । भूकम्प प्रतिरोधक घर बनाउन बिल्डिङको मास गोल्डेन रेशियो हुनुपर्ने ज्ञवाली बताँउछन् । बिल्डिङ सिलिण्डर शेपमा नबनाई बढाउने हो भने त्यही रेशियोमा एरिया पनि बढाउनुपर्छ । ‘घरको पूरै भाग एकआपसमा टाइअप हुनुपर्छ,’ उनले भने, ‘एकअर्कामा राम्रोसँग कनेक्ट भयो भने भूकम्पबाट त्यति डराउनुपर्दैन ।’ रेक्ट्याङ्गल, राउण्ड तथा स्क्वायर शेपका घर भूकम्प प्रतिरोधक मानिने उनको भनाइ छ । यसबाहेक अरू शेप भने ज्वाइण्ट छुट्टयाएर बनाउन सकिन्छ, जसले घरलाई सुरक्षित गर्छ ।
घरको तला थप्दा बिल्डिङ कर्नरहरू टाइअप हुनुपर्छ । मासलाई पिरामिड स्टाइलबाट तलको भागमा लोड बढी र माथिल्लो भागमा लोड घटाउँदै लैजानुपर्छ । वाल सिष्टमका घरमा कर्नरबाट कम्तीमा पनि २ फिट छोडेकै हुनुपर्छ । ओपनिङ सकभर २५ देखि ५० प्रतिशत राख्दा राम्रो हुने ज्ञवालीले बताए । तर, ५० प्रतिशतभन्दा बढाउनु उपयुक्त हुँदैन । कर्नर वालमा टाइअप गर्नुपर्छ । वाल लामो भयो भने बीचमा अर्काे वालले सपोर्ट गरेको हुनुपर्छ । घर बढाउन खोज्दा फरक–फरक घर छ भने अग्लो र सानो घरको टाइअप छुट्टै गर्नुपर्छ, अन्यथा भूकम्पले हल्लियो भने ठूलोको धक्का सानोमा पर्न सक्छ ।
भूकम्प प्रतिरोधात्मक घरका दृष्टिले हाम्रा पुराना मल्लकालीन घर उदाहरणीय मानिन्छन् । ती घर भूकम्पबाट बचाउने गरी डिजाइन गरिएको ज्ञवालीले बताए । पहिलेका घर तथा मन्दिरमुनिको वाल ठूलो हुँदै माथि सानो अर्थात् पिरामिड हुन्छन् भने घरको बीचमा चोक पनि यसैलाई ध्यानमा राखी बनाइएको देखिन्छ । घरमा टुँडाल राखिनुको कारण पनि भूकम्पबाट बचाउनु हो । ठाउँ–ठाउँमा टाइअपका लागि चुकुलहरू राखिएका हुन्छन् । झ्यालको माथि काठका टाई बिम राख्नु पनि भूकम्पबाट जोगिने उपाय हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.