रानीदेखि धरानसम्मको सडक चारलेनको बन्ने

  २०७३ कार्तिक १९ गते ९:५३     विकासन्युज

four_lane_highwayमोरङ, १९ कात्तिक । विराटनगरको जोगवनी नाकादेखि धरानसम्मको कुल ५० किलोमिटर सडक चार लेनको निर्माण हुने भएको छ । दुहवी र इटहरीबजार क्षेत्रका धेरै घर संरचनाहरु सडक फराकिलो बनाउनेक्रममा भत्काउनु पर्ने देखिएपछि प्रस्तावित ६ लेन सडकलाई घटाएर चार लेनमा निर्माण गर्न लागिएको हो । सडक आयोजना प्रमुख दीपक भट्टराईले सरकारको निर्णय आउन अझै बाँकी रहेपनि स्थानीयवासीको असहयोगले ६ लेन सडक निर्माण हुने सम्भावना न्यून रहेको बताए । सो सडकलाई ६ लेनको बनाउने प्रस्ताव गरिए पनि विभिन्न कारणले चार लेन मात्रै बन्ने भएको हो ।

सडक विस्तार हुँदा दुहवीका पक्की र कच्ची गरी एक सय ७७ घर र इटहरीको मूलचोकबाट दक्षिणतर्फका केही घर भत्काउनुपर्छ । यी दुवै स्थानमा ठूलाठूला पक्की घर रहेका छन् । योजनाअनुसार ६ लेन सडक विस्तार गर्दा आयोजनाले सडकको केन्द्रबाट दायाँबायाँ २५/२५ मिटर विस्तार गर्ने योजना बनाएर काम अघि बढाए पनि जग्गा अपुग भएपछि डिजाइन परिवर्तन गरेर पछि केन्द्रबाट दायाँबायाँ १५/१५ मिटर मात्र विस्तार गर्ने कार्य गरिरहेकाले अब सडक ६ लेनको होइन चार लेनमा मात्र सीमित हुनेमा कुनै शङ्का छैन ।

मुुलुककै व्यापार विस्तार तथा भारत र तेस्रो मुलुकसँगको आयात निर्यातका लागि अहिले जोगवनीबाट विराटनगर हुँदै धरानसम्म ६ लेन सडक विस्तार गर्ने सरकारको योजना थियो । भारतसँग सीमा जोडिएका सबै नाकाका सडकलाई ६ लेनमा विस्तार गर्ने सरकारको लक्ष्य पनि रहेको छ ।

जोगवनीदेखि विराटनगरको पहडगछ लगायतका क्षेत्रमा ६ लेनको सडक हुने आयोजनाले भन्दै आएपनि सो मार्गमा पर्ने दुहवी र इटहरीको मुख्य बजार क्षेत्रको सडकको दायाँबायाँ रहेको भवन भत्काउने विवादका कारण सो सम्भावना न्यून हुँदै गएको हो । सडकमा दायाँबायाँ तीनरतीन लेन हुने र मध्य भागमा दुईतिर सडक विभाजित गर्ने क्रङ्किटका डिभाइडरको संरचनासँगै सडकको दुवैतिर बिरुवा रोपेर हरियाली पारिने योजना रहेको छ । सडकसँगै पैदल यात्रीका लागि फुटपाथ र ढलसमेत रहने योजना छ । तर मुख्य बजार क्षेत्रमा भने जग्गा अभावले गर्दा हरियाली नहुने र फुटपाथ पनि साँघुरो हुने सम्भावना बढेको देखिन्छ ।

सडक आयोजना प्रमुख दीपक भट्टराईका अनुसार दुहवीबजार क्षेत्रमा अहिले भएको सडकको जग्गाबाहेक अरू दुई बिघा जग्गा चाहिन्छ र त्यहाँ बनेका घर पनि भत्काउनु पर्नेभएकाले जग्गा उपलब्ध गराइदिन भनी सडक विभागलाई पत्रचार गरिसकेको छ ।

उनका अनुसार बजार क्षेत्रको केही जग्गा नगरपालिकाको समेत स्वामित्वमा रहेको र कतिपय जग्गा व्यक्तिको व्यक्तिगत रहेकाले घरजग्गाभन्दा घर भत्काउँदा ठूलो क्षति हुनेहुँदा यसबारे सरकारको निर्णय नआएकाले दुहवीबजार क्षेत्रमा ठेक्का लगाउन बाँकी छ । सरकारले घरजग्गाको मुआब्जा दिने वा अन्य कुनै वैकल्पिक उपाय गर्ने त्यसबारे निर्णय आएपछि मात्र सो क्षेत्रको सडक निर्माणसम्बन्धी ठेक्का लगाउन सकिने धारणा आयोजना प्रमुख भट्टराइको छ ।

सडक विस्तारका लागि चालु आवमा दुहवीको उत्तरदेखि इटहरीको मूल चौकभन्दा केही दक्षिणसम्मको ठेक्का लागेको छ । दुहवीदेखि इटहरी र विराटनगरबजार क्षेत्रको सडक निर्माणका लागि यस वर्ष दुई अर्ब २३ करोडमा ठेक्का लागेको हो । यसअघि विराटनगरको रानीदेखि १५ किलोमिटर सडक दुई अर्ब ८२ करोडमा ठेक्का लागेको थियो ।

विराटनगरदेखि इटहरीसम्मको २९ किलोमिटर सडक ठेक्का लागिसकेको छ । ठेक्का लागिसकेको सडकमध्ये २०६९र०७० देखि अघिल्लो वर्षसम्म लागेको १५ किलोमिटर सडकमध्ये सातवटा प्याकेजमा ठेक्का लागेको थियो । अघिल्लो वर्षसम्म ठेक्का लागेको १५ किलोमिटरको सातवटा प्याकेजमध्ये तीनवटा प्याकेजको ६० प्रतिशत र चारवटाको २० प्रतिशत काम सकिएको प्रमुख भट्टराईको भनाइ छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.