२०७३ कार्तिक २१ गते ८:५३ विकासन्युज
काठमाडौं २१, कार्तिक २१ । १ सय २ मेगावाट क्षमताको माथिल्लो त्रिशूली २ जलविद्युत् आयोजनामा चीनको हाइड्रो चाइना कर्पोरेसनले लगानी गर्ने भएको छ । शतप्रतिशत लगानी रहने गरी चीनको उक्त कम्पनीले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)स्वीकृतिका लागि सरकारसमक्ष प्रस्ताव पेस गरेको छ ।
‘२० अर्ब ३८ करोड रुपैयाँ लगानी गर्ने गरी कर्पोरेसनले प्रस्ताव पेस गरेको हो,’ उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले भने, ‘औद्योगिक प्रवद्र्धन बोर्डको बैठक राख्ने तयारी भइरहेको छ । बोर्ड बैठकमा उक्त कम्पनीको एफडीआई स्वीकृतिका लागि एजेन्डा पेस हुनेछ ।’ विद्युत् विकास विभागबाट सर्वेक्षण लाइसेन्स लिई उक्त कम्पनीले वातावरण प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनसमेत पेस गरिसकेको छ ।
विद्युत् विकास विभागमै विद्युत् उत्पादनका लागि अनुमति माग गरी प्रक्रिया अघि बढिसकेको जनाएको छ । विद्युत् व्यापार सम्झौता ९पीपीए० का लागि समेत आवश्यक प्रक्रियाहरू अगाडि बढेपछि कर्पोरेसनले एफडीआई स्वीकृतिको माग गरेको हो । उद्योग विभागका अनुसार उक्त जलविद्युत् रसुवाको गुल्जुङ र गोल्टाङ गाविसमा निर्माण हुनेछ ।
जलविद्युत् आयोजनाका लागि स्थिर पुँजी २० अर्ब २१ करोड ५० लाख रुपैयाँ रहने प्रस्ताव छ । चालु पुँजी ६ करोड ५० लाख रुपैयाँ रहनेछ । हाइड्रो चाइना कर्पोरेसन चीनको एक ठूलो जलविद्युत् कम्पनीमा पर्छ । यो कम्पनीले हालसम्म बनाइसकेको र बनाउन लागेको सहित १६ गिगावाट विद्युत् उत्पादनको योजना छ ।
कर्पोरेसनका १० वटा सहायक कम्पनी छन् । १० हजार २ सय जनाले रोजगारीको अवसर पाएका छन् । यसमध्ये ५ हजार ७ सय जना त प्राविधिक मात्रै छन् ।
चीनबाहेक अन्य मुलुकमा समेत यो कम्पनीले जलविद्युत् क्षेत्रमा लगानी गरिरहेको छ । जलविद्युतमै नेपालमा पनि लगानी विस्तार गर्ने तयारी हो ।सन् २०२० सम्ममा गर्जेजले बनाएका आयोजनाबाट ८० हजार मेगावाट बिजुली उत्पादन हुनेछ ।
जलविद्युतमा थ्री गर्जेजपछि हाइड्रो चाइनाले ठूलो लगानी गर्न लागेको हो । यसबाहेक चीनकै ठूलो सिमेन्ट उत्पादनक होङसीले लगानीको स्वीकृति बोर्डबाट लिइसकेको छ ।
३६ अर्ब रुपैयाँ लगानी गर्न अनुमति पाएको हो । होङ्सीले नेपालको शिवम सिमेन्टसँग मिलेर लगानी गर्ने गरी अनुमति पाएको हो । दैनिक १२ हजार टन उत्पादन गर्ने लक्ष्य छ । एक हजार जनालाई रोजगारी दिने प्रतिबद्धता छ ।कान्तिपुर दैनिकबाट ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.