२०७३ कार्तिक २२ गते १७:५५ विकासन्युज
काठमाडौं, २२ कात्तिक । देशविदेशमा फैलिएका ६४ युवाले ‘बेटर नेपाल’नामक बृहत् अभियानको थालनी गरेका छन् ।
नेपालका अतिरिक्त भारत, जापान, अमेरिका, जर्मनी, अस्ट्रेलिया आदि देशमा अध्ययनरत अथवा कार्यरत नेपाली युवा सो अभियानमा जुटेका हुन् । अभियानका युवाले आफ्नो ज्ञान, सीप, समय र कला र आम्दानीलाई राष्ट्रिय जीवनको सकारात्मक उन्नतिका लागि प्रयोग गर्ने छन् ।
यही कात्तिक २० र २१ गते धादिङ बेंसीमा चलेको विचारविमर्शपछि जारी गरिएको ‘धादिङ घोषणपत्र’ मार्फत सो अभियानको घोषणा गरिएको हो । अभियानमा चिकित्सा, आयुर्वेद, कृषि, कलासाहित्य, समाजसेवा, विद्युत्प्रविधि, पत्रकारिता आदि विविध क्षेत्रका विद्यार्थी र जानकार समाविष्ट छन् । अभियानको संयोजकका रुपमा धादिङका गणेश ढुङ्गानालाई चयन गरिएको घोषणापत्रमा जानकारी गराइएको छ । यसैगरी सल्लाहकारमा साहित्यकार महेश पौड्याल र नीरा शर्मा तथा उद्यमी गणेशप्रसाद जोशी छन्।
अभियानले प्रथम वर्षमा उत्प्रेरणा र सशक्तीकरण, सूचना र प्रविधि तथा साहित्य–संस्कृति क्षेत्रमा देशैभरि कार्यक्रम गर्नेछ । क्रमशः चिकित्सक नवीन भट्ट, सूचना प्राविधिक अनिल खतिवडा र साहित्यकार अमृत अधिकारीलाई सो कार्यक्रमका लागि संयोजक बनाइएको छ । अभियानमा नेपालको मधेस क्षेत्रका रोशनकुमार दास, कौशलकुमार दास, धीरज महतो र सञ्जीव दास तथा विकट कर्णालीका कुबेर सोंडारी, दीपक पौडेल, सागर खड्का लगायत युवा पनि सम्मिलित रहेको सल्लाहकार पौड्यालले जानकारी दिए । अभियानले पहिलो औपचारिक कार्यक्रम आगामी पुस १७ गते गर्ने भएको छ । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.