निजी लगानीमा   विद्युतीय पुस्तकालय स्थापना

  २०७३ मंसिर १ गते १२:४७     विकासन्युज

फलेवास, १ मङ्सिर । उत्तरी पर्वतको मल्लाज माझफाँटमा रहेको विद्याज्योति माविमा विद्युतीय पुस्तकालय स्थापना भएको छ ।
धाइरिङ घर भई हाल बेलायतमा व्यवसाय गर्दै आउनुभएका गैरआवासीय नेपाली सङ्घ (एनआरएन)का युरोप संयोजक कुल आचार्यले कम्प्युटरमा पढ्न र सुन्न सकिने पुस्तकालय स्थापना गरेका हुन् ।

आचार्यले आफूले माध्यामिक तहसम्मको अध्ययन गरेको विद्यालयमा आफ्नो आमा चौरासी वर्ष पुगेको अवसरमा विद्युतीय पुस्तकालय स्थापना गरेको बताए । कक्षा २ देखि १० सम्मका पाठ्यक्रमसहित विभिन्न विधाका १० हजार पुस्तकलाई ‘डिजिटलाइज्ड’ गरिएको पुस्तकालयमा २० वटा कम्प्युटर रहेका छन् । पुस्तकालय स्थापना गर्न आचार्यले करिब रु आठ लाख लगानी गरेको विद्यालयले जनाएको छ ।

कक्षा १२ सम्मको पठनपाठन हुने सो विद्यालयमा ३६२ जना बालबालिका अध्ययरत छन् । मङ्गलबार एक समारोहबीच आचार्यले पर्वत क्षेत्र नम्बर– १ का सांसद अर्जुनप्रसाद जोशी, जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेललगायतको उपस्थितिमा विद्यालयलाई पुस्तकालय हस्तान्तरण गरे । आचार्यले शैक्षिक गुणस्तर वृद्धि होस् र ग्रामीण क्षेत्रका बालबालिकाले प्रविधियुक्त शिक्षा पाउन् भन्ने उद्देश्यले पुस्तकालय स्थापना गरेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर लामिछानेको अध्यक्षतामा भएको सो कार्यक्रममा सांसद जोशी, जिशिअ पौडेल, नेपाली काँग्रेसका मुरारी शर्मा र नेकपा ९माओवादी केन्द्र०का नेता बाबुराम कार्कीले सहयोगदाता आचार्यको प्रशंसा गर्दै पुस्तकालयको दिगो र व्यवस्थित प्रयोगमा जोड दिए ।  कार्यक्रममा सहयोगदाता आचार्य र उनकी आमालाई सम्मान गरिएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.