पृथ्वीराजमार्गमा दुई हजार ५० वटा गाडीमा व्यवसायीहरुको पाँच अर्व लगानी

  २०७३ मंसिर २ गते १३:५९     विकासन्युज

पोखरा, २ मङ्सिर । मुलुकको मेचीदेखि महाकालीसम्मका सडकमा बस सञ्चालन गरेर यात्रुलाई सुविधा प्रदान गर्दै आएको पृथ्वीराजमार्ग बस व्यवसायी समितिमा हालसम्म व्यवसायीको पाँच अर्ब रुपैयाँ भन्दा वढी लगानी भइसकेको छ ।rajmarga-650x250

विसं २०२९ मा सीमित सवारीसाधनलाई लिएर स्थापित समितिमा हाल मिनीबस, माइक्रोबस, नर्मल तथा डिलक्स एसी सेवासहित एक हजार दुई सय ५० वटा गाडीमा व्यवसायीको उक्त रकम लगानी भएको  पृथ्वी राजमार्ग बस व्यवसायी समितिका महासचिव योगेन्द्रबहादुर केसीले जानकारीदिए ।
पृथ्वी राजमार्ग बस व्यवसायी समितिअन्तर्गतको सेवा प्रवाहका क्रममा तीन हजार ६ सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको जानकारी दिँदै उनले पछिल्लो समयमा अत्यधिक सेवा सुविधासहितका यातायात सेवा पनि सञ्चालन गर्न लागिएको बताए । उनले समितिअन्तर्गत शुभ अधिकारी ट्राभल्स प्रालिले यही मङ्सिर ६ गतेदेखि पृथ्वी राजमार्गअन्तर्गत पोखरा–काठमाडौँका लागि सुविधासम्पन्न दुईवटा बस सञ्चालन गर्न लागिएको जानकारी दिए ।
काठमाडौँको गौशाला र पोखराको हल्लनचोकबाट दैनिक सञ्चालन हुने ३१ सिट क्षमताको उक्त बसमा पत्रपत्रिका, मिनरल वाटर, निःशुल्क वाइफाइ, टेलिभिजन लगायतको सुविधा रहने र भाडादर जम्मा पाँच सय रुपैयाँ कायम गरिएको पत्रकारसम्मेलनमा जानकारी दिइएको थियो ।

महासचिव केसीका अनुसार वातावरणीय प्रदूषणलाई नियन्त्रण गर्न समितिले २००३ मोडल भन्दा अघिका सम्पूर्ण गाडी विस्थापित गरिसकेको छ भने गाडी विस्थापन गराउनका लागि व्यवसायीलाई पर्ने मर्कालाई दृष्टिगत गरी प्रतिगाडी रु ६ लाख ५० हजार आर्थिक सहयोग गर्ने गरिएको छ ।

समितिले स्थानीय कृषि र विद्यार्थीलाई लक्षित गरी कास्की, लम्जुङ, गोरखा, स्याङ्जा र तनहुँ जिल्लाका ग्रामीण सडकमा एक सयवटा गाडीबाट सुविधा दिइरहेको र समितिअन्तर्गत नै पोखरा–दिल्लीका लागि २२ वटा सुविधा सम्पन्न बस सञ्चालन गरिएको महासचिव केसीको भनाइ छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.