२०७३ मंसिर १० गते १६:४६ विकासन्युज
काठमाडौं, १० मंसिर । यो साता सेयर बजारमा नेप्से परिसूचक ६५ दशमलब ५९ अंकले घटेको छ । लगातार घटिरहेको बजारमा परिसूचक अन्तिम दिन १५३४ दशमलब ३ अंकमा आएर रोकिएको छ ।
यो साताभर बजारमा ५ अर्ब ७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सो अवधिमा ३१ हजार ३३६ कारोबारबाट ७३ लाख ३५ हजार तीन सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । नेपाल स्टक एक्सचेन्जमा १५२ कम्पनीहरुको कारोबार भएको छ ।
गत साताको तुलनामा नेप्से परिसूचकमा गिरावट आए पनि कारोबार रकममा भने केहि सुधार भएको छ । कारोबार रकम गत साताको भन्दा ०.९ प्रतिशत बढी हो । गत साता जम्मा ५ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १४.१८ अंकले घटेर ३३१.१७ अंकमा आईपुगेको छ ।
साताभर सबैभन्दा बढी बीमा समूहको परिसूचक ७४७ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल समूहको १०५, विकास बैंकको ९९ र जलविद्युत समूहको ७० अंकले ओरालो लागेका छन् । वाणिज्य बैंक, उत्पादनमूलक, अन्य र व्यापार समूहको परिसूचक क्रमशः ४९, १३, १० र एक अंकले परिसूचक घटेका छन् ।
यस साता कारोबार रकमको आधारमा एभरेष्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । बैंकको ७१ करोड १५ लाख ८० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (चार लाख ६० हजार कित्ता) को आधारमा सिभिल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । यस साता पाँचै दिन खुलेको सेयर बजारमा ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.