राष्ट्रिय वाणिज्य बैंक र त्रिभुवन विश्वविद्यालय बीच पेन्सन भुक्तानी सम्झौता

  २०७३ मंसिर १९ गते १६:१४     विकासन्युज

rbb_agree_tuकाठमाडौं, १० मंसिर । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालयबीच विश्वविद्यालयका अवकास प्राप्त प्राध्यापक र कर्मचारीहरुको निवृत्तिभरण(पेन्सन) भुक्तानी गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र विश्वविद्यालयका रजिष्ट्रार डिल्लिराम उप्रेतीले हस्ताक्षर गरेका छन् । समारोहमा राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका अध्यक्ष डा.रविन्द्र प्रसाद पाण्डे र विश्वविद्यालयका उपकूलपति प्रा.डा.तीर्थ खनियाको उपस्थिती थियो ।

समारोहमा उपकूलपति खनियाले हाल विश्वविद्यालयका करिव ४ हजार ५ सय अवकास प्राप्त प्राध्यापक तथा कर्मचारीले यो सुविधा लिने र भविष्यमा करिव १५ हजार प्राध्यापक तथा कर्मचारीहरु समेत यो सम्झौताबाट लाभान्वित हुने सम्भावना भएको बताएका छन् । त्यसैगरी वाणिज्य बैंकका अध्यक्ष डा.पाण्डेले बैकिङ्ग क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनका लागि आगामी दिनमा वाणिज्य बैंक र विश्वविद्यालय मिलेर अगाडी बढ्नु पर्ने आवश्यकता औंल्याएका छन् । बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सम्झौता अनुसारको सेवाको अतिरिक्त विश्वविद्यालयमा कार्यरत कर्मचारीलाई बैंकले आफ्ना आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गराउंदै जाने बताएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकले हाल सम्म नेपालको ६७ जिल्लामा १७१ वटा शाखा कार्यालय मार्फत आफ्नो सेवा ग्राहकहरुलाई उपलब्ध गराउंदै आइरहेको छ । बैंकका हालसम्म ८६ वटा एटिएम संचालनमा छन् । बैंकले नेपाल सरकारका सेवा निवृत्त राष्ट्र सेवक कर्मचारीहरु(निजामति,प्रहरी,नेपाली सेना र शिक्षक), नेपाल राष्ट्र बैंक, नेपाल कृषि अनुसन्धान परिषद् र नेपाल टेलिकमका सेवा निवृत्त कर्मचारीहरुको पेन्सन वितरणको कार्य समेत गर्दै आइरहेको छ । बैंकले वार्षिक करिव २० अर्व रुपैंया भन्दा बढि पेन्सन तथा सामाजिक सुरक्षा भत्ता वितरण गर्दछ ।

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका का.मु.नायब प्रमुख कार्यकारी अधिकृत बिष्णुप्रसाद बैद्य, भुपेन्द्र पाण्डे, नायव महाप्रवन्धकहरु, विभागीय प्रमुखहरु र विश्वविद्यालयका अधिकारीहरुको उपस्थिती  थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.