२०७३ पुष १३ गते १६:३७ विकासन्युज
काठमाडौं, १३ पुस । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा वाइड बडी जहाज पार्किङ गर्ने ठाउँको अभाव भएको छ । हाल विमानस्थलमा ९ वटा जहाज पार्किङ गर्न सक्ने पुर्वाधार छ तर त्यसमा पनि ४ नम्बरको पार्किङमा समस्या उत्पन्न भएको छ ।
नेपाल वायुसेवा निगमले चालु आर्थिक बर्षभित्रै एक र त्यसको केहि समयपछि नै अर्काे एक गरि २ वटा वाइडबडी जहाज ल्याउने भनेको छ । त्यस्तै, हिमालय एयरलाइन्सले पनि सन २०१७ को जनवरी/फेब्रुअरीमा एक र मार्च/अप्रिलमा अर्काे एक वाइड बडि थप्ने जानकारी नागरिक उड्डयन प्राकिरणलाई दिईसकेको छ ।
बुधबार आयोजीत पत्रकार सम्मेलनमा प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले भने-‘हाम्रो एयरपोर्टको स्पेश सानो छ, ९ वटा बे(पार्किङ) छ । आवश्यक पर्दा पछाडी २ वटा पार्क गर्न सक्छौं । तर तत्काल ४ वटा ठुला जहाज थपिने भएकाले त्यसको व्यवस्थापन भने चुनौती पुर्ण छ ।’
उनका अनुसार पुर्व तिरको २ नम्बर पार्किङ १४ देखि १८ महिनामा तयार हुन्छ । समस्यामा रहेको ४ नम्बर पार्किङ पनि आगामी फागुन देखि सञ्चालन गर्नेगरि तयारी भैरहेको छ । ९ वटा पार्किङ स्थल थप्ने योजनासहित अघि बढेको निर्माण प्रक्रियाबाट स्पेनी कम्पनीसँगको ठेक्का भर्खर रद्ध गरिएको छ । उसले सन २०१६ मार्चसम्ममा काम सक्ने सर्तसहित निर्माणको जिम्मा लिएको थियो ।
महानिर्देशक गौतमका अनुसार हिमालय एयरलाइन्सले आगामी ५ बर्षभित्र १० वाइडबडी जहाज ल्याउने भनेर जानकारी दिएको छ । त्यस्तै आगामी १० बर्षमा उसले थप १३ वटा जहाज ल्याउने जानकारी प्राधिकरणलाई गराईसकेको छ ।
ती जहाजहरु आउनु अघि नै भैरहवा र पोखरा विमानस्थल सञ्चालनमा ल्याइसक्नुपर्ने उनले बताए । सन २०१८ जुलाईमा भैरहवा र सन २०२० जुलाइमा पोखरा विमानस्थल निर्माण सम्पन्न् गर्ने लक्ष्यसहित काम अघि बढेको उनले जानकारी दिए ।
हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ९ वटा जहाज पार्किङ गर्न सक्ने क्षमता छ । सो विमानस्थलबाट २७ कम्पनीका जहाजले दैनिक ७० वटा अन्तराष्ट्रिय उडान भरिरहेका प्राधिकरणका प्रवक्ता बिरेन्द्र श्रेष्ठले जानकारी दिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.