२०७३ माघ १७ गते १५:३१ विकासन्युज
काठमाडौं । सोमबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । बजारमा नेप्से परिसूचक ६५ दशमलब ४४ अंकले घटेर १३०९ दशमलब ७० अंकमा झरेको छ । सो दिन कारोबार शुरु भएदेखि नै सेयर बजार निरन्तर रुपमा घटेको हो ।
बजारमा कारोबार भएका १२३ कम्पनी मध्ये ११८ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । सो दिन बीमा कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढी गुमाएका छन् । सोमबार मात्रै ९ कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ भने अन्य ६ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले घटेको छ ।
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, मुक्तिनाथ विकास बैंक, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी, साल्टी होटल, सगरमाथा इन्स्योरेन्स कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स कम्पनी, नेपाल ग्रामीण विकास बैंक र सुमिट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले घटेको हो ।
सोमबार जम्मा ५ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् । कमाउनेमा अरुण फाइनान्स, ओरियन्टल होटल, राष्ट्रिय बीमा कम्पनी, रिलायन्स फाइनान्स र एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले सामान्य प्रतिशत कमाएका छन् ।
बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक ५४६ अंकले ओरालो लागेको छ । होटल समूहको परिसूचक १२८ र हाइड्रोपावर समूहको परिसूचक ७३ अंकले ओरालो लागेका छन् । त्यस्तै, कारोबार भएका बाँकी समूहको परिसूचक दोहोरोले अंकले ओरालो लागेका छन् ।
सोमबार ११ लाख २६ हजार कित्ता सेयर ५३ करोड ६६ लाख २८ हजार रुपैयाँमा किनबेच भएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.