२०७३ माघ २५ गते ८:०२ विकासन्युज
काठमाडौं । सरकारले १३ मुलुकका दूतावासका लागि बिहीबार राजदूत नियुक्त गर्ने भएको छ । सत्तारूढ कांग्रेस, माओवादी केन्द्र र राप्रपाको भागबन्डाका आधारमा राजदूत नियुक्ति हुन लागेको हो । माओवादी र राप्रपाले टुंगो लगाइसकेका छन् भने कांग्रेसबाट बिहीबारसम्म टुंगो लाग्ने भएको छ ।
‘अब चाँडै राजदूतहरूको नियुक्ति हुन्छ, यो साता निर्णय हुनेछ,’ परराष्ट्रमन्त्री डा। प्रकाशशरण महतले नयाँ पत्रिकासँग भने । बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकबाट राजदूत नियुक्तिका लागि सिफारिस गर्ने सरकारको तयारी छ । लगत्तै शुक्रबार परराष्ट्रमन्त्री महत बेल्जियम र लक्जेम्वर्ग भ्रमणमा जाने तय भएको छ । गत १९ साउनमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार गठन भएयता भारतमा दीपकुमार उपाध्याय र चीनमा लीलामणि पौड्याल राजदूत नियुक्त भएका छन् ।
कांग्रेस ६, माओवादी ४, राप्रपा ३
राजनीतिक स्रोतका अनुसार कांग्रेस कोटाबाट ६, माओवादीबाट चार र राप्रपाबाट तीनजना राजदूत हुनेछन् । माओवादीले केपी ओली नेतृत्वको सरकारका पालामा सिफारिस गरेका चारजनालाई नै निरन्तरता दिने प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ । माओवादी केन्द्रबाट अघिल्लो सरकारका पालामा डा। महेन्द्रबहादुर सिंह ९कतार०, लक्की शेर्पा ९अस्ट्रेलिया०, युवनाथ लम्साल ९डेनमार्क०, पदम सुन्दास ९बहराइन० सिफारिस गरिएका थिए । यसपटक पनि यी देश दोहोरिन सक्ने सम्भावना रहेको बुझिएको छ ।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। ऋषि अधिकारीले चाँडै राजदूत नियुक्तिका लागि प्रधानमन्त्री आफैँले अग्रसरता देखाइरहेको जानकारी दिए । ‘मलाई व्यक्तिबारे विस्तृतमा जानकारी छैन, तर प्रधानमन्त्रीले अग्रसरता देखाइरहनुभएको छ, सायद यसै साता टुंगिएला,’ अधिकारीले नयाँ पत्रिकासँग भने ।
कांग्रेसमा नेतापिच्छे नाम सिफारिस
कांग्रेस कोटामा जापान, दक्षिण कोरिया, श्रीलंका, इजरायल, साउदी अरब पर्ने लगभग निश्चित भएको छ । यसबाहेक कांग्रेसको कोटामा थप दुई देशका लागि राजदूत हुनेछन् । यसपटक कांग्रेसबाट डा। जगदीशचन्द्र पोखरेल, डा। दिनेश भट्टराई, डा। विश्वम्भर प्याकुरेल, दिव्यमणि राजभण्डारीको नाम तय भएको छ । पोखरेल र भट्टराई क्रमशः कांग्रेस नेता रामचन्द्र पौडेल र डा। शशांक कोइरालाको सिफारिसमा परेको स्रोतले बतायो । सभापति देउवाको कोटाबाट राजभण्डारी र अर्थशास्त्री डा। प्याकुरेलको नाम तय भएको छ । बाँकी दुईजनाको अझै तय हुन बाँकी छ । यीमध्ये उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिको कोटाबाट एकजना सिफारिस गर्ने सभापति देउवाको तयारी छ ।
खाली रहेकामध्ये ओमन र बहराइनमा राजदूत पठाउने निर्णय तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले गरेको थियो । त्यहाँ पहिलोपटक राजदूत जाँदै छन् । राप्रपाको कोटाबाट नेता निरञ्जन थापा, प्रतिभा राणा र खगेन्द्र बस्नेत राजदूत हुने लगभग तय भएको पार्टी स्रोतले बतायो । यसैबीच, स्पेन वा पोर्चुगलमध्ये एउटा देशमा दूतावास राख्नेबारे छलफल भए पनि टुंगिन बाँकी रहेको परराष्ट्र स्रोतले बताएको छ । माओवादीले पोर्चुगल र कांग्रेसले स्पेनमा दूतावास खोल्नुपर्ने धारणा राख्दै आएका छन् ।
राजदूत नियुक्त हुने देश
श्रीलंका
जापान
इजरायल
साउदी अरब
कतार
अस्ट्रेलिया
डेनमार्क
बहराइन
म्यानमार
बंगलादेश
दक्षिण कोरिया
युएई
ओमन नयाँ पत्रिका दैनिकबाट ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.