२०७३ फागुन २ गते १४:११ विकासन्युज
काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । आइतबार ४३ अंकले घटेको नेप्से सोमबार कारोबार शुरु भएको करिब तीन घण्टामा २४ अंकले घटेर १२२७ अंकमा झरेको छ ।
गत बिहीबार १२९६ अंकमा रहेको नेप्से परिसूचक घटेर १२२७ अंकमा झरेको छ । सेयर बजारमा दुई दिनमै करिब ७० अंकको गिरावट देखेपछि लगानीकर्ताहरु आत्तिएका छन् । गत सोमबारको तुलनामा यस सोमबारको करिब तीन घण्टाको सेयर कारोबारमा करिब १२१ अंकको गिरावट देखिएको छ । गत साताको सोमबार नेप्स परिसूचक १३४८ अंकमा रहेको थियो ।
बजारमा कारोबार भएको सबै समूहका परिसूचकहरु राताम्मे भएका छन् । १२६ कम्पनीको सेयर कारोबार मध्ये पाँच कम्पनीको सेयर मूल्यमा सामान्य वृद्धि भएको छ भने बाँकी कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । सोही अवधिसम्म करिब ३५ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
नेपाल धितोपत्र बोर्डका सह प्रवक्ता डा. नवराज अधिकारीले सेयर बजारको सुक्ष्म अध्ययन गरिहेको तर हस्तक्षेपबारे ठोस निर्णय भने नभएको बताए । ‘हामी बजारको सुक्ष्म अध्ययन गरिरहेका छौं, लगानी कर्ताको मनोबल कसरी उकास्ने भन्नेबारे सोचिरहेका छौं तर निष्कर्षमा पुगेका छैनौं र तत्कालै हस्तक्षेप गर्ने योजना बनाएका पनि छैनौं’, धितोपत्र बोर्डका सह प्रवक्ता डा. अधिकारीले भने । सेयर बजारको ठुलो लगानी मार्जिन लेण्डिङमा आधारित रहेकाले पनि बजारमा समस्या आएको हुन सक्ने उनले दावी गरे ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.