२०७३ फागुन ५ गते १५:३१ विकासन्युज
काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । साताको पहिलो दिन आइतबार करिब ४५ अंकले घटेको नेप्से परिसूचक मंगलबार १२७४ अंकमा अडिएको थियो । त्यसपछिको दुई दिनमै नेप्से परिसूचक करिब ७० अंकले उकालो लागेको छ । बिहीबार नेप्से परिसूचक २७ दशमलब ०५ अंकले उकालो लागेर १३४३ दशमलब ८५ अंकमा पुगेको छ ।
दुई दिनयताको बजारले अबको सेयर बजारमा सुधार आउने संकेत देखाएको छ, जसले गर्दा लगानीकर्ताको मुहारमा खुसीयाली छाएको छ । त्यस्तै, बिहीबार परिसूचकसँगै कारोबार रकममा पनि सुधार भएको छ । सो दिन बजारमा ६५ करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जुन रकम मंगलबारको तुलनामा करिब २५ करोड र बुधबारको तुलनामा करिब १३ करोड रुपैयाँ बढी हो । बिहीबार १४५ कम्पनीको २६ लाख ६५ हजार कित्ता सेयर किनबेच भएको छ ।
१४५ कम्पनीको सेयर कारोबार भएको बजारमा १३ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । जसमा चारवटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । नेपाल इन्स्योरेन्स कम्पनी, नविल ब्यालेन्स फण्ड १, एभरेष्ट इन्स्योरेन्स कम्पनी र एनबी इन्स्योरेन्स कम्पनीका सेयर मूल्य १० प्रतिशतले बढेको हो ।
बिहीबार कारोबार भएका अन्य समूह र उत्पादमूलक समूह बाहेक बाँकी समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २९० अंकले बढेको छ । त्यस्तै, बाँकी समूहको परिसूचक दोहोरो अंकले बढेका छन् । अन्य समूह र उत्पादमूलक समूहको क्रमशः ६.६५ र ६.३५ अंकले घटेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.