२०७३ फागुन २० गते १८:१५ विकासन्युज
नवलपरासी । चौधरी ग्रुपद्वारा नवलपरासीमा स्थापित शाश्वत धाम समुद्घाटनको सम्पूर्ण तयारी पूरा भएको छ । शाश्वत धामको उद्घाटन यही फागुन २४ गते राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा गरिने कार्यक्रम रहेको ग्रुपले जनाएको छ ।
शाश्वत धाममा शुक्रबारदेखि प्राणप्रतिष्ठाको पूजा प्रारम्भ भएको छ । शाश्वत धामको प्राणप्रतिष्ठा पूजा सनातन हिन्दू धर्मका आराध्यदेव श्री पशुपतिनाथ, काञ्ची कामाकोठी पीठ र आर्ट अफ लिभिङ्ग श्री श्री सेन्टरका विशिष्ट पूरोहितहरुबाट सम्पन्न हुनेछ । यो पूजा प्रारम्भ भएको मितिले ४५ दिनसम्म जारी रहनेछ । समुद्घाटनकै अवसरमा शाश्वत धाममा कुुम्भाविशेकम् सम्पन्न हुनेछ ।
चौधरी ग्रुपको सामाजिक एवं मानवीय कल्याणकारी निकाय चौधरी फाउण्डेसनले सनातन धर्मप्रति आस्थावान आम समुदायको चाहनालाई सम्मान गर्दै नवलपरासी देवचुली नगरपालिका वडा नं. २ दुम्कौली अवस्थित सिजी इन्डष्ट्रियल पार्क परिसरमा शाश्वतधाम निर्माण गरेको हो । समुद्घाटन समारोहमा आर्ट अफ लिभिङ्ग फाउण्डेसनका संस्थापक श्री श्री रवि शंकरजी, काञ्ची कामाकोठी पीठका शंकराचार्य जगद्गुरु जयेन्द्र सरस्वतीजी तथा यस क्षेत्रका प्रमुख धार्मिक गुरुहरु तथा लब्धप्रतिष्ठित महानुभावहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
“एउटा फरक सपना पुरा हुन लागेकोमा म खुसी छु । १६ बर्ष अघि शंकराचार्य जयेन्द्र सरस्वतीज्यूको आशिर्वचन र श्रद्धेय गुरु श्री श्री रविशंकरज्यूको मार्गदर्शनबाट शाश्वत धामको स्थापना सम्भव भएको हो । अहिले म उहाँहरुको स्वागतका लागि ब्यग्र प्रतीक्षामा छु” अध्यक्ष चौधरीले बताए ।
यही फागुन २४ गते धामको उद्घाटन र मन्दिरमा प्राणप्रतिष्ठा पश्चात सर्वसाधारणको लागि औपचारिक पुजाआजा, दर्शन तथा अवलोकन खुला गरिने ग्रुपले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.