बाहिरी चक्रपथमा १५० घर भत्काइँदै, कति पाउलान स्थानियले मुआब्जा ?

  २०७३ चैत १४ गते १२:०१     विकासन्युज

२०६५ सालमा तयार पारिएको डिपिआरमा देखिएका घर

काठमाडौं । बाहिरी चक्रपथको पाइलट प्रोजेक्टमा १५० भन्दा बढि घरहरु भत्काइने भएको छ । यतिबेला चोभार–सतुंगल खण्डको ६.६१८ किलोमिटर खण्डको काम अघि बढाउने अन्तिम तयारी भैरहेको छ । सो खण्डमा हाल १५० वटा घर पर्छन् । ‘चोभारदेखि सतुंगल क्षेत्रमा १५० भन्दा बढि घर निर्माण भएको देखिन्छ, ती सबैलाई भत्काउँछौं र जनतालाई उचित क्षतिपूर्ति दिन्छौं’, बाहिरी चक्रपथ आयोजनाका अधिकृत ध्रुव सापकोटाले विकासन्युजसँग भने ।

उनका अनुसार २०६५ सालमा सो क्षेत्रमा जम्मा १५ वटा घर मात्रै थिए । ती घरहरुको मुआब्जा जम्मा एक करोड ५१ लाख ५७ हजार ७ सय रुपैंयाँ मात्रै थियो । तर अहिले घर संख्या बढेर १५० नाघेको छ भने मुआब्जाको दर पनि ह्वात्तै बढेको छ ।‘बाहिरी चक्रपथ आयोजनाका कारण कोहि पनि सुकुम्बासी बन्नु पर्दैन भनेका छौं, घर भत्काउँदा न्यायोचित क्षतिपूर्ति दिन्छौं’, सापकोटाले भने ।

उनले बाहिरी चक्रपथ आयोजना अहिले बनाउन नसकिए कहिल्यै नबन्ने दावी पनि गरे ।‘ठुला बस्ती मासेर बाटो बनाउन सकिन्न, यहाँ पनि बस्ती विकास बढिरहेको छ, त्यसकारण अहिले बाहिरी चक्रपथ बनाउन नसके कहिल्यै सकिन्न’, सापकोटाले भने । तर अहिले भने कति मुआब्जा दिने भन्नेबारे कुनै ठोस निष्कर्ष निकालिसकिएको छैन् ।

पाइलट प्रोजेक्टका रुपमा अघि सारिएको सो खण्डको ८ हजार ९ सय ५६ रोपनी जमिन अधिग्रहण गर्नुपर्नेछ । सो क्षेत्रफलमा ४ मिटरको सडक १३ दशमलब ९९ किलोमटिर, ६ मिटरको सडक शुन्य दशमलब ४५ किलोमिटर, ८ मिटरको सडक ७९ दशमलब ०५ किलोमिटर र ११ मिटरको सडक १७ दशमलब १३ किलोमिटर निर्माण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.