२०७३ चैत १५ गते ८:१९ विकासन्युज
काठमाडौ । राष्ट्रपति सी जिनपिङले केरुङबाट काठमाडौं जोड्ने रेलमार्ग निर्माणका लागि ठोस प्रस्ताव ल्याउन नेपाललाई आग्रह गरेका छन्।
चीनको महत्वाकांक्षी योजना वान बेल्ट वान रोड (ओबिओआर) अन्तर्गत पर्ने सडक तथा रेल कनेक्टिभिटी (सञ्जाल) लाई सहयोग गर्ने चीनको घोषित नीति रहेको औंल्याउँदै उनले नेपालले रेलमार्ग निर्माणको प्रस्ताव गरे उचित हुने बताएका हुन्।
साताव्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति सीबीच सोमबार बेइजिङमा भएको भेटमा उक्त प्रस्ताव चिनियाँ राष्ट्रपतिबाट आएको हो। केरुङ–काठमाडौं रेलमार्ग निर्माणका लागि सर्भे गर्ने प्रस्ताव नेपालले गर्दा उचित हुन्छ। ओबिओआर अन्तर्गत पर्ने सडक तथा रेल सञ्जाललाई सहयोग गर्न चीन तयार छ, दाहाल र सीबीचको भेटमा सहभागी नेपाली प्रतिनिधिमण्डलका एक सदस्यले राष्ट्रपति सीलाई उद्धृत गर्दै भने।
ओबिओआर चिनियाँ राष्ट्रपतिले विशेष चासोका साथ अघि बढाएको चिनियाँ महत्वाकांक्षी योजना हो। दाहालसँगको भेटवार्ता पनि चिनियाँ राष्ट्रपतिले ओबिओआरलाई विशेष रूपमा उठाएका थिए। भेटमा राष्ट्रपति सीले भने, हामी ओबिओआरका सम्बन्धमा विभिन्न पक्ष राष्ट्रहरूसँग समझदारीपत्र (एमओयु) मा हस्ताक्षर गरी छिट्टै ओबिओआर सम्मेलन गर्दैछौं।
नेपालले पनि सम्मेलनअगावै एमओयुमा हस्ताक्षर गरिदियोस् भन्ने हाम्रो अपेक्षा छ। प्रधानमन्त्री प्रचण्डले भने केरुङहुँदै आउने रेलमार्ग काठमाडौंबाट लुम्बिनी जोड्न प्रस्ताव गरेको उल्लेख छ ।
चिनियाँ राष्ट्रपतिले ओबिओआरलाई गम्भीरताका साथ उठाएपछि प्रधानमन्त्री दाहालले यसअघि यससम्बन्धी एउटा एमओयुमा नेपालले हस्ताक्षर गरिसकेको स्मरण गराउँदै विस्तृत एमओयुमा हस्ताक्षर गर्ने तयारी भइरहेको जानकारी गराएका थिए। कनेक्टिभिटीका क्षेत्रमा सहयोग गर्न नेपालले आग्रह गरेपछि चिनियाँ राष्ट्रपति केरुङ–काठमाडौं रेल ओबिओआर योजनाअन्तर्गत पर्ने जनाउँदै निर्माणका लागि ठोस प्रस्ताव ल्याउन आग्रह गरेका थिए। नागरिक दैनिकबाट ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.