२०७३ चैत १५ गते १८:११ विकासन्युज
काठमाडौं । नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए प्रिपेडका उपभोक्ताहरु माझ एयरटाइम क्रेडिट सुविधा ल्याएको छ । उक्त सुबिधा अन्तर्गत जीएसएम तथा सीडीएमए प्रिपेड सेवाका सेवाग्राहीहरुले ब्यालेन्स नहुँदा कल गर्न लोन रकम पाउने कम्पनीले जनाएको छ ।
उक्त सुविधा सम्बन्धी नेपाल टेलिकम र हंकङ्गस्थित टिआक्साको लोकल एजेन्ट हेमन्त ट्रेड सेन्टर प्रा.ली. बीच सम्झौता भएको थियो । उक्त सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र हेमन्त ट्रेड सेन्टर प्रा.ली. को तर्फबाट सो प्रा. लि.का निर्देशक हेमन्त अग्रवालले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार उपभोक्ताले कम्पनीको जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै सकिएको ब्यालेन्समा लोन रकम उपलब्ध हुने कम्पनीले जनाएको छ ।
सीडीएमए तथा जिएसएम प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै ब्यालेन्स सकिए पनि कुराकानी निरन्तर भइरहोस् भन्ने उद्देश्यले कम्पनीले एयरटाइम क्रेडिटको सुविधा ल्याएको बताएको छ । यो सुविधा प्रयोग गरे वापत थप कुनै चार्ज वा ब्याज नलिई उपभोक्तालाई लोन रकम उपलब्ध हुने छ, र रिचार्ज पछि उपलब्ध हुने ब्यालेन्सबाट कट्टा हुने कम्पनीले जनाएको छ ।
सम्झौता अनुसार यो सुविधा आगामी ५ महिना भित्रमा सञ्चालन गर्ने कम्पनीको लक्ष्य रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.