राष्ट्र बैंकको नियमनमा अब सहकारी पनि, अर्बभन्दा माथिको विगोमा १० वर्षसम्म कैद

  २०७३ चैत १६ गते १३:३५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहकारी संस्थाहरूको हिसाव किताव जुनसुकै बेला पनि हेर्न पाउने गरी नयाँ सहकारी ऐनको ड्राफ तयार भएको छ । सहकारी संस्थाहरू छाडा भएर आम ऋणीलाई ठग्ने र हिसाव नदेखाउन परिपाटीको अन्त्य गर्न नयाँ सहकारी विधेयकमा यस्तो व्यवस्था गर्न लागिएको हो ।

सहकारीको मूल्य मान्यता पालना गराउने तथा सहकारीको हित प्रवद्र्धन र बजारीकरणको लागि नयाँ सहकारी ऐन आवश्यक भएकोले यस्तो ड्राफ तयार पारिएको सरकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता सुरेश प्रधानले बताए ।

‘नयाँ ऐन पास भएपछि सहकारी बैंकले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त गरेपछिमात्र आफ्नो कारोवार तथा सेवा सञ्चालन गर्न पाउने छ,’ उनले भने ‘बैंकले उनीहरूको नियमन गर्नेछ । ऐन पास भएपछि प्राकृतिक व्यक्तिमात्र सहकारीको सदस्य हुन पाउने व्यवस्था विधेयकमा उल्लेख गरिएको छ । विद्यमान ऐनमा व्यक्ति वा संस्था पनि सहकारीको सदस्य हुन पाउने व्यवस्था छ ।

सहकारी संस्थाहरूले एक अर्बभन्दा माथिको विगोमा १० वर्षसम्म कैदको व्यवस्था गरेको विधेयकमा उल्लेख गरिएको छ । उक्त विधेयकमा १ अर्बभन्दा बढी जतिसुकै रुपैयाँ भएपनि ८ वर्षदेखि १० वर्षसम्म कैदको व्यवस्था गरिएको छ । नयाँ ऐनमा १० करोड रुपैयाँभन्दा माथिको विगो भए ६ वर्षदेखि ८ वर्षसम्म कैदको व्यवस्था गरिएको छ । एक देखि १० करोडसम्म विगो भएमा ४ वर्षदेखि ६ वर्षसम्म कैदको व्यवस्था गरिएको छ ।

सहकारीले प्रदान गर्ने ऋण तथा ब्याजदरबीचको अन्तर ६ प्रतिशतभन्दा बढी भएमा त्यस्तो कार्यको गम्भिरता तथा प्रकृतिको आधारमा ५ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था नयाँ ऐनमा व्यवस्था गरिएको छ । कुनै सदस्यलाई आफ्नो पूँजीकोषले तोकेभन्दा बढी हुने गरी ऋण प्रदान गरेमा, सदस्य बनेको ३ महिनाअघिनै ऋण दिएमा ऐनले उक्त जरिवानको व्यवस्था गर्न लागेको हो ।

यदि ऐन पासभएमा शेयरपूँजीको दश गुणाभन्दा बढी हुने गरी बचत संकलन गरेमा तथा शेयर पूँजीको १५ प्रतिशतभन्दा बढी शेयर लाभांश वितरण गरेमा उक्त ऐन आकर्षित हुने व्यवस्था गरिएको छ । कुनै व्यक्ति वा सहकारी संस्थाले पुनः यस्ता कसुरहरु दोहोराएमा त्यस्ता व्यक्ति वा सहकारीलाई रजिष्ट्रार वा कार्यालय प्रमुखले प्रत्येक पटकको दोव्वर जरिवाना गर्न सक्ने छ ।

नयाँ ऐनमा सुरक्षित पूँजी फिर्ता कोषबाट कारोबारको आधारमा नाफाको बढीमा ४० प्रतिशतसम्म रकम फिर्ता दिने व्यवस्था गरिएको छ । ‘२०४८ मा बनेको सहकारी सम्बन्धी ऐन पुरानो भएको र ऐनले गरेका व्यवस्थाले कतिपय मुद्दाहरु सल्टाउन अप्ठ्यारो परेपछि मन्त्रालयले नियम उलंघन गर्नेलाई कडा सजायको व्यवस्था सहित विधेयक तयार पारेको छ,’उनले भने ‘यसको क्षेत्र तथा दायरामा पनि परिर्वतन गर्नु पर्नेछ ।

हाल भएका सहकारीलाई व्यवस्थित गर्न तथा नयाँ बन्ने सहकारी संस्थाले महानगरपालिकामा एउटा वडामा, उपमहानगरपालिकाले दुई वडा, नगरपालिकाको हकमा जोडिएका तीन वडा र गाउँपालिकामा सोही गाउँपालिकाको आफ्नो कार्य क्षेत्र विस्तार गर्न पाउने व्यवस्था ऐनले गरेको छ । विषयगत सहकारीमा भने यसको आधारमा ऐनले तोकिए बमोजिम कार्यक्षेत्र तथा अन्य व्यवस्था तोकिने छ ।

सहकारीमा बढ्दै गएको अनियमितालाई रोक्न तथा सहकारीलाई सुरक्षित एवम् पारदर्शी व्यवसाय बनाउन मन्त्रालयले समय सापेक्ष नयाँ ऐनको विधेयक तयार पारी व्यवस्थापिका संसद्को अर्थ समितिमा पठाएको हो । मन्त्रालयले गत साउत ७ गते उक्त विधेयक तयार पारी संसदीय समितिमा दर्ता गराएको थियो भने असोज १८ गते समितिमा गएपनि हालसम्म उक्त ऐनमा कुनै छलफल नभएको मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.