२०७४ वैशाख १६ गते १३:४७ विकासन्युज
काठमाडौं । मुलुकमा पछिल्लो समयमा जलविद्युत् आयोजना निर्माण हुने क्रम बढेसँगै त्यसको सुरक्षाको पाटोमा पनि विशेष ध्यान दिनुपर्ने र बीमा अनिवार्य गरिनुपर्नेमा जोड दिइएको छ ।
नेपाल विद्युत् प्राधिकरणले सञ्चालनमा ल्याएका केही आयोजनाको मात्रै बीमा गरिएको र सम्पूर्ण आयोजना भने बिमाको सञ्जालमा नजोडिएको तथा निजी क्षेत्रले अगाडि बढाएका आयोजना समेत त्यस्तै समस्या पाइएपछि जोखिम न्यूनीकरणको विषयले प्रवेश पाएको हो ।
जलविद्युत् लगानी तथा विकास कम्पनी र नेपाल हाइड्रोपावर एसोसिएसनको आयोजनामा शुक्रबार राजधानीमा आयोजित ‘जलविद्युत् एवम् पूर्वाधार निर्माणमा बीमाको महत्व’ विषयक कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जोखिम न्यूनीकरणका लागि बीमा गर्ने प्रणाली र संयन्त्रको विकास गर्नु जरुरी रहेको बताए ।
गोरखा भूकम्पको क्रममा माथिल्लो तामाकोसी, रसुवागढी, माथिल्लो त्रिशूली थ्री ए जस्ता ठूला र महत्वपूर्ण आयोजनामा क्षति पुगेको र त्यसको पुनःनिर्माण, क्षतिको मूल्याङ्कन तथा जोखिम व्यवस्थापनमा समेत लामो समय लागेका कारण समयमै ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
उनले प्राधिकरणका आयोजना नै बढी जोखिममा रहेको भन्दै प्राधिकरणले नियमित रुपमा बीमा गर्ने प्रणाली अगाडि बढाउने तथा निजी क्षेत्रका आयोजनालाई समेत बीमा गर्न प्रेरित गर्ने तयारीमा आफूहरु लागेको उल्लेख गरे ।
जलविद्युत् लगानी तथा विकास कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले जोखिम व्यवस्थापनका लागि बीमा अनिवार्य शर्त रहेको बताए ।
प्रिमियर इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत सुधुम्न आचार्यले मुलुकभित्रै बिमाका विभिन्न कार्यक्रम सञ्चालनमा आएकाले सहजरुपमा त्यसलाई अवलम्बन गर्न सकिने भएकाले आयोजना निर्माणमा सहजता थपिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल हाइड्रोपावर एसोसिएसनका महासचिव अरुण रजौरिया, स्वाती इन्टरप्राइजेजका निर्देशक पङ्कज ठाकुरले जलविद्युत् क्षेत्रमा बिमाको आवश्यकता र औचित्यका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.