२०७४ जेठ १३ गते ७:१९ विकासन्युज
अछाम । अछामको साँफेबगरबाट करिब १० किलोमिटर उकालो चढेपछि रिडिकोट पुगिन्छ । साँफेबगर मंगलसेन सडक खण्ड त्यही रिडिकोट गाउँको बीचैबीच गएको छ । सडकको दायाँतिर हेर्दा ठुल्ठूला महल देखिन्छन् । परम्परागत कलाले सिंगारिएका यी घर अहिले रित्ता छन् । कुनै घरका छाना पूरै भत्किएका छन् त कुनैका भत्किने क्रममा छन् ।
घरवरिपरि झाडीले ढाकिएको छ । हेर्दै रहर लाग्ने ती महल अचेल खण्डहरमा परिणत भइरहेछन् । कुनै बेला मानिसको चहलपहलले भरिने दरबारजस्ता महल खण्डहर बन्नुको एउटै कारण हो( तीव्र बसाइँसराइ । सिंगो परिवार बसाइँ सरेर देशका अन्य ठाउँमा गएपछि पुख्र्यौली सम्पत्तिका रूपमा रहेका रहरलाग्दा यी घर खण्डहरमा परिणत भएका हुन् ।
रिडिकोट गाउँमा कति घरको त अस्तित्व नै नामेट भइसकेको छ भने स्वाँर जातिका मात्र सात(आठवटा घर खण्डहरमा परिणत हुने अवस्थामा छन् । खण्डहर भएका र हुने क्रममा रहेका ती घर देशकै पहिलो दुःखान्त नाटककार पहलमानसिंह स्वाँर तथा पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरका आफन्तजनका हुन् ।
अछामका सम्भ्रान्त जातिमा पर्ने स्वाँर र ठकुरी जातिको बसोवास रहेको रिडिकोट गाउँ जिल्लामै सम्भवतः सबैभन्दा पहिले बसाइँसराइ गरी अन्यत्र जाने गाउँमध्ये पर्छ । बसाइँसराइ दर उच्च रहेको यस गाउँमा हाल बसोवास गरिरहेका अधिकांश परिवार पनि दोघरी (एक घर त्यहीँ र अर्को अन्यत्र भएका ) छन् । रिडिकोट एक उदाहरण मात्र हो । अछाममा बसाइँ सरेर गएका कारण खाली भएका र खाली हुने क्रममा रहेका थुप्रै गाउँ छन् ।
तत्कालीन बाइसे, चौबीसे राजामध्येका एक बिमकोटे राजाको अछाम, बिमकोटस्थित दरबार भत्किने अवस्थामा । सशस्त्र युद्धपछि सबै परिवार विस्थापित हुँदा दरबार खाली छ ।
राणाकाल अन्त्य सँगसँगै विशेषगरी तराईका जिल्लाहरू बाँके, बर्दिया, कैलाली, कञ्चनपुर तथा काठमाडौंलगायत देशका विभिन्न ठाउँमा बसाइँ सरेर जाने अछामीहरूको संख्या पछिल्लो समय बढ्दै गएको बताउनुहुन्छ, रिडिकोटकै स्थानीयसमेत रहनुभएका पूर्वसञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाह । उहाँका अनुसार यसरी बसाइँ सरेर जाने दुई वर्ग छन् । एक, आर्थिक रूपमा सम्पन्न वर्ग जो थप सुविधाको खोजीमा बसाइँ सरेका छन् ।
अछामका सम्भ्रान्त जातिमा पर्ने स्वाँर र ठकुरी जातिको बसोवास रहेको रिडिकोट गाउँ जिल्लामै सम्भवतस् सबैभन्दा पहिले बसाइँसराइ सर्ने गाउँमध्ये पर्छ । यो गाउँ अहिले करिब/ करिब रित्तिइसकेको छ ।
अर्को, एकदमै विपन्न वर्ग जो दुई छाक टार्न पनि मुस्किल हुने र समाजमा विभिन्न दुस्ख, कष्ट भोग्न बाध्य भएकाले बसाइँ सरेका छन् । सम्पन्न वर्ग प्रायस् तराईका सहर र काठमाडौं उपत्यकामा गएको र विपन्न वर्ग प्रायस् तराईका गाउँमा गएको शाह बताउनुहुन्छ ।
बसाइँसराइ गरेर अन्यत्र जानेमा विपन्नको भन्दा सम्भ्रान्त वर्गको नै बाहुल्य देखिन्छ । आर्थिक रूपमा सम्पन्न भए पनि चाहेअनुसार शिक्षा तथा औषधोपचारका लागि स्वास्थ्य सेवाको अभावजस्ता कारणले बसाइँसराइ गर्नेको दर बढेको हो । अर्कोतर्फ आफ्नै खेतबारीमा उब्जेको अन्नले परिवार पाल्न नसकिने भएपछि बसाइँ सरेर तराईतिर झर्नेको लर्को नै लाग्ने गरेको छ ।
तराईमा आफूसँग जमिन नभए अधियाँ गरेर पनि परिवार पाल्न सकिने तथा ऐलानी जग्गासमेत कमाउन सकिने भएपछि अधिकांश बसाइँ सरेर गएको पाइन्छ ।
आर्थिक रूपमा सम्पन्न भएकै कारण थप सुविधाको खोजीमा होस् वा दुई छाक टार्नकै लागि होस्, बसाइँ सर्ने दर बढ्दै जाँदा अछामका थुप्रै गाउँ खाली हुने अवस्थामा पुगेका छन् । अन्नपूर्ण पोस्टबाट ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.