२०७४ जेठ १९ गते १४:१६ विकासन्युज
चोयाल रिन्पुचे काठमाडौको बौद्धमा १९८५ मा मार्च ४ मा जन्मेका हुन् । सानैदेखि सहयोग गर्ने भावना भएका उनले नेपाल, भारत, र अन्य देशहरुमा अनाथालय र अपांगहरुको क्षेत्रमा काम गर्दै आएका छन् । अपांगहरुको क्षेत्रमा कार्यरत संस्था बिआइएका चोयाल रिन्पुचेसँगको कुराकानी ।
बिआइए भनेको के हो ?
बिआइए भनेको एक सामाजिक गैह्र सरकारी संस्था हो । यसले अपागंता भएका मानिसहरु वा हक अधिकारबाट बञ्चित भएका मानिसहरुको क्षेत्रमा काम गर्दै आएको छ ।
किन अपागंता भएका मानिसहरुको क्षेत्रमा काम गर्ने सोँच आयो ?
हुन त नेपालमा जता पनि जसलाई पनि सहयोग चाहिएको छ । तर विशेषगरी केमा सहयोगको खाँचो छ भनेर रिसर्च गर्दा अन्य मानिस भन्दा अपागंता भएका मानिसहरुले रोजगारी नपाउने , घरपरिवारको सहयोग नपाएको थु्रपै उदारणहरु भेटेँ । अपाँगहरुले केहि गर्न सक्दैनन् भन्ने समाजको विद्यमान धारणाहरु पनि भेटेँ । विभिन्न ठाउँमा तालिमहरु लिएर दर्जनौ सर्टिफिकेट बोकेर बस्नेहरु पनि देखेँ तर उनीहरुले दिर्घकालीन रुपमा रोजगारी नपाएको समस्या देखेँ । कसैले सामानहरु बनाए पनि बजारसम्म लगेर बेच्न सक्ने स्थिति रहेनछ । त्यसैले मलाई अपाँगहरुको क्षेत्रमा सहयोग गर्न मन लाग्यो ।
कसरी सहयोग गरिरहनु भएको छ ?
बिआइए भनेको उनीहरुको हक हितको लागि स्थापना भएको संगठन हो । जसले अपागँता भएका मानिसहरुलाई एउटै छातामुनि सिप सिकाउने र दिर्घकालिन रुपमा रोजगारी समेत दिने गर्छ । उनीहरुले बनाएको सामानहरुलाइ बजार ब्यवस्थापन गरिदिने र त्यो पैसा उनीहरुकै हक हितको लागि प्रयोग गर्ने गछौ ।
बजार व्यवस्थापन कसरी गरीरहनु भएको छ ?
यहाँ विभिन्न किसिमका सामानहरु बनीरहेको प्रत्यक्ष देख्न सकिन्छ । थान्का, व्याग, अगरबत्ती देखि लिएर ह्याण्डिक्र्याफ्ट्टका विभिन्न आइटमहरु बनाउने सिकाउने र बनाउदै गरेको देख्न सकिन्छ । कहिले मानिसहरु संस्थामा हेर्ने आउँछन् । त्यहि क्रममा कति मानिसहरुले उनीहरुले बनाएको सामानहरु किनेर लैजान्छन् । कहिलैकाहि हामीले बजारमा अर्डर आएपछि त्यहाँ लैजाने काम पनि गर्छाै । अनि विदेशमा मैले पढाएका विद्यार्थीहरु नेपालमा घुम्न आउँदा उनीहरु पनि यहाँ हेर्न आउने र सामानहरु पनि किनेर लैजाने गर्छन । यसरी उनीहरुले बनाएको सामानहरुको बजार व्यवस्थापन गरेको छौ ।
यो सस्था कुन कुन जिल्लामा सञ्चालनमा छ ?
अहिले काठमाडौमा केन्द्रित छ । जहाँ ११० जनाले सिपका साथै रोजगारी पाइरहनुभएको छ । तर यहाँ आएका मानिसहरु सुदरपश्चिमदेखि पुर्व सम्मका छन् । विभिन्न मानिसहरुले सम्पर्क गरेपछि हामीहरुले उनीहरुलाइ यहाँ ल्याएको हो ।
विकट जिल्लाका मानिसहरुलाई यस्तो सस्थामा आउन त गाह्रो होला नी ?
त्यसैलाई मध्यनजर राख्दै हामी अब चाँडै नै यसलाई सबै अञ्चलमा पुर्याउने योजना बनाइरहेका छौ । जसले गर्दा अपागंता भएका मानिसहरुले आफ्नै ठाउँमा बसेर रोजगारी पाउन सकुन र खुसी साथ बाच्न सकुन ।
संस्था चलाउन लगानी कसरी व्यवस्थापन गरिहनुभएको छ ?
मैले अहिलेसम्म कोही कसैबाट केहि रकम लिएको छैन । सहयोगी मन भएपछि जे पनि सकिँदो रहेछ । सुरुमा मैले आफ्नै घरमा संस्था चलाएँ । अहिले त धेरै जना हुनुभयो । त्यसैले छुट्टै घरको आवश्यकता पर्यो । विशेषगरी म विदेशमा टिचिङ गर्छु । टिचिङको क्रममा अमेरिका, चाइना, भुटान लगायतका देशमा गइरहन्छु । मैले टिचिङ गर्दा उनीहरु मेरो टिचिङ सिक्न टिकट किनेर आउँछन् । कसैले १० डलर , कसैले २० डलर दिन्छन् । त्यस्तै हाल अपांगहरुले बनाएका सामानहरुबाट आएको पैसाले २० प्रतिशत कभर गरीरहेको छ ।
के सधैभरी यसरी चलाउन सकिन्छ त ?
मेरो इच्छा भनेको विस्तारै अपांगहरुलाई नै यो संस्था चलाउन लगाउने छ । भर्खर उनीहरु काम गर्दै छन् । सिक्दै छन् । विस्तारै उनीहरुले नै यसलाई सेल्फ सस्टेनेबल बनाउन भन्ने छ । मलाइ विश्वास छ भविष्यमा उनीहरुले नै यो संस्था चलाउने छन् ।
अपांगता भएकाहरुलाइ बस्ने पनि सुविधा छ कि ?
बस्ने पनि सुविधा छ । जसको आधा शरीर चल्दैन । यहाँ कोही आफन्त छैन । त्यस्ता मानिसहरुको लागि हामीले खाने बस्ने लगायतका सुविधा पनि दिएका छौ । उनीहरुको सरसफाइ देखि लिएर सबै हेर्ने मान्छे रोखेका छौ ।
त्यस्तो भए त महिनामा लाखौ खर्च लाग्छ होला नी ?
पक्कै लाग्छ । प्रत्येक महिनामा सबै खर्च गरेर १५ लाख हुन्छ । कहिले काहि खर्च व्यवस्थापन गर्न गाह्रो हुन्छ । तर मलाई आशा छ एकदिन मेरो मेहेनत खेर जाने छैन । मैले जसको लागि यो सब गरिरहेको छु उनीहरुले नै संस्थालाई नेपालभरी सञ्चालन गर्नेछन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.