२०७४ असार १ गते ७:१७ विकासन्युज
काठमाडाै । धुलिखेल–सिन्धुली–बर्दिबास जोड्ने बिपी राजमार्ग १५ दिन ९१५ असार० भित्र पूर्ण सञ्चालनमा आउने भएको छ । गत ९ फागुनमा सिन्धुलीको खुर्कोट–खाल्टे खण्डमा पहिरो गएर भासिएको करिब ३० मिटर सडक १५ दिनभित्र बनाइसक्ने बिपी राजमार्ग आयोजनाले जानकारी दिएको छ ।
भत्किएको ठाउँमा निर्माण गर्नुपर्ने सडक संरचना निर्माण ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको आयोजनाका निमित्त प्रमुख राकेश महर्जनले नयाँ पत्रिकालाई जानकारी दिए । ‘अब भित्तामा पर्खाल निर्माण गर्ने र सडक कालोपत्रे गर्ने काम मात्र बाँकी छ,’ उनले भने ।
हाल पहिरो गएको स्थानमा वैकल्पिक मार्ग प्रयोग गरी सवारी आवतजावत भइरहेको छ । नियमित सडक अवरुद्ध भएपछि पूर्वी तराई तथा मध्यपहाडी जिल्ला आवतजावत गर्न असहज रहेको छ । यस राजमार्ग हुँदै दैनिक ५ हजारको हाराहारीमा सवारीसाधन ओहोरदोहोर गर्ने गरेको ट्राफिक प्रहरीको तथ्यांक छ ।
पुनर्निर्माण तथा मर्मतमा ३ करोड खर्च
आयोजना कार्यालयका अनुसार भत्किएको ठाउँमा करिब १ सय मिटर सडक पुनर्निर्माण तथा मर्मत भइरहेको छ । पुनर्निर्माण तथा मर्मत गर्न ३ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो । तर, आयोजना कार्यालयका अनुसार लागत अनुमानभन्दा कम रकममै तोकिएको निर्माण कार्य सम्पन्न हुने भएको छ । बाँकी रहेको रकम भने बिपी राजमार्गकै खहरे र चैनपुर खण्ड मर्मत गर्न खर्च गरिनेछ । ‘यी दुई ठाउँमा पनि सडक भत्किन सक्ने सम्भावना उच्च रहेकाले मर्मत गरिनेछ,’ निमित्त प्रमुख महर्जनले भने ।
२२ ठाउँ भत्किने जोखिममा
१ सय ६० किलोमिटर लामो बिपी राजमार्गअन्तर्गत थप २२ ठाउँमा सडक भत्कने उच्च जोखिम रहेको अध्ययनले देखाएको छ । जापानबाट आएको टोलीले गरेको सडकको पूर्ण परीक्षणले यस्तो देखाएको हो । पहिचान भएका ठाउँमध्ये १४ लाई उच्च जोखिम र ८ जोखिमयुक्त भनिएको छ । ती ठाउँमा समयमै मर्मत र निर्माण नगर्ने हो भने त्यसले दुर्घटना निम्त्याउन सक्ने महर्जनको भनाइ छ । न्यून जोखिमयुक्त ८ ठाउँको मर्मत नेपाल सरकारले नै गर्ने तयारी गरिरहेको छ ।
जापानसँग डेढ अर्ब अनुदान माग
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उच्च जोखिमयुक्त ठाउँको सडक निर्माण गर्न जापानसँग १ अर्ब ४० करोड रुपैयाँ माग गरेको छ । प्रस्तावबारे जापानले औपचारिक रूपमा केही बताएको छैन । ‘तर, मर्मत गर्नका लागि जापान सरकार पनि सकारात्मक रहको छ,’ महर्जनले भने ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०ले भने जोखिमयुक्त ठाउँको सडक मर्मत र निर्माण गर्न परामर्शदाता छनोट प्रक्रिया थालेको छ । यसले पनि बिपी राजमार्गको अबको मर्मत र पुनर्निर्माणमा पनि जापानले सहयोग गर्ने देखिएको आयोजनाका अधिकारीहरूको भनाइ छ । जाइकाले ‘सिन्धुली रोड मेन्टिनेन्स युनिट’समेत गठन गरेको छ ।
बिपी रार्जमार्गमा सार्वजनिक यातायात सञ्चालनमा कडाइ
यातायात व्यवस्था विभागले बिपी राजमार्गमा १७ सिटभन्दा बढी क्षमता भएका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । राजमार्गमा सार्वजनिक यातायात सञ्चालनलाई प्रभावकारी बनाउन भन्दै १० टनभन्दा बढी क्षमताका सवारीसाधन गुडाउनेलाई कारबाही गर्ने विभागले जनाएको छ । बुधबार सार्वजनिक सूचनामार्फत विभागले यस्तो जानकारी गराएको हो । काठमाडौंदेखि धुलिखेल, खुर्कोट, सिन्धुली बर्दिबास सडक भएर गुड्ने सार्वजनिक यात्रुबाहक साधन राति गुड्न नपाउने भएको यातायात व्यवस्था विभागका प्रवक्ता डा। टोकराज पाण्डेले जानकारी दिए । यसअघि नै बिपी राजमार्गमा यस्तो व्यवस्था भए पनि प्रभावकारी कार्यान्वयन भएको थिएन ।
ठूला सवारीसाधनका लागि अनुपयुक्त सडक
बिपी राजमार्ग साना र मध्यमस्तरका सवारीसाधन गुडाउने गरी डिजाइन गरिएको थियो । अहिले सडक भत्किने जोखिम देखिनुमा ठूला गाडीको आवतजावतलाई पनि मानिएको छ । उक्त सडक निर्माणमा लामो समयदेखि संलग्न पूर्वआयोजना प्रमुख भरतकाजी देबजुका अनुसार क्रेन, डोजर हेवी तौल बोक्ने ट्रकका लागि यो सडक उपयुक्त छैन ।
१० टनभन्दा ठूलो गाडी गुडाउँदा सडकमा नकारात्मक असर पर्छ । सुनकोसी नदीको ठीक माथिको भागमा पर्ने राजमार्गमा १० टनभन्दा ठूला गाडी गुडाउन नहुने गत वर्ष नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको समितिको प्राविधिक मूल्यांकनले समेत देखाएको थियो ।
जापानको सहयोगमा निर्माण गरिएको १ सय ६० किलोमिटर लामो बिपी राजमार्ग आर्थिक वर्ष ०५३(५४ देखि निर्माण थालेर १८ वर्षपछि आव ०७१(७२ मा सम्पन्न भएको थियो । आयोजना औपचारिक रूपमा करिब २ वर्षअघिदेखि मात्र सञ्चालनमा आएको हो । राजमार्गमा अत्याधुनिक प्रविधिको प्रयोग गरिएको र वातावरणमैत्री मानिन्छ । सडक आयोजना तयारीमा अधिक समय र बजेट खर्च गरिएको यस सडकको चौडाइ भने कम छ । यो राजमार्ग ३० अर्ब रुपैयाँ लागतमा निर्माण भएको थियो । नयाँ पत्रिका दैनिकबाट ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.