२०७४ असार १६ गते १०:३५ विकासन्युज
काठमाडौं । एनसीसी बैंकसँग मर्ज तोडेको कुमारी बैंकले आफ्नो अस्तित्व र नेतृत्वलाई स्थापित गरेको छ । कुमारी बैंकले काष्ठमाण्डप डेभलपमेन्ट बैंक, महाकालि विकास बैंक, काँक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स प्राप्तिगरी शुक्रबारदेखि एकिकृत कारोबार गरेको छ ।
तीन विकास बैंक र एक फाइनान्स कम्पनी प्राप्तिपछि कुमारी बैंकमा १ अर्ब ६० करोड रुपैयाँ सेयर पुँजी थपिएको छ । चार वटै संस्थाको सेयर स्वाप रेसियो १०० बराबर ८५ कायम गरिएको छ । कुमारीमा गाभिएका चार वटै संस्थाका सेयरधनीले आफूसँग भएको १०० कित्ता बराबर कुमारी बैंकको ८५ कित्ता सेयर पाउने भएका छन् ।
हाल कुमारी बैंकको चुक्ता पुँजी ४ अर्ब ६१ करोड रुपैयाँ छ । ‘चार वित्तीय संस्था प्राप्तिपछि कुमारी बैंकको चुक्ता पुँजी ६ अर्ब नाघेको छ’ कुमारी बैंकका डेपुटी सीईओ राजीव गिरीले भने–‘२० प्रतिशत हकप्रद सेयर निष्काशन प्रक्रियामा रहेको छ । त्यसबाट १ अर्ब ६० करोड पुँजी थपिन्छ । चालु आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गरी बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुग्छ ।’
२० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय साधारणसभाबाट भईसकेको र कुमारी बैंकका गभिएका संस्थाका सेयरधनीले पनि २० प्रतिशत हकप्रद सेयर पाउने उनले बताए ।
मर्जपछि बैंकको निक्षेप करिव ५२ अर्ब, कर्जा करिव ४६ अर्ब रुपैयाँ भएको छ । शाखा ७४ वटा भएका छन् । कर्मचारी संख्या करारसहित करिव ८०० जना भएका छन् । मर्ज नभइ एक्विजिशन भएकोले कुमारी बैंक लिमिटेडको नाम, केन्द्रीय कार्यालय, सञ्चालक समिति सबै यथावत रहने छ ।
काष्ठमाण्डप डेभपलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भण्डारी कुमारी बैंकको डेपुटी सिईओ बन्ने भएका छन् । बैंकले एक महिनाअघि मात्र प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्र भण्डारीलाई नियुक्त गरेको छ ।
बारम्बार विभिन्न वाणिज्य बैंकसँग मर्जको चर्चामा आउने गरेको कुमारी बैंक अरु बैंकसँग विलय हुन सक्ने अनुमान गरिदै आएको थियो । चार वित्तीय संस्था प्राप्तिमा सफलतापछि अब कुमारी बैंक अरुमा मर्ज हुने सम्भावना पुरै टरेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.