कुलमानको कमाल-प्राधिकरणको सञ्चालन मुनाफा २ अर्ब ४० करोड, आम्दानी ५० अर्ब २२ करोड

  २०७४ साउन १२ गते १७:४१     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २ अर्ब ४० करोड सञ्चालन मुनाफा कमाएको छ । प्राधिकरणले गत आर्थिक बर्ष २०७३/७४ मा ५० अर्ब २२ करोड आम्दानी गरेर ४७ अर्ब ८२ करोड खर्च गरेको हो । प्राधिकरणले सञ्चालन मुनाफा २ अर्ब ४० गरेको भएपनि ऋणको सावा र ब्याज तिर्दा भने अझै ९७ करोड नोक्सानीमै रहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङका अनुसार आर्थिक बर्ष २०७२/७३ मा प्राधिकरण ३ अर्ब ६ करोड सञ्चालन नोक्सानीमै थियो । सावा र ब्याज तिर्दा प्राधिकरणको नोक्सानी ८ अर्ब ८९ करोड पुगेको थियो । नव नियुक्त उर्जा मन्त्री महेन्द्र बहादुर शाहीलाई स्वागत गर्न आयोजीत कार्यक्रममा कार्यकारी निर्देशन घिसिङले चालु आर्थिक बर्षमै प्राधिकरण खुद मुनाफाको अवस्थामा पुग्ने पनि बताए ।

उनले मन्त्रालय, कर्मचारी र आफ्नो टिमको संयुक्त प्रयासले जनतालाई लोडसेडिङको अध्यारोबाट मुक्त गरेको पनि बताएका थिए । ‘विद्युत चुहावट २५ प्रतिशतबाट २२ दशमलब ९ प्रतिशतमा झरेको छ, अब यो अझै सुध्रिँदै जान्छ’, घिसिङले भने । उनले ११ हजार १ सय ४२ को दरबन्दी रहेकोमा हाल ८ हजार ८ सय १७ जना मात्रै कार्यरत रहेको बताए । इञ्जिनियर र तल्लो तहका कर्मचारीको ठुलो अभाव रहेकाले आवश्यक सहयोगको अपेक्षा पनि मन्त्री शाही समक्ष गरेका थिए ।
हाल प्राधिकरणका ६० वटा आयोजनाहरुले ४४१ मेगावाट विद्युत उत्पादन गरिहेका छन् । त्यस्तै, १ सय ५१ वटा आयोजनाहरुबाट २ हजार ९ सय ३३ मेगावाट विद्युत उत्पादनका परियोजना निर्माण भैरहेका छन् । निजी क्षेत्रका ६० वटा आयोजनाले ४४१ दशमलब शुन्य ५ मेगावाट विद्युत उत्पादन गरिरहेका छन् । निजी क्षेत्रबाट चालु आर्थिक बर्षमै २७ वटा आयोजनाबाट २४९ दशमलब ८८ मेगावाट विद्युत उत्पादन हुने पनि घिसिङले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.