२०७४ साउन २० गते ७:४७ विकासन्युज
काठमाडौं । भारतबाट आयात भइरहेको बिजुलीको भाउ बढ्ने भएको छ । नेपाल र भारतबीच आउदो मंगलबारदेखि विद्युत आदनप्रदान समिति (पावर एक्सचेन्ज कमिटी) को बैठकले यस विषयमा निर्णय गर्ने छ । भारतको नयाँदिल्लीमा बस्ने समिति बैठकले नेपाललाई बेच्ने बिजुलीको नयाँ मूल्य तय गर्ने छ । जसले बिजुलीको मूल्य बढाउने छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिग र त्यहाँका केन्द्रीय विद्युत प्राधिकरणका अध्यक्षले बैठकको नेतृत्व गर्ने कार्यक्रम छ ।
साढे ५ प्रतिशत बिजुलीको भाउ बढ्ने संभावना छ । आदनप्रदान अन्र्तगत गत वर्ष विद्युत प्राधिकरणले २०५ मेगावाट बढी बिजुली खरिद गरेको छ ।
बैठकमा नयाँ बिजुलीको मूल्य निर्धारण गर्ने विषयमा छलफल हुने प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बताए । उनले बिजुलीको भाउ बढ्ने संभावना रहेको जानकारी दिए । “सकेसम्म हामी मूल्य बढाउन नदिने तयारीमा छौ” उनले भने “यसअघि नै वार्षिक साढे ५ प्रतिशत बढाउने सहमति भएको रहेछ, यसले समस्या पारेको छ ।”
लामो केही वर्षयता समितिको बैठक नबस्दा विद्युतको नयाँ मूल्य निर्धारण हुन सकेको थिएन् । बैठक नबस्दा नेपालले पुरानै दरमा बिजुली खरिद गर्दे आएको छ । सन् २०११ यता समिति बैठक बसेको छैन । वर्षेनी साढे ५ प्रतिशतका दरले बिजुलीको मूल्य बढ्ने भनेपनि कार्यन्वयन भएको छैन् । पावर एक्सचेन्जअन्तर्गत बिहार, उत्तरप्रदेश र केही उत्तारखण्डबाट बिजुली आयात हुने गरेको छ ।
गत मार्चसम्म ३३ केभी प्रसारणलाइनबाट प्रतियुनिट ९ रुपैयाँ ६० पैसा अर्थात ६ भारु, यस्ते १३२ केभी प्रसारणलाइनबाट प्रतियुनिट ९ रुपैयाँ थियो । यो दर चुहावट बाहेक हो । गत मार्चपछि प्राधिकरणले यही दर तिर्दे आएको छ । सम्झौताअनुसार मार्चपछि बिजुलीको भाउ साढे ५ प्रतिशत बढ्नु पर्ने हुन्छ । प्राधिकरणको प्रणालीबाट २३ प्रतिशत बिजुली चुहावट हुने गरेको छ । लोडसेडिङ हटाउन गत वर्ष भारतबाट ३८० मेगावाटसम्म बिजुली आयात भएको थियो ।
गत वर्षमा ११ आयोजना सम्पन्न भई १२२ मेगावाट बिजुली थप भएको छ । यो वर्ष १५० मेगावाट बिजुली थप हुने अनुमान गरिएको छ । नेपालमा उत्पादन बढ्दै गएपछि भारतबाट विस्तारै बिजुली आयात घटाउदै लैजाने प्राधिकरणको तयारी छ ।
यो वर्ष विद्युतको आयात घटाउने प्राधिकरणका तयारी छ । अब विस्तारै भारतबाट विद्युत आयात कम गर्दे लैजाने कार्यकारी निर्देशक घिसिङले बताइसकेका छन् । ४५६ मेगावाटको माथिल्लो तामाकोसी सञ्चालनमा आएपछि वर्षादमा बिजुली बढी हुने र सुख्खामा केही परिमाण भारतबाट आयात गर्नुपर्ने अवस्था छ । तामाकासी सञ्चालनमा आएपछि विद्युत प्राधिकरणले वर्षादमा बढी भएको बिजुली भारतमा निकासी र सुख्खामा भारतबाट खरिद गर्नका लागि ऊर्जा बैकिङ योजना ल्याउन लागेको छ ।
नेपालमा वर्षेनी ९ प्रतिशतका दरले बिजुलीको माग बढ्ने गरेको छ । झण्डै १५ वर्षपछि नेपालमा सबै भन्दा बढी बिजुली उत्पादन भएको छ । गत वर्ष निजी लगानीका ११ आयोजना सम्पन्न भई १२२ मेगावाट बिजुली प्रणालीमा जोडिएको छ ।
यो वर्ष सार्वजनिक र निजी क्षेत्रबाट गरी साढे २ सय मेगावट बिजुली उत्पादन गर्ने प्राधिरकरणको तयारी छ । ४४ मेगावाट विद्युत प्राधिरकण र बाँकी निजी क्षेत्रबाट उत्पादन हुने लक्ष्य लिएको छ । यस्तै ६१ मेगावाट बिजुली सोलार प्रविधिबाट उत्पादन हुने बिजुली खरिद सम्झौता (पीपीए) अन्तिम चरणमा पुगेको छ । साढे २ सय मेगावाटका लक्ष्य राखेपनि न्युनतम १८० मेगावाट बिजुली थप हुन सक्ने घिसिङको भनाई छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.