२०७४ साउन २६ गते ११:३२ विकासन्युज
काठमाडौं। के तपाईं जागिर नपाएर चिन्तित हुनुहुन्छ ? राजधानीको प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा शुक्रबारदेखि बेरोजगार युवालाई लक्षित गरेर ‘जव् एण्ड करिअर फेयर’ (जागिर र अवसर मेला) सुरु हुँदैछ । फेयरमा नेपालका १८ र भारतका दुई कम्पनीले सिधै रोजगारको अवसर दिनेछन् ।
शुक्रबार र शनिबार दुई दिनसम्म चल्ने मेलामा रोजगारदाता र बेरोजगार युवाबीच सिधै सम्पर्क गराई जागिरको अवसर दिलाउनका लागि फेयर आयोजना गर्न लागेको कार्यक्रम संयोजक शंकर भट्टराईले जानकारी दिए ।
एउटै छानामुनि जागिरको अवसर जुटाउनका लागि फेयर गर्ने उनले बताए । ‘बेरोजगार युवा रोजगारीका लागि कतै भौँतारिन नपरोस् भन्नका लागि हामीले एउटै छानामुनि कम्पनीलाई आवश्यक कर्मचारी उपलब्ध गराउने भएका हौं,’ उनले भने, ‘फेयरमा युवाले कम्पनीमा रोजगारका लागि निवेदन दिन्छन् र कम्पनीले योग्यलाई छनोट गरेर जागिर दिन्छन् ।’
ती कम्पनीले आफूलाई आवश्यक जनशक्ति फेयरबाट नै छनोट गर्ने भट्टराईले बताए।
उनका अनुसार नेपालका सिप्रदी, क्लासिटेक, विरला टायर, सुविसु, डिसहोमलगायत र भारतका रिलायन्स, जिओ मोबाइल कम्पनी र रिलायन्स होटल सहभागी हुनेछन् ।
फेयरमा युवाले आफ्नो व्यक्तिगत विवरण ती कम्पनीलाई बुझाउनेछन् र ती कम्पनीले मेलाबाटै अन्तर्वार्ता लिएर योग्य कर्मचारी छान्नेछन् । अधिकारी क्रियटिभ कन्सर्नको आयोजनामा फेयरमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.