चीनसँग ३ सम्झौता: किमाथांका, हिल्सा, कोरला, ओलाङचुङगोला नाकालाई व्यवस्थित बन्दै

  २०७४ साउन ३२ गते ६:४१     विकासन्युज

 

काठमाडौं । चिनियाँ उपप्रधानमन्त्री वाङ याङले नेपालसँग सीमा जोडिएका पुराना र नयाँ नाका सबैलाई व्यवस्थित र अत्याधुनिक बनाउनुपर्ने बताएका छन्। दुईपक्षीय सहकार्य बलियो बनाउन आर्थिक गतिविधिले मुख्य भूमिका निर्वाह गर्ने उल्लेख गर्दै वाङले त्यसका लागि नाका व्यवस्थित गर्न आवश्यक रहेको बताएका हुन्। चिनियाँहरूले लगानी गर्न र दुईपक्षीय व्यापारिक गतिविधि बढाउन चाहिरहेको अवस्थामा स्टेट काउन्सिलका वरिष्ठ नेतासमेत रहेका वाङको यस्तो धारणा आएको हो।

चीनको स्वशासित क्षेत्र तिब्बतसँग नेपालका १५ जिल्लाको सिमाना जोडिएको छ। ती हरेक जिल्लाबाट चीनतर्फ कुनै न कुनै खालको सडक मार्ग छ। त्यसमध्ये चीनले पछिल्लो समय रसुवागढी र तातोपानीसँगै किमाथांका, हिल्सा, कोरला, ओलाङचुङगोलालगायत नाकालाई व्यवस्थित गर्ने बताउँदै आएको छ।

मंगलबार भएको द्विपक्षीय वार्तामा वाङले दुईपक्षीय सहयोग र सहकार्य बढाउन कनेक्टिभिटी पहिलो प्राथमिकता रहेको बताए। उनले भने, ‘हामी सडक सञ्जालमा जति धेरै जोडिन सक्छौं उति धेरै सहकार्य हुनेछ।’ नेपाल–चीनबीच आर्थिक गतिविधि बढिरहेको भन्दै उनले नेपालको विकास, पर्यटन, पूर्वाधारमा चीन सधैं सघाउन तयार रहेको स्पष्ट पारेको पनि सहभागीहरूले बताए।

चीनले रसुवागढी–केरुङ नाकालाई मात्र बढी महत्त्व दिएको टिप्पणी भइरहेको अवस्थामा चिनियाँ उपप्रधानमन्त्रीले भूकम्पपछि बन्द रहेको तातोपानी नाकालाई थप व्यवस्थित र सहज बनाउन सहयोग गर्ने बताए। उनकै उपस्थितिमा मंगलबार नै कोदारी राजमार्गको स्तरोन्नतिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

यसअनुसार चीनले काठमाडौं–कोदारी सडक चौडा र रसुवागढीको टिमुरेमा पुल निर्माण गर्न करिब १५ अर्ब रुपैयाँ (एक अर्ब आरएमबी) सहयोग गर्नेछ। तत्कालीन राष्ट्रपति रामवरण यादवले बोआओ फोरममा सहभागी हुने क्रममा तीन वर्षअघि चीन भ्रमण गर्दा नै यो रकम सहयोग गर्ने प्रतिबद्धता जनाइएको थियो। चीनले तातोपानी नाकाको स्तरोन्नति र रसुवागढी–केरुङ नाकाको व्यवस्थापन सँगै अघि बढाउन लागेको हो। दुवै नाकालाई नयाँ नाकाझैं मर्मत र व्यवस्थित गर्नुपर्नेमा जोड दिँदै चिनियाँ पक्ष बढी सकारात्मक बनेको हो। अर्थसचिव शान्तराज सुवेदीले कोदारी राजमार्ग चौडा भएपछि छिट्टै सञ्चालनमा आउने विश्वास व्यक्त गरे।

चीनसँग सम्झौता

१. आर्थिक तथा प्राविधिक सहयोग सम्झौता

२. लगानी तथा आर्थिक सहयोग प्रवद्र्धनको खाका सम्झौता

३.  पेट्रोलियम पदार्थको अन्वेषणसम्बन्धी सम्झौता
कान्तिपुर दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.