पूर्वाधार बन्ने भएपछि चिनियाँ ईन्धन ल्याउन बाटो खुल्यो, नेसनल ट्रेडिङले चीनबाट ईन्धन आपूर्ति गर्ने

  २०७४ साउन ३२ गते १९:२१     विकासन्युज

काठमाडौं । चीनले नेपालसँगका नाका खोल्न सडकसञ्जाल बनाउने भएपछि चिनियाँ ईन्धन आपूर्ति गर्न बाटो खुलेको छ ।

नेपाल-चीनसँग रणनीतिक महत्व बोकेको सीमाका पुराना र नयाँ नाका जोड्ने सडकसञ्जाल निर्माणका लागि चीनले प्रतिबद्धता देखाएपछि ईन्धन ल्याउनका सहज हुने देखिएको छ ।

मंगलबार भएको द्विपक्षीय वार्तामा चिनियाँ उपप्रधानमन्त्री वाङ याङले कनेक्टिभिटी पहिलो प्राथमिकता रहेको बताएका थिए । काठमाडौं-चीन जोड्ने नाका खोल्नका लागि कोदारी सडक चौडा र रसुवागढीको टिमुरेमा पुल निर्माण गर्न नेपाललाई करिब १५ अर्ब रुपैयाँ (एक अर्ब आरएमबी) सहयोग गर्न चीन सहमत भएको थियो ।

चीनसँगको नाका जोड्ने सडक सञ्जाल निर्माण हुनेभएसँगै ईन्धन आपूर्तिको लागि फेरि बाटो खुलो आपूर्ति मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।
दुई वर्ष अगाडी भारतिय नाकाबन्दीमा निकै चुलिएको विषय बनेको थियो ‘चिनियाँ ईन्धन’ । भौतिक पूर्वाधार नपुगेर अघि बढ्न नसकेको चीनबाट पेट्रोलियम तथा ग्यास आपूर्ति गर्न ढोका खुलेको हो ।

सन् २०१६ को मार्च २० देखि २७ तारिखको तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणका क्रममा १५ बुदामा सम्झौता भएको थियो । सोही सौम्झताको आठौं बुदामा इन्धन आयात गर्ने र भण्डारण क्षमता विस्तार गर्ने रणनीतिक सहमती भएको थियो ।

चीन सरकारले नेपाललाई १३ लाख लिटर पेट्रोल अनुदानमा समेत दिएको थियो । तर, नाकाबन्दी खुलेसँगै यो बिषय आम चासोबाट हट्यो । विकास न्यूजसँग कुरा गर्दै भने, ‘चीनसँगको नाका जोड्ने सडकको खराबीका कारण ईन्धनका लागि काम रोकिएको थियो । अब चीनले बाटो र पुल बनाउने भएपछि ईन्धन ल्याउन मिल्ने सम्भावना बढेको छ ।’

ईन्धनको आपूर्तिको जिम्मा नेसनल ट्रेडिङलाई दिने तयारी

चीनबाट ईन्धन आपूर्तिको जिम्मा सरकारी स्वामित्वको संस्थान नेशनल ट्रेडिङलाई दिने तयारी गरेको छ । आपूर्ति मन्त्रालयले चीनबाट ईन्धन आपूर्तिका अध्ययन गरिरहेको र त्यसको जिम्मेवारी नेसनल ट्रेडिङले लिनेबारे छलफल भइरहेको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।

नेसनल ट्रेडिङ लिमिटेडलाई नयाँ ढंगले सञ्चालन गर्नका लागि अध्ययन गर्न गठित उपसमितिले प्रतिवेदनमा चीनबाट ईन्धन ल्याउन सक्ने कुरालाई प्रमुख प्राथमिकतामा राखेको ती अधिकारीले बताए । भारतबाट ईन्धन ल्याउने काम आयल निगमले गरिरहेको बेला चीनतर्फका ईन्धन आपूर्तिका लागि नेसनल ट्रेडिङलाई जोड दिइएको छ।
नेसनल ट्रेडिङका महानिर्देशक लवराज जोशीले भने, ‘उपसमितिले विकल्पका रुपमा नेसनल ट्रेडिङले पेट्रोलियम तथा ग्यास पनि कारोबार गर्नमिल्ने प्रतिवेदन तयार गरेको छ । अब यो विषयमा मन्त्रालय प्रस्ताव पेश गर्छौं । केहि दिनमै छलफल गरी टुंगो लाग्छ ।’

उक्त प्रस्तावमा बिटुमिनको कारोबार गर्ने, सात प्रदेशमा पाँचतारे होटेल खोल्ने लगायतका कुरा पनि उल्लेख रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.