हर्न बजाउने १७२ जनालाई कारबाही, ५५७ जनाको प्रेसर हर्न नियन्त्रणमा
२०७४ भदौ ११ गते १४:४७ विकासन्युज
चितवन। शहरी क्षेत्रमा हर्न निषेधित क्षेत्र घोषणा भइसकेपछि हर्न बजाउने १७२ जनालाई कारबाही गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्तका अनुसार यही भदौ १ गतेदेखि भरतपुर महानगरपालिकाको चक्रपथ क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । सो क्षेत्र घोषणा गरिएसँगै ट्राफिक प्रहरीले एक हजार १५५ जनालाई सम्झाइ बुझाइ पठाएको छ भने ५५७ जनाको प्रेसर हर्न नियन्त्रणमा लिएको छ ।
सोही क्रममा दुई हजारप्रति प्रचारप्रसारका सामग्री वितरण गरिएको छ । काठमाडाँै र पोखरापछि चितवनको भरतपुर केन्द्रीय बस टर्मिनल, चौबीसकोठी, नारायणगढ बजार हाइवे, आँपटारी र बाइपास सडक खण्डमा संकटकालीन अवस्थामा बाहेक हर्न निषेध गर्नेे निर्णय भएको छ । भित्री सडकमा पनि हर्न निषेधित क्षेत्र घोषणा गरिएको हो ।
चर्को आवाजका कारण स्वास्थ्यमा प्रत्यक्ष असर परेकाले सवारी साधनले हर्न बजाउन नपाउने गरी निर्णय गरिएको हो । निषेधित ठाउँमा हर्न बजाएमा पहिलो पटकलाई पाँच सय रुपैयाँ, दोस्रो पटकलाई एक हजार रुपैयाँ र तेस्रो पटकका लागि एक हजार पाँच रुपैयाँ सय जरिवाना असुल गरिने छ । रासस