२०७४ भदौ २५ गते १८:०० विकासन्युज
काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले ग्रामीण तथा दुर्गम जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्ने सँगसँगै गाउँ गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको जनाएको छ ।
यसै क्रममा बैंकले ३ स्थानमा शाखारहित बैकिङ सेवा शुरु गरेको छ । बैंकले भदौ २३ गते इलामको सन्दकपुर गाउँपालिकास्थित देउराली बजार, २४ गते झापा जिल्लाको बुद्घशान्ति गाउँपालिकास्थित शान्तिनगर गडी गाउँ बजार र इलाम जिल्लाको रोङ्ग गाउँपालिकास्थित कुटी डाडाँ बजार शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
देउराली बजार शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन सन्दकपुर गाउँपालिका उपाध्यक्ष शोभा पराजुलीले, शान्तिनगर गडी गाउँ बजार शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन बुद्घशान्ति गाउँपालिका अध्यक्ष रमेश कुमार भुजेलले र कुटीडाडाँ बजार शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन रोङ्ग गाउँपालिका उपाध्यक्ष चन्द्रकला राई (बुढाथोकि)ले गरेको बैंकले जनाएको छ ।
बैंकले उपरोक्त शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंक प्रतिनिधिको रुपमा देउराली बजारमा शाखारहित बैंकिङ्ग कार्यालयको लागि सोमति सुनचिउरी, शान्तिनगर गडी गाउँ बजारमा शाखारहित बैंकिङ्ग कार्यालयको लागि कमल भट्टराई र कुटीडाडाँ बजारमा शाखारहित बैंकिङ्ग कार्यालयको लागि यादब बराललाई नियुक्त गरेको छ ।
यस सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानिय प्रतिनिधिको मार्फतबाट बैंकिङ सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दा लामो दुरीसम्म हिड्नु पर्ने बाध्यताको अन्त्य हुने विश्वास बैंकले लिएको छ । यस्तो सेवाबाट स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा तथा रकम झिक्ने र पठाउने, मोवाईल रिचार्ज गर्न, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) महशुल भुक्तानी गर्ने, स्वीकृत सिमाभित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ ।
यी ३ वटा शाखारहित बैंकिङ्ग सेवाहरु सहित हाल यस एन आई सी एशिया बैंकले आफ्ना १२० शाखाहरु, ४ एक्टेन्सन काउन्टरहरु र ९० ए टि एम सञ्जालहरु मार्फत देशभर सेवा प्रदान गरिरहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.