२०७४ भदौ २७ गते १२:४५ विकासन्युज
काठमाडौं । जग्गा खरिद प्रकरणमा मुछिएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई कारबाही गर्न आपूर्ति मन्त्रालयका सचिव कृष्ण देवकोटाले सिफारिस गरेका छन् ।
संसदीय समितिले पेट्रोलियम भण्डारणका लागि नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले जग्गा खरिद गर्दा अनियमितता गरेको ठहर गर्दै मन्त्रालयलाई कारबाही गर्न निर्देशन दिएको थियो ।
कारबाहीका लागि मन्त्रिपरिषधमा सिफारिस गर्ने मन्त्रालयले जानकारी दिएको छ ।सम्बन्धित निकायले छानविन गरी खड्कामाथि कार्वाही गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
मन्त्रालयको उच्च नेतृत्व र आयल निगमले बोलपत्र माध्यमबाट जग्गा खरिद गर्दा आर्थिक अपव्यय अपचलन र अनियमितता भएको ठहर गरेको थियो ।
२ लाख रुपैयाँ पर्ने जग्गा १६ लाख रुपैयाँमा किनेको पाइएको प्रतिवेदनमा उल्लेख छ । यस्तै वडादेखि मालपोत हुँदै प्रमुख जिल्ला अधिकारी (सिडिओ) सम्मको मिलोमतोमा भएको पाइएको छ । चलनचल्तीको भन्दा ४ गुणा बढी तिरेको समितिको ठहर छ ।
बोलपत्रले अत्याधिक व्ययभार पारेको र सर्वसाधारणले तिरेको रकम अपव्यय गरेको, निगमले खरिद गरेको झापाको जग्गा रेल्वे लाइन भित्र परेको र खरिद गर्ने माध्यम कानुनसम्मत देखिए आर्थिक अनियमितता गरेको समितिको निष्कर्ष छ । निगमले सात प्रदेशमा पेट्रोलियम भण्डारण स्थापना गर्न जग्गा खरिद गरेको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.